global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ संसद्मा उठ्यो कैलाली घटनाका दोषीमाथि कारबाहीको माग

संसद्मा उठ्यो कैलाली घटनाका दोषीमाथि कारबाहीको माग

संसद्मा उठ्यो कैलाली घटनाका दोषीमाथि कारबाहीको माग


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले कैलाली घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन राधा चौधरीमाथि बोक्सीको आरोपमा भएको निर्मम यातनामा संलग्नलाई कडा कारबाही हुनुपर्नेमा संसद्मा आइतबार विशेष महत्व पाएको हो ।
एक्काइसौँ शताब्दीमा पनि महिलामाथि बोक्सीको आरोपमा कुटपिट र दुव्र्यवहार भएको भन्दै प्रतिनिधिसभाको बैठकमा धारणा राख्ने विभिन्न दलका नेताले आरोपीमाथि कारबाही गर्न माग गरेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीमा बोक्सीको आरोपमा भएको ज्यादतिमा संलग्नलाई सरकारले सिधै कारबाही गर्नुपर्ने बताए ।
उनले भने, ‘सरकारले हात नकमाओस् । दोषीमाथि सिधै कारबाही होस् । जनताले भाषण होइन, दोषीमाथि कडा कारबाही होस् भन्ने चाहेका छन् ।’ अध्यक्ष दाहालले बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कुनै पनि हालतमा नछाड्न र दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन आग्रह गरे । बोक्सीको आरोपमा चौधरीमाथि आक्रमण भइरहँदा स्थानीयवासी रमिते बनेर बसेका थिए ।
स्थानीय तहका जनप्रतिनिधिले आरोपीलाई धरौटीमा छुटाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । पीडित राधाको हाल सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बोक्सी भन्दै आक्रमण गर्ने रामबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको छ । दोषीलाई कारबाही गर्नुको साटो प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहवरमा छाडेको भन्दै आक्रोश बढ्दै गएको छ । आरोपी छाड्ने इलाका प्रहरी कार्यालय सुखडका निमित्त प्रहरी नायब निरीक्षक दिनेश विष्टलाई सरकारले निलम्वन गरिसकेको छ ।
घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले दोषी जोगाउन भूमिका खेलेको आरोप लागेको छ । संसद्मा नेपाली काँग्रेसका सांसद पुष्पा भुसालले पनि चौधरीमाथि भएको दुव्र्यवहारमा संलग्नलाई कारबाही गर्न माग गरिन् । उनले केहीदिन पहिले वीरगञ्जमा नाबालिकामाथि बलात्कार भएको, कैलालीमा बोक्सीको आरोपमा दुव्र्यवहार भएको भन्दै प्रतिबद्धता जनाएर होइन दोषीलाई कारबाही गरेर जनतालाई विश्वास दिलाउन सरकारसँग आग्रह गरिन् ।
राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले बोक्सी प्रकरणमा संलग्नलाई कडा कारबाही गर्न सरकारसँग माग गरिन् । काँग्रेसका सांसद अतहर कमाल मुसलमानले पनि कैलाली र पर्सामा भएको घटनामा संलग्नलाई कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुने र तत्काल दोषीलाई कारबाही गर्न माग गरे । संसद्मा लगातार बोक्सी प्रकरणका दोषीमाथि कारबाहीको माग उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्रीले भने, ‘दोषीमाथि कारबाही हुन्छ । सरकारले दोषीलाई कानूनी कारबाहीमा ल्याउने प्रक्रिया शुरु गरिसकेको छ ।’ प्रधानमन्त्रीले महिला हिंसामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने र कुनै छुट नदिइने प्रतिबद्धता जनाए ।

प्रकाशित समय : १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु