nmb bank

गृहपृष्ठ नबिल बैंकले अब विदेशी पुँजी भित्र्याउँछ : अनिल केशरी शाह

नबिल बैंकले अब विदेशी पुँजी भित्र्याउँछ : अनिल केशरी शाह

नबिल बैंकले अब विदेशी पुँजी भित्र्याउँछ : अनिल केशरी शाह

अनिल केशरी शाह, नेपाली बैंकिङ क्षेत्रमा चिनाइरहनुपर्ने नाम होइन । उनले करिब तीन दशकदेखि नेपालको वित्तीय क्षेत्रलाई नजिकबाट नियालिरहेका छन् । नेपाल ग्रिन्डलेज बैंकबाट बैकिङ क्षेत्रमा प्रवेश गरेका शाह नबिल बैंकलाई ‘ब्रान्डिङ’ गर्ने सिइओको रुपमा पनि चिनिन्छन् ।
मेगा बैंकको संस्थापक सिइओ हुँदै केही समयअगाडि मात्र उनी फेरि नबिल बैंक फर्किएका छन् । ३३ वर्ष लामो यात्रा गरी नबिलमा पुनस् ८ वर्षपछि फर्किएका हुन् उनी । पुरानो घर फर्किँदा उनीसँग ठूलो चुनौती पनि छ । यतिबेला उनी नबिललाई बूढादेखि तन्नेरीसम्मको बैंक बनाउने योजनामा छन् । २१औं शताब्दीमा युग सुहाउँदो बैंक बनाउने योजनामा छन् उनी ।
नबिलमा पहिले उनी सिइओको रुपमा कार्यरत थिए । अहिले राष्ट्र बैंकले लागू गरेको ‘कुलिङ पिरियड’ का कारण उनी निमित्त कार्यकारी अधिकृत (सहायक सिइओ) को रुपमा काम गरिरहेका छन् । पदलाई भन्दा कामलाई प्राथमिकता दिने यिनै बैंकरसँग पत्रकार इशारा कोइरालाले गरेको कुराकानी ः

८ वर्षपछि नबिल बैंक फर्कनुभएको छ, नयाँ योजना त पक्कै होला ?
– ३३ वर्ष पुरानो नबिल बैंकले आफ्नो विशिष्ट पहिचान बनाइसकेको छ । अरु बैंकमा जस्तै नबिलमा पनि कार्यकारी पदमा नयाँ व्यक्ति आउँदा अलिअलि परिर्वतन त भइहाल्छ नै । तर, एउटा बाटो समातिसकेको संस्थाको पहिचानलाई नै निरन्तरता दिनु महत्वपूर्ण कुरा हो । त्यसमा फूलबुट्टा भर्ने काम आफ्नो ठाउँमा छँदैछ ।
नबिल, एउटा यस्तो बैंक हो जसले राष्ट्र बैंकले तोकेको पुँजी र्पुयाउन एक रुपैयाँ पनि लगानी थप्नुपरेको छैन । बैंकले पुँजी बढाउन न एफपिओ जारी गर्नुपर्यो न त मर्जर वा एक्वायरमा जानुर्पयो । यसबाट प्रस्ट हुन्छ, नबिल आफैंमा सक्षम बैंक हो । हाम्रो अबको सोच सेवाग्राहीसँग मिलेर अगाडि बढ्ने भन्ने छ । जसको अर्थ सेवाग्राहीको पनि आर्थिक उन्नति होस् र बैंकले पनि अझै प्रगति गरोस् ।

– ४ वर्षे कार्यकालमा सेवाग्राहीले नबिल बैंकमा कस्तो परिर्वतन देख्न पाउनेछन् ?
एक हिसाबले हेर्दा ४ वर्षे कार्यकाल लामो हो । तर, बैंकको सेवासुविधा जुन हिसाबले विस्तार गर्न सकिने ठाउँ छ, त्यसलाई मनन गर्दा ४ वर्षे कार्यकाल छोटो पनि हुन सक्छ । म आवश्यकता हेरेर सेवाग्राहीलाई सेवा प्रदान गर्ने योजनामा छु । हाम्रो देशमा विदेशी लगानी भएका बैंकहरू पर्याप्त छन् । तिनमा भारतीय, पाकिस्तानी, बंगलादेशी, बेलायती लगानी छ । मैले अहिलेसम्म नेपाली बैंकले विदेशमा गएर कमाएर ल्याएको देखेको छैन ।
यस्तो अवस्थामा यो काम नबिलले नगरे कसले गर्छ ? नबिल बैंकले विदेशमा शाखा खोलेर हुन्छ कि विदेशी बैंक नै किनेर वा साझेदारीमा, जसरी हुन्छ विदेशी पैसा नेपाल भित्र्याउने योजना छ । नबिलले अहिले जुन किसिमले प्रविधिको प्रयोग गरेको छ । यो अवस्थासम्म आइपुग्न अन्य बैंकलाई अझै दुई–तीन वर्ष लाग्ने देखिन्छ । जुन प्रविधिहरू नबिलले प्रयोग गरिरहेको छ, त्यसलाई अझैसम्म हामीले बजारमा प्रचार गरेका छैनौं । आउँदो दिनमा यी प्रविधिको पूर्ण रुपले प्रचार गर्ने मेरो योजना छ । प्रविधिको पूर्ण प्रयोग गरेर युवा पुस्तालाई बैंक खाता खोल्न प्रोत्साहन गर्ने योजना पनि छ ।
नबिललाई पाको बैंकको रुपमा हेरिने गरिन्छ । युग सुहाउँदो परिर्वतन गरेर यो बैंक युवादेखि वृद्ध–वृद्धासम्मको हो भन्ने भावना विकास गर्नुछ । जसको लागि हरेक उमेर समूहलाई सहज हुने तरिकाले सेवासुविधा विस्तार गर्ने योजना छ । हामी नियामक निकायसँग पनि सहकार्य गरेर आगाडि बढ्ने सोचमा छौं । जसको लक्ष्य उत्कृष्ट नियमपालक बैंकको रुपमा नबिललाई सबैले विश्वास गरोस् भन्ने हो । हामी देशव्यापी शाखा सञ्जाल विस्तार गरेर अझै फैलिने सोचमा छौं । गाउँ पुगेर नबिलले बैंकिङ सेवा मात्रै विस्तार र्गयो भन्ने होइन कि यसले हाम्रो दुःखपीडामा पनि साथ दिन्छ भन्ने आभास सबैलाई गराउन चाहन्छौं । यसका लागि नबिल फाउन्डेसन पनि छ, त्यसमार्फत सामाजिक उत्तरदायित्वलाई अगाडि बढाउँदै लैजानेछौं ।

तपाईंले देशभर शाखा सञ्जाल विस्तार गर्ने भनिरहँदा, राष्ट्र बैंकले ग्रामीण भेगमा बैंक जान मानेन भनिरहेको छ । यसलाई कसरी अथ्र्याउनुहुन्छ ?
– राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउने लक्ष्य लिएको छ । यसमा हामीले सहयोग गर्नुपर्दछ र त्यही अनुसार शाखा विस्तार पनि गर्दै आएका छौं । तर, कतिपय स्थानमा पूर्वाधार अभावको कारण सरकार आफैं पुग्न सकेको छैन । यस्तो ठाउँमा बैंक तथा वित्तीय संस्था कसरी पुग्न सक्छ ? सरकारी निकायसँग छलफल गर्दा विकासको पूर्वाधार नभए पनि बैंक तथा वित्तीय संस्था जसरी पनि जानुपर्छ भन्छन् । तर, बैंकलाई कुनै समस्या आयो भने आफू जिम्मेवारी लिन्छु भन्दैनन् ।
भोलि केही भइहाल्यो भने आखिर फस्ने त सर्वसाधारणको पैसा हो । त्यसैले हामी लगानीकर्ताको विश्वास गुमाउन चाहन्नौं । तर, यसो भन्दै हामी पन्छिन पनि खोजिरहेका छैनौं । म बैंकर्स संघको अध्यक्ष हुँदा राष्ट्र बैंकको एक पटकको अनुरोधमा हामीले २४४ वटा शाखा विस्तार गरेका थियौं । सरकारले आवश्यक पूर्वाधारको विकास गर्छ भने हामी जस्तोसुकै दुर्गममा गएर पनि सेवा दिन तयार छौं ।

स्थापनाकालदेखि मेगा बैंकमा हुनुहुन्थ्यो, एक्कासि किन छोड्नुभयो ? मेगामा आफ्नो कामको समीक्षा कसरी गर्नुभएको छ ?
– म सधैं नियामकलाई सम्मान गर्ने व्यक्ति हो । नियामक निकायको व्यवस्था अनुसार एक व्यक्ति दुई कार्यकाल बढी एउटै बैंकको सिइओ बन्न पाउँदैन । यो नियमको पालना गर्दै बाहिरिएको हुँ । ८ वर्षअघि म नबिल जस्तो स्थापित संस्था छाडेर सञ्चालन अनुमतिसमेत नआइसकेको संस्थामा जाँदै थिए । त्यतिबेला धेरैले मलाई यति ठूलो जोखिम किन लिएको भन्थे । तर टिम राम्रो भयो भने जुनै पनि संस्थालाई उचाइमा पुर्याउन सक्छु भन्ने ममा विश्वास थियो ।
मेरो सोच अनुसार टिम पनि राम्रो भयो । लक्ष्य बोकेर अगाडि बढ्दा राम्रै परिणाम पनि आयो । मेगामा हामी ‘हलोदेखि हाइड्रोसम्म’ नाराका साथ सबै नेपालीको बैंक बन्ने उद्देश्यले अगाडि बढ्यौं । स्थापनाकालको समयमा हामीले जुन लक्ष्य लिएका थियौं, ती अधिकांश पूरा भएको छ । त्यस समयमा देशमा राजनीतिक स्थिरता भइदिएको भए मेगा बैंक अझै देशव्यापी रुपमा फैलिन्थ्यो जस्तो लाग्छ ।

राष्ट्र बैंकले ‘कुलिङ पिरियड’ तपाईलाई नै लक्षित गरेर ल्यायो भन्छन् नि ?
– मलाई लाग्दैन, अनिल शाह एउटा त्यस्तो शक्तिशालि व्यक्ति हो, जसको पछि राष्ट्र बैंक लाग्छ । नियामक निकायले वित्तीय क्षेत्रलाई थप पारदर्शी बनाउनको लागि उक्त नियम ल्याएको हो । यो नियम लागू हुनु र म नबिल आउनु संयोग मात्र हो । नियामकले नियम ल्याइसकेपछि पालना गर्नु मेरो कर्तव्य हो । यसैबीच राष्ट्र बैंकसँगै यसबारेमा सल्लाह गर्दा उहाँहरूबाट डेपुटीका रुपमा जान मिल्ने सुझाव आयो । जसले गर्दा डेपुटीका रुपमा नबिलमा आएको हुँ ।

सिइओ भएर लामो समयसम्म काम गर्नुभएको संस्थामा ‘डेपुटी’ का रुपमा प्रतिष्ठा घटाउनुभयो भन्ने सुनिन्छ ?
– मलाई काम गर्न कुनै पद नै चाहिन्छ भन्ने लाग्दैन । जुन पदमा भए पनि आफूले राम्रो गरेर देखाउने हो । नबिलको ‘ब्रान्ड भ्यालु’ मैले बुझेको छु । यसको ‘ब्रान्डिङ’लाई अझ बढी विस्तार गर्न सकेँ भने पद होइन म व्यक्ति माथि पुग्छु । त्यसैले पदलाई होइन कामलाई विश्वास गर्छु । नबिलमा केही राम्रो गर्न सक्छु भन्ने हेतुले नै आएको हुँ । यहाँको टिमप्रति म पूर्ण विश्वस्त छु । म एक्लैले भन्दा पनि संस्थाको लक्ष्य प्राप्तिका लागि पूरै टिम नै सक्षम हुनुपर्छ र त्यो नबिल बैंकमा छ । जुन कुरा मैले यो टिमसँग ६ वर्ष काम गर्दा बुझिसकेको छु ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता अभावले ब्याजदर अस्तव्यस्त भएको छ, यसको समाधान कसरी होला ?
– पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी (तरलता) अभाव भएको छ । यसको समाधानका लागि बैंकरहरूले नियामक निकायसँग आग्रह गरेका थियौं । हामीले मागे जस्तो तरलता सहजताका लागि ठ्याक्कै केही ठोस कदम राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा अवधिमा ल्याएको छैन । तर, यसको समाधानका लागि हामी जस्ता वित्तीय संस्था स्वयं लाग्नुपर्दछ । अहिले बजारको निक्षेप वृद्धिको तुलनामा कर्जाको वृद्धि उच्च छ । यसलाई कमाइखाने बेला नबनाई वित्तीय संस्था सबै मिलेर कर्जा प्रवाहलाई घटाउन आवश्यक रहेको छ । यसमा सबैको एकरुपता भएन भने बैंक तथा वित्तीय संस्थालाई असर पर्दछ ।

बैंकले ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गर्दै आएका छन् भन्ने आरोप लाग्ने गरेको छ, यसलाई कसरी लिनुभएको छ ?
बैंकहरूबीच अस्वस्थ प्रतिस्पर्धा केही हदसम्म छ । बैकहरूको संख्या बढी हुँदा अस्वस्थ प्रतिस्पर्धा बढेको देखिन्छ । यसलाई कम गर्न राष्ट्र बैंकले पुँजी वृद्धिको लागि मर्जर तथा एक्विजिसन योजना ल्यायो । तर, विकास बैंक र फाइनान्स कम्पनीको मात्र संख्या घट्यो । वाणिज्य बैंकहरु ३२ बाट २८ वटामा मात्र झरे । सानो बजारमा २८ वटा बैंक ८ अर्ब पुँजी भएका बैंक बने । यसले त झन् अस्वस्थ प्रतिस्पर्धा निम्त्याएको जस्तो मैले महसुस गरेको छु ।
बैंकको चुक्ता पुँजी ४ गुणाको रफ्तारले बढेको छ भने हाम्रो अर्थतन्त्रको वृद्धि वार्षिक ५ देखि ८ प्रतिशत मात्र छ । यस्तो अवस्थामा लगानीकर्ताले पनि त्यही अनुसार अपेक्षा राख्नुपर्दछ । बैंकले पनि संस्थापक लगानीकर्तालाई अब ४–५ वर्ष कुनै लाभांश दिन सक्दैन र सेयर मूल्यमा केही गिरावट आउन सक्ने कुरा बुझाउन आवश्यक छ । यसका लागि सबै बैंक तथा वित्तीय संस्था एक हुन आवश्यक छ । –नेपाल लाइभबाट

प्रकाशित समय : ११:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु