गृहपृष्ठ सीप सिके विदेसिनु पर्दैन
सीप सिके विदेसिनु पर्दैन
आफूमा सीप भए विदेशिनु पर्दैन भन्ने गतिलो उदाहरण चितवनका एक युवाले देखाएका छन् ।
दुई वर्षको कतार बसाईपछि आठ वर्ष अघि नेपाल फर्केका पश्चिम चितवनस्थित पार्वतीपुरका ३० वर्षीय रामप्रसाद सिग्देल सीप सिकेर आफू मात्र स्वरोजगार भएका छैनन् आठ जनालाई रोजगारी पनि दिएका छन् ।
विदेशमा पसिना बगाउनुभन्दा सीप सिकेर नेपालमै केही गरौं भन्ने उद्देश्यका साथ स्वदेश फर्किएको बताउने सिग्देलले कपाल काट्ने तालिम लिए । उनी साधारण तालिम चितवनमै र डिप्लोमा स्तरको तालीम काठमाडौंमा लिएके बताउँछन् । तालिम लिएपछि उनले चितवन फर्किएर व्यवसाय शुरु गरे । भरतपुरको चौबिसकोठीमा कोठा भाडामा लिएर ‘पपुलर युनिसेक्स सैलुन’ खोलेर उनले ‘व्यवसायिक करियर’ अघि बढाए ।
नेपाल फर्कनुअघि प्रेममा परेका सिग्देलले प्रेमिकालार्इसमेत व्यटिपार्लर सम्बनधी तालिम लिन लगाए । त्यसपछि पसल खोले र विवाह गरे । चितवनका यी उर्जाशील युवा अफु पुरूषकाे कपाल काट्छन्, श्रीमति सुस्मिता चालिसे महिलाका लागि पार्लर चलाउँछिन् ।
झण्डै तीन लाख लगानी गरेकाे सैलुनले एकै महिनामा एक लाखसम्म बचाउन थाल्यो । पाँच वर्षपछि अहिले उनले नजिकै ठूलो कोठा लिएर उच्चस्तरको सजावटसहितको वातावरण अनुकूलित सैलुन शुरु गरेका छन् । सिग्देलले खुशी हुँदै भन्छन्, ‘सजावटमा मात्र २० लाख खर्च गरेको छु ।’ उनकाे शैलुनमा महिला पुरुष दुवैको कपाल काट्ने, फेसियल गर्ने, स्टेट पार्ने, मिनी कियर, पेडी कियर, आयल मसाज, डेढलक, हेयर कलर, दाह्री फाल्ने, बेहुला बेहुलीको मेकपजस्ता काम हुन्छन् ।
एउटै कामबाट रु ३५ हजारसम्म बुझ्ने गरेको बताउने उनी १०० को दाह्री काट्नेदेखि रु ३५ हजारको डेढलक गर्नेसम्मका काम गरेको अनुभव सुनाउँछन् । सिग्देलले अहिले डिप्लोमा स्तरको तीन महिने र छ महिने तालीम पनि शुरु गरेका छन् । तीन महिने तालीमलाई २० हजार र छ महिने तालीमलाई ३० हजार लिने गरेको उहाँको भनाइ छ ।
व्यवसाय शुरु गरेसँगै आफन्तलाई सीप सिकाउने र काम लगाउने गर्न थालेको सिग्देलले बताए । ‘आठ जनाले रोजगारी पाएका छन्’, उनी गर्विलाे अावाजमा सुनाउछन्, ‘उनीहरू भाइबहिनी साली, भान्जीलगायतका रहेका छन् ।’
(रासस)
प्रकाशित समय : १८:५६ बजे



















