नेकपा सचिवालय बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा
वि.सं.२०७५ असार २० बुधवार १५:४५
shares

तल्ला कमिटी तथा जनसंगठनको एकीकरणमा देखिएको अलमलबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठकमा पार्टीको प्रदेश, जिल्ला कमिटी र भ्रातृ संस्थाहरूको एकीकरणलाई तीव्रता दिनेबारे छलफल हुने नेताहरुले बताएकाछन् ।
ती संगठन एकताको लागि कार्यदल गठन तथा समसामयिक राजनीति विषयवस्तुमा छलफल हुने नेता कृष्णगोपाल श्रेष्ठले बताए । यसअघि हिजो दुई अध्यक्षबीच छलफल गरेर बैठकका लागि एजेन्डा तय गरिएको हो । बुधबारको सचिवालय बैठकमा पार्टीको विधान तथा नियमावली टुंगो लगाउने विषयमा पनि छलफल हुनेछ ।
असार २ गते बसेको नेकपाको स्थायी समिति बैठकले तीन महिनाभित्र पार्टीका तल्ला कमिटी तथा जनवर्गीय संगठनहरूको एकीकरण सक्ने योजना बनाएपनि दुवै अध्यक्ष यसबीच देश बाहिर रहेकाले आन्तरिक काम प्रभावित बनेको थियो । नेकपाले विधान तथा नियमावलीको अन्तिम टुंगो लगाउन पनि बाँकी छ । विधान तथा नियमावली टुंगो नलाग्दा आन्तरिक एकताको काम प्रभावित हुँदै आएको छ । केन्द्रमा जेठ ३ गते पार्टी एकता भएपनि नेकपामा तल्ला कमिटि एकताचमा अन्यौल रहँदै आएको छ ।
























