गच्छदारले भने – संविधान उल्लंघन भयो
वि.सं.२०७५ साउन १५ मंगलवार २०:४१
shares

नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधानको रक्षा गर्न कांग्रेसले विरोध कार्यक्रमको आयोजना गरेको बताएका छन् । विराटनगरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले सरकारले एकलौटी ढंगले न्याय, प्रशासनिक अंगमा हस्तक्षेप गरेको आरोप लगाए ।
उनले संवैधानिक व्यवस्थाअनुसार संसदमा सभामुख र उपसभामुख अलगअलग दल र बेग्लाबेग्लै लिंगको हुनुपर्ने व्यवस्थामा भएकामा अहिले एउटै पार्टीको भएकाले संविधानको उल्लंघन भएको दावी गरे ।
एक प्रश्नको जवाफमा गच्छदारले वर्तमान कामु प्रधानन्यायाधीश ३० वर्ष न्याय क्षेत्रमा काम गर्दा उनको शैक्षिक प्रमाणपत्र छानबिन नहुनु अहिले प्रमाणपत्रको छानबिन गरिनु गलत भएको बताउँदै कसैबाट पनि स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गर्नु नहुने बताए ।
एक फरक प्रसँगमा नेता गच्छदारले आगामी महासमिति बैठक अगाडि मधेशी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) र कांग्रेसबीच केन्द्रदेखि वडासम्म नेता र कार्यकर्ताको समायोजन हुने बताए । यस सम्बन्धमा सभापति शेरबहादुर देउवा र आफूबीच सहमति कायम भएको उनले जानकारी दिए ।
यसैबीच, संसदीय सुनवाइ विशेष समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई सिफारिस गर्न बसेकोे विशेष समितिको बैठक सहमतिको आधारमा नै सारिएको जानकारी दिए । कार्कीले बैठकमा ठोस निर्णय लिन सबै सदस्यको सहमतिका आधारमा बैठकको मिति सारिएको स्पष्ट पारे । सदस्य कार्कीले आगामी बैठकमा हुने छलफलबाट नै सार्थक निष्कर्ष लिने विश्वास व्यक्त गरे ।

























