global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ रानीपोखरी पुनर्निर्माणमा प्रयोग भएको कंक्रिट हटाइयो

रानीपोखरी पुनर्निर्माणमा प्रयोग भएको कंक्रिट हटाइयो

रानीपोखरी पुनर्निर्माणमा प्रयोग भएको कंक्रिट हटाइयो

रानीपोखरी पुनःनिर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री (कंक्रिट) हटाइएको छ । अबको केही दिनमै पुनःनिर्माणको काम शुरु हुने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

१८ महिनादेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको भन्दै चौतर्फी विरोध भएपछि विगतमा निर्माणको क्रममा प्रयोग भएको आधुनिक निर्माणको सामग्री हटाइएको हो । भूकम्पअघि जस्तो अवस्थामा रानीपोखरी रहेको थियो सोहीअनुरुप पुनर्निर्माणको काम सम्पन्न गरिने महानगरपालिकाका इञ्जिनियर राम थापाले जानकारी दिए ।

‘आगामी आर्थिक वर्षको शुरुवातमा नै काम शुरु गरेर यसै आ.व.मै सक्नेगरी महानगरले काम अघि बढाउने छ’ थापाले भने, ‘सबैसँग सल्लाह भइसकेको हुनाले यसअघिजस्तो काम रोक्ने र विरोध हँुदैन तोकिएकै समयमा काम सम्पन्न हुन्छ ।’

पुरातत्व विभागबाट सहमति आएसँगै पुनःनिर्माणको काम शुरु हुने पनि महानगरले जानकारी दिएको छ । त्यसका लागि साउनको पहिलो सातासम्म कुर्नुपर्छ । यसअघि महानगरले जेठ १५ गतेदेखि पुनर्निर्माण शुरु गर्ने जानकारी गराएपनि हालसम्म पुनःनिर्माण हुन सकेको छैन । २०७२ सालको भूकम्पको कारण रानीपोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुगेको थियो ।

पुनर्निर्माणलाई प्रभावकारी र सहज बनाउनका लागि गत पुस १३ गते विज्ञ समूह गठन गरिएको थियो । उक्त विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरुप निर्माण गर्न सुझाव दिएका थिए ।

प्रताप मल्लले आफ्ना छोरा चक्रवतीन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । यो पोखरीको निर्माण कार्य करीब पाँच वर्षभित्र सम्पन्न भएको थियो । नेपाल संवत ७९० (विसं १७२७÷इसं १६७०) मा शिलापत्र राखिएको थियो । यसलाई नेपाल संवत् ८११ (इसं १६११) मा न्हुरपुखुर (न्हुपुखु) भनिएको छ जसको अर्थ नयाँ पोखरी भन्ने हुन्छ ।

बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकुटशैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्दछ । उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको रेखाचित्र (स्केच)बाट पनि प्रष्ट हुन्छ ।

(रासस)

प्रकाशित समय : १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु