पूर्वमा दिउँसो मुसलधारे पानी पर्ने, आजैदेखि झरी कम हुने
वि.सं.२०७५ असार २० बुधवार १४:५२
shares

आइतबारदेखिको अविरल वर्षा आज रातिदेखि कम हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो मध्यसहित पूर्व क्षेत्रका केही स्थानमा भारी वर्षा भएपनि अन्य क्षेत्रमा कम हुँदै जाने मौसमविद् सुवास रिमालले बताए ।
आगामी बिहीबारदेखि लगातार जस्तो झरी नहुने उनले बताए । ‘आइतबारदेखि मंगलबारसम्म भएजस्तो झरी तत्काल हुने देखिँदैन ।’ उनले भने । अरब सागरदेखि जलवाष्प आएपनि न्यून चापिय रेखा तराई भन्दा अझ दक्षिण सरेकाले वर्षा कम हुँदै जाने उनको भनाइ छ ।
मंगलबार पश्चिमी क्षेत्रमा देखिएपनि बुधबार रातीदेखि दैशैभर सुधार हुँदै जाने उनले बताए ।
मंगलबार साँझ ६ बजेसम्म सबैभन्दा धेरै वर्षा सिमरा र पोखरामा ७६÷७६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले जनाएको छ । यस्तै भैरहवामा ६५मिमि, नेपालगञ्ज ५८ मिमि, दाङ ५६ मिमि, धनगढी ५२मिमि, विराटनगर ५१मिमि वर्षा भएको थियो ।
काठमाडौंमा ३३ मिमि, ताप्लेजुङ २७मिमि , धनकुटा २४मिमि, ओखलढुङ २२ मिमि, सुर्खेत २१ मिमि, दिपायल २० मिमि र डढेलधुरामा १४ मिमि वर्षा भएको महाशाखाले जनाएको छ ।






















