global ime bank Long Banner Ad

गृहपृष्ठ सरकारको नीति तथा कार्यक्रम आउँदैः चुनावी घोषणापत्र मुख्य आधार

सरकारको नीति तथा कार्यक्रम आउँदैः चुनावी घोषणापत्र मुख्य आधार

सरकारको नीति तथा कार्यक्रम आउँदैः चुनावी घोषणापत्र मुख्य आधार

काठमाडौं- पहिलो पटक एकल बहुमत प्राप्त कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । सरकाले निर्वाचनको समयमा गठबन्धनको तर्फबाट आएको चुनावी घोषणापत्र र गत बैशाद १ गते प्रधानमन्त्रीले राराबाट गरेको सम्बोधनको आधारमा आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज ४ बजे संघीय संसदको संयुक्त वैठकमा आगामी वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् । सरकारले आगामी वर्षभरी कुन समयमा कुन कार्यक्रम कसरी सञ्चालन गर्ने तालिकासहित नीति तथा कार्यक्रम ल्याउँदैछ । विशेष गरी सरकारको ‘सम्बृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सार्थक बनाउने गरी नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
नीति तथा कार्यक्रममा सामाजिक सुरक्षाका योजनाहरुलाई जोड दिइएको छ । वृद्ध, अशक्त, बालवालिका, गरिवीको रेखामुनी रहेका र सिमान्तकृत समुदायलाई लक्षित गरेर नयाँ कार्यक्रम समावेश गरिएको छ । त्यस्तै उर्जाको विकास, रेलमार्ग र जलमार्ग सहितको ‘कनेक्टिीभिटी’का आयोजनाहरुका विस्तृत कार्यक्रम समेटिएका छन् ।
सामाजिक न्याय सहितको विकास गर्ने योजनाहरु नीति कार्यक्रममा समावेश गरिएका छन् । प्राबिधिक शिक्षालाई ७० प्रतिशतमा पु¥याउने र साधारण शिक्षालाई ३० प्रतिशतमा झार्ने लक्ष्य नीति तथा कार्यक्रमले समेटेको छ । तीब्र गतिको विकासलाई सरकारको नीति तथा कार्यक्रमले विशेष महत्व दिएको छ ।
आर्थिक अभावका कारण कुनै पनि बालवालिकाले पढाइ छाड्नु पर्ने अवस्थाको अन्त्य गर्न नीति तथा कार्यक्रमले विशेष प्याकेज अघि सार्ने भएको छ । नीति तथा कार्यक्रममा विदेशी लगानीसँग हातेमालो गर्ने, लगानी मैत्री वातावरण बनाउने, अनावश्यक प्रशासनिक झन्झट हटाउने सरकारको लक्ष्य रहेको सरकारको प्रवक्त एवं सूचना तथा सन्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
‘नेपाल बन्छ र विकास गरेर धनी भइन्छ भन्ने विश्वास जनतामा जगाउने प्रधानमन्त्रीको घोषणा हो, नीति तथा कार्यक्रम जनतालाई त्यो विश्वास जगाउने गरी आउँदैछ,’ राज्यमन्त्री बास्कोटाले भने, ‘जुनसुकै चुनौतीको पनि पहाड नाघ्न सकिन्छ र नेपाल बन्छ भन्ने आत्मविश्वस जगाउने कुरामा नीति कार्यक्रम केन्द्रित हुनेछ । कम्युनिस्ट सरकारले जनताको अपेक्षालाई विफल हुन दिदैन ।’
सरकारको नीति तथा कार्यक्रमले आगामी ५ वर्ष कम्युनिस्ट पार्टीले कसरी सत्ता सन्चालन गर्नेछ भन्ने संकेत दिनेछ । कम्युनिस्ट पार्टीको घोषणापत्रमा आगामी ५० वर्षमा नेपाललाई कहाँ पुर्याउने भन्ने लक्ष्य राखिएको छ । नीति तथा कार्यक्रमले पनि घोषणापत्रको उद्देश्यलाई समेटेको छ ।
घोषणा पत्रमा यस्ता विषय समेटिएका थिएः
२ वर्षभित्र राष्ट्रव्यापी नापी लागू गरी भूमिको अभिलेख अद्यावधिक गरिनेछ । वैज्ञानिक भूमिसुधार लागू गरी भूमिसँग सम्बन्धित सम्पूर्ण समस्या समाधान गरिनेछ ।
२ वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्न, माछा, मासु, अन्डा र दूधमा आत्मनिर्भर बनाइनेछ । ५ वर्षभित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा पुर्याइनेछ ।
आगामी १० वर्षमा नेपाललाई रसायन र विषादीमुक्त (अर्गानिक) मुलुक घोषणा गरिनेछ ।
आगामी ५ वर्षमा सबै उत्पादन क्षेत्र, औद्योगिक क्षेत्र र सडकमा चौबीसै घन्टा पर्याप्त विद्युत् उपलब्ध गराइनेछ। आगामी २ वर्षमा काठमाडौं उपत्यकाभित्र विद्युतीय सवारी साधन मात्र उपयोग गर्ने कार्ययोजना लागू गरिनेछ ।
आगामी १० वर्षमा जल, जैविक, सौर्य, वायु, फोहर प्रशोधन र अन्य वैकल्पिक माध्यमबाट १५ हजार मेगावाट विद्युत् उत्पादन गरिनेछ ।
यसै वर्ष पूर्व–पश्चिम राजमार्गको समानान्तर र रसुवागढी–काठमाडौं–वीरगन्जसम्म ७ सय ६५ केभी विद्युत् प्रसारण लाइनहरू निर्माण सुरु गरिनेछ ।
काठमाडौं–तराई द्रूतमार्ग ४ वर्षभित्र निर्माण गरिनेछ । पूर्व–पश्चिम राजमार्गलाई ५ वर्षभित्र ६ लेनमा स्तरोन्नति गरिनेछ । आगामी ५ वर्षमा हुलाकी राजमार्गलाई ४ लेनमा स्तरोन्नति गरिनेछ ।
मध्यपहाडी पुष्पलाल राजमार्गलाई ४ लेनमा स्तरोन्नति गरी ५ वर्षमा सम्पन्न गरिनेछ ।
आगामी ५ वर्षमा पूर्व–पश्चिम राजमार्गको समानान्तर तीव्र गतिका विद्युतीय रेल सञ्चालन गरिनेछ । यसै अवधिमा रसुवागढी–काठमाडौं–पोखरा, लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गरिनेछ । आगामी ५ वर्षमा राजधानी उपत्यकाका चक्रपथहरूमा आवश्यक गतिको रेल सञ्चालन गरिनेछ ।
आगामी ५ वर्षभित्र निजगढमा अत्याधुनिक अन्तराष्ट्रिय विमानस्थल निर्माण गरिनेछ । २ वर्षभित्र भैरहवा र ३ वर्षभित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गरिनेछ ।
भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गरिनेछ ।
आगामी ३ वर्षभित्र अत्याधुनिक प्रविधिको प्रयोग गरी धरहराको पुनर्निर्माण गरिनेछ ।
आगामी ५ वर्षभित्रमा मुलुकका विभिन्न भागमा फेला परेका खनिज र पेट्रोलियम पदार्थको अन्वेषण, उत्खनन, प्रशोधन र प्रयोग गरिनेछ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निजामती कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मी, शिक्षक र विद्यार्थीले प्रयोग गर्ने लत्ताकपडा स्वदेशमै उत्पादन गरिनेछ ।
आफ्नै अनुभवहरूको समीक्षा गर्दै र संसारभरिका नमूना शिक्षा प्रणालीहरूको अध्ययन गर्दै राष्ट्रिय अर्थतन्त्र निर्माण र राज्य सञ्चालन गर्न आवश्यक पर्ने दक्षजनशक्ति निर्माणका लागि आगामी २ वर्षभित्र परिमार्जित शिक्षा नीति लागू गरिनेछ ।
संविधान प्रदत्त शिक्षाको मौलिक हक कार्यान्वयन गर्न कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गरिनेछ ।
२ वर्षभित्र विद्यालय जाने उमेरका सबै बालबालिकाको विद्यालयमा भर्ना सुनिश्चित गरिनेछ । आगामी ५ वर्षमा सबै नागरिकलाई साक्षर तुल्याइनेछ ।
सरकार बनेको १ वर्षभित्र भूकम्पपीडित, बाढीपीडित र पहिरोपीडित, घरबारविहीन सबै परिवारलाई घरनिर्माणमा सहयोग उपलब्ध गराइनेछ ।
द्वन्द्वबाट क्षतिग्रस्त भौतिक संरचनाहरू ३ वर्षभित्र पुनर्निर्माण गरिनेछ । १ वर्षभित्रै तुइनहरूलाई झोलुंगे पुलद्वारा विस्थापन गरिनेछ ।
बाग्मती, विष्णुमती, मनोहरा र हनुमन्ते नदी र खोलाहरू सफा गरिनेछन् । बाग्मती नदीको मुहानदेखि चोभारसम्म ५० मिटर चौडाइको नदी प्रवाह क्षेत्र कायम गरिनेछ । राजधानीलाई फोहोर, धुलो, हिलो र प्रदूषणमुक्त बनाइनेछ । राजधानीका नदी र तालमा ढल र फोहोर पानी मिसाउन प्रतिबन्ध लगाइनेछ । पशु छाडा छोड्न पाइनेछैन । राजधानी वरिपरि हरियालीको विकास गरिनेछ । वन क्षेत्रको अतिक्रमणलाई कडाइका साथ नियन्त्रण गरिनेछ ।
पैदलयात्रु र साइकलयात्रुका लागि अलग लेन निर्माण गरिनेछ । वैदेशिक रोजगारीमा गएकाहरूको अभिलेख राखी त्यसलाई सुरक्षित, मर्यादित र व्यवस्थित गरिनेछ । वैदेशिक रोजगारीमा भइरहेका विकृतिलाई कडाइकासाथ नियन्त्रण गरिनेछ ।
सबै स्थानीय तहका केन्द्र र तराई–मधेस तथा पहाडी जिल्लाका स्थानीय तहको वडा केन्द्रसम्म दुई वर्षभित्र ब्रोडब्यान्ड इन्टरनेट सुविधा पुर्याइनेछ ।
सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार रूपैयाँ पुर्याइनेछ । ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सबै किसिमका यातायात भाडामा २५ प्रतिशत र ७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिनेछ ।
आगामी एक वर्षभित्र सम्पूर्ण नागरिकलाई विद्युतीय राष्ट्रिय परिचयपत्र र गरिबीको रेखामुनि रहेका नागरिकलाई थप विशेष परिचयपत्र उपलब्ध गराइनेछ ।
ड्ड २०७१/७२/७३/७४ मा विनाशकारी बाढी पहिरोमा परी घरबार गुमाएका र जनधनको क्षति भएका तराई–मधेस तथा पहाडी जिल्लामा तीव्र रूपमा पुनर्निर्माण अगाडि बढाइनेछ । घर क्षति भएका प्रत्येक परिवारलाई घर निर्माणका लागि तत्काल ३ लाख अनुदान र ३ लाख दीर्घकालीन निव्र्याजी ऋणको व्यवस्था गरिनेछ । घडेरीसमेत गुमाएका परिवारका लागि घर बनाउन घडेरीको व्यवस्था गरिनेछ ।
तराई–मधेसमा व्याप्त गरिबी, अभाव र अविकासको समस्यालाई सम्बोधन गर्न विशेष कार्यक्रम लागू गरी गरिबी र पछौटे अवस्था समाप्त गरिनेछ ।

प्रकाशित समय : १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु