पहिरोका कारण रोल्पामा तीन जनाको मृत्यु
वि.सं.२०७५ असार १९ मंगलवार १९:०७
shares

अविरल वर्षाको कारण दक्षिण रोल्पाको रुन्टीगढी–५ सैवाङमा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा सुत्केरी महिलासहित तीन जनाको मृत्यु भएको छ । रुन्टीगढी गाउँपालिका–५, सैबाङका राजकुमार विकको घर पहिरोले पुरिँदा घरभित्र आगो ताप्दै गरेकी २२ वर्षीया सुत्केरी कमला विकको मृत्यु भएको हो ।
सुत्केरी कमलासँगै १८ दिनको शिशु आयुषलाल तथा छिमेकी १५ वर्षीया किशोरी चित्रा विकको समेत पहिरोका कारण मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए । शिशु आयुषाल र चित्राको घटनास्थलमै मृत्यु भएको तथा सुत्केरी कमलाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरी लैजाँदै गर्दा मृत्यु भएको पन्थीले जानकारी दिए ।
लामो समय भत्किएको घरभित्रै रहेकी कमलालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि स्वास्थ्य केन्द्र लैजाँदै गर्दा मृत्यु भएको हो । अघिल्लो दिनदेखि निरन्तर भइरहेको अविरल वर्षाका कारण घर भत्कनुअघि कसैले पनि जानकारी पाएनन् । ‘एक्कासि घर भत्किएपछि दुर्घटना हुन पुगेको हो ।’ प्रहरी निरीक्षक पन्थीले भने । पहिरोका कारण राजकुमारको छिमेकीको घर पनि जोखिममा परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी रोल्पा नगरपालिका–१० धवाङ सुनवाङमा रहेको एक विद्यालयको भवन पहिरोले पुरिँदा पठनपाठन प्रभावित भएको छ । गुरुदय आधारभूत विद्यालयका दुईवटा भवनमा पहिरोले असर पु¥याउँदा पठनपाठन प्रभावित भएको हो । विद्यालयका दुवै भवन क्षतिग्रस्त हुँदा पठनपाठनका लागि अन्य विकल्पसमेत नभएकाले विद्यालय बन्द गर्न बाध्य भएको विद्यालयले जनाएको छ ।
तुरुन्त उक्त भवन मर्मत नगरे वा मौसममा सुधार नआए विद्यालय अनिश्चितकालका लागि बन्द हुनसक्ने बताइएको छ । कक्षा १ देखि ३ सम्म पढाइ हुने उक्त विद्यालय भवनमा सोमबार बिहान पौने ११ बजे पहिरो खस्दा क्षति पुगेको स्थानीय शेरबहादुर थापाले जानकारी दिए ।
अविरल वर्षाकै कारण रोल्पा नगरपालिका–४ धाँसीखोला नजिक निर्माणाधीन सडकमा लगाइएको जालीसहित पहिरो खस्दा एक घरमा क्षति पुगेको छ । पहिरोका कारण रोल्पा नगरपालिका–४ का यज्ञविक्रम मल्लको घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए ।
(रासस)






















