गृहपृष्ठ ३३ किलो सुनको छानबिन प्रधानमन्त्री ओलीको हातमा
३३ किलो सुनको छानबिन प्रधानमन्त्री ओलीको हातमा
३३ किलो सुन तस्करीको छानबिनका लागि गठित समितिले हालसम्म गरिएको कार्यप्रगतिको प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ । समितिले ७५२ पृष्ठको सो प्रतिवेदनमा घटना विवरण, तथ्य र सम्भावना र सुझाव सहितका विषय समेटेर चार महिनासम्म गरेको अनुसन्धानलाई समेटेको छ ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन बुझाएसँगै समितिको समयावधी पनि सकिएको छ । यससँगै जारी छानबिन कार्यबीचमै अलपत्र पर्ने देखिएको छ ।
गत असार दोस्रो हप्ता समिति संयोजक पौडेललाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले ‘मान्छे मात्रै समाउने ३३ केजी सुन खै’ भन्दै समितिको आलोचना गरेका थिए । त्यस बेला प्रधानमन्त्री ओलीले कार्यप्रगतिको प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएका थिए ।
गत माघमा दुबईबाट नेपाल आएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको र फागुनमा सनम शाक्यको हत्या भएपछि वि.सं. २०७४ चैत २० गते मन्त्रिपरिषद्को बैठकले छानबिनका लागि समिति गठन गरेको थियो । जेठ ३० गतेसम्म अनुसन्धान सक्नेगरी गठित समितिले अनुसन्धान समयमा नसकेपछि सरकारले असार ३२ गतेसम्म म्याद थपेको थियो ।
यस क्रममा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’, राप्रपाका नेता भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, छिरिङ वाङदेललगायतलाई पक्राउ गर्न समिति सफल भयो । पूर्वप्रहरी नायव महानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, श्याम खत्री, प्रहरी उपरीक्षक विकासराज खनाल सहित प्रहरी अधिकारीहरु पनि पक्रिए । सुन तस्करी र सनम हत्यापछि ७५ जनाविरुद्ध अभियोजन मुद्दा दायर भएको छ । अझै ३० जना फरार अभियुक्त पक्राउ पर्न बाँकी छ ।यति धेरै ब्यक्ति पक्राउ परिसक्दा समेत हराएको सुन नभेटिदा आश्चर्य उत्पन्न भएको छ ।
प्रतिवेदनमा समेत उक्त ३३ केजी सुनको अवस्थाका बारेमा केही उल्लेख गरिएको छैन । समितिले प्रतिवेदन बुझाएसँगै ३३ केजी सुनको छानबिन कार्य के हुन्छ भन्ने अन्योलता सृजना भएको छ ।
प्रकाशित समय : १५:०४ बजे


















