गृहपृष्ठ भवानी राणाको फर्चुनाले चीनबाट पौने ५ अर्ब लगानी भित्र्याउँदै
भवानी राणाको फर्चुनाले चीनबाट पौने ५ अर्ब लगानी भित्र्याउँदै
नेपालस्थित फर्चुना इन्भेष्टमेन्ट प्रालि र चीनको ग्विझाउ मेरिटाइन्म्स सिल्करोड इन्टरनेसनल इन्भेष्टमेन्ट कर्पोरेसनबीच लगानी समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणदलमा रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले चीनको इन्भेष्टमेन्ट कम्पनी ग्विझाउमार्फत नेपालमा लगानी भित्र्याउन चीनको बेइजिङस्थित नेपाली दूतावासमा समझदारी गरेकी हुन् ।
समझदारीअनुसार राणाको कम्पनी फर्चुनाले चीनको ग्विझाउबाट ४६ मिलियन डलर अर्थात करिब पौने ५ अर्ब रुपैयाँ नेपालमा वैदेशिक लगानी भित्र्याउनेछ । सम्झौतामा फर्चुनाका अध्यक्ष राणा र चिनियाँ कम्पनी ग्विझाउका प्रमुख कार्यकारी अधिकृत (सीईओ) झाङ झाउले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सो रकम नेपालको कृषि, पर्यटन, पूर्वाधार र वैदेशिक व्यापारमा लगानी गरिने फर्चुना इन्भेष्टमेन्ट प्रालिका निर्देशक प्रवलजंग पाण्डेले जानकारी दिए ।
विशेषगरी उच्च पहाडी भू-भागमा कृषिजन्य वस्तुको उपलब्धता, आधुनिकीकरण एवं यान्त्रीकरण गरी कृषिजन्य वस्तुको उत्पादन र प्रोसेसिङमार्फत गुणस्तरीय कृषिजन्य वस्तु चीन निर्यातमा सो लगानी भित्र्याइन लागिएको बताइएको छ । यसैगरी, पूर्वाधारअन्तर्गत ट्रान्समिसनलाइन विस्तार, सोलार पावर, स्मार्ट सिटी र हाइवे क्षेत्रको विकास र विस्तारजस्ता क्षेत्रमा लगानी गरिनेछ । सम्झौताअनुरुप पर्यटन क्षेत्रको विकास र विस्तारसँगै होटल तथा रिसोर्ट सञ्चालनका लागि पनि सो लगानी प्रयोगमा ल्याइने निर्देशक पाण्डेले जानकारी दिएका छन् ।
प्रकाशित समय : २१:०४ बजे



















