global ime bank Long Banner Ad

गृहपृष्ठ ११५३ स्थानमा प्रहरी भवनविहीन, पूर्वाधार बनाउन २५ अर्ब लाग्ने अनुमान

११५३ स्थानमा प्रहरी भवनविहीन, पूर्वाधार बनाउन २५ अर्ब लाग्ने अनुमान

११५३ स्थानमा प्रहरी भवनविहीन, पूर्वाधार बनाउन २५ अर्ब लाग्ने अनुमान

काठमाडौं । देशका १ हजार १५३ स्थानमा प्रहरी कार्यालय भवन छैन । प्रहरीको कार्यालय भवन नभएका कारण प्रहरीले अन्यत्रै बसेर काम गर्नुपरेको छ । देशभर दुई हजार पाँच सय सातवटा प्रहरी इकाई छन् । देशभर जीर्ण भएका, भवनै नभएका र जग्गा खरिद गरेर नयाँ भवन तथा ब्यारेक निर्माण गर्नुपर्ने देखिएको छ ।
प्रहरीको यी पूर्वाधार तयार पार्न २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तर, सरकारले भवन निर्माणको लागि वार्षिक ३८ करोडमात्र खर्च गर्दै आएको छ । यही गतिमा प्रहरीको भवन निर्माण गर्ने हो भने वर्षौसम्म भवन निर्माण गर्न लाग्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसवर्ष भने प्रहरीले भवन निर्माण गर्नका लागि ६० करोड रुपैयाँ छुट्याएको छ ।
प्रदेश नम्बर १ मा २३९ स्थानमा प्रहरी कार्यालय छैन भने ५८ स्थानमा प्रहरी कार्यालय स्थापना गर्नका लागि जग्गा नै नभएको प्रहरी मुख्यालयले जानकारी दिएको छ । प्रदेश नम्बर २ मा १२२ स्थानमा प्रहरी कार्यालय भवन छैन । सो स्थानमा ७९ स्थानमा प्रहरी कार्यालय तथा ब्यारेकजस्ता पूर्वाधार तयार गर्न जग्गा नै नभएको बताइएको छ ।
प्रदेश नम्बर ३ र ४ मा १३३/१३३ स्थानमा कार्यालय भवन छैन भने प्रदेश नम्बर ५ मा १५६ स्थानमा प्रहरी कार्यालय भवन नभएको जानकारी दिइएको छ । यसैगरी प्रदेश नम्बर ६ को १३० र प्रदेश नम्बर ७ को ९६ स्थानमा प्रहरी कार्यालय भवन नभएको बताइएको छ । प्रदेश नम्बर ३ मा ८२, प्रदेश नम्बर ४ मा ७१, प्रदेश नम्बर ५ मा ९२, प्रदेश नम्बर ६ मा ६५ स्थानमा र प्रदेश ७ मा ३६ स्थानमा कार्यालय भवन बनाउने जग्गासमेत नभएको मुख्यालयले बताएको छ ।
महानगरीय प्रहरीको १२९ स्थानमा जग्गा छैन भने एक सय स्थानमा कार्यालय भवन अझै बन्न सकेको छैन । प्रदेश १ को २३४ स्थानमा ब्यारेक छैन भने प्रदेश २ मा १३५, प्रदेश ३ को १०४, प्रदेश ४ मा १३७, प्रदेश ५ मा १६७, प्रदेश ६ मा १३३ र प्रदेश ७ को १०१ स्थानमा प्रहरीको ब्यारेक नभएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरीको भवन तथा व्यारेक नहुँदा ड्युटीबाट आएका प्रहरीले आरामसमेत गर्न नपाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका लागि पूर्वाधार तयार पार्न आवश्यक ठाने पनि स्रोत अभावका कारण पूर्वाधार तयार पार्न नसकिएको गृह मन्त्रालयले जानकारी दिएको छ । सशस्त्र द्वन्द्वका बेला क्षतिग्रस्त भएका ७३८ भवनमध्ये अझै ४०१ भवन बन्न बाँकी छन् । भूकम्पले १९६ भवन क्षति भए पनि हालसम्मा जम्मा १०३ वटा भवनमात्रै निर्माण भएका छन् ।

प्रकाशित समय : १७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु