गृहपृष्ठ बिक्री प्रबन्धकको गल्ती, कम्पनीको बेइज्जती

बिक्री प्रबन्धकको गल्ती, कम्पनीको बेइज्जती

बिक्री प्रबन्धकको गल्ती, कम्पनीको बेइज्जती

 

अहिले प्राथमिक निष्कासनमा सबैभन्दा बढी चर्चा नेपाल बैंकको थप निष्कासन (एफपीओ) को छ । मलाइ लाग्छ, यो निष्कासनले दोस्रो बजारको घट्दो ट्रेन्डको विषयलाई पनि विषयान्तर गरेको छ । दोस्रो बजारको घट्दो ट्रेन्ड र दोस्रो बजारमा कारोबार भएको मूल्य समान हुनेगरी थप निष्कासनको मूल्य निर्धारण गर्नुले लगानीकर्ता आकर्षित हुन सकेका छैनन् । बिक्री प्रबन्धकको गलत सल्लाहका कारण कम्पनीलाई सेयर निष्कासन महँगो बन्दै गएको छ ।

कम्पनीले पुँजी बढाउनु स्वाभाविक प्रक्रिया हो । आवश्यकताअनुसार कम्पनीले प्राथमिक निष्कासन, थप निष्कासन, हकप्रद, ऋणपत्रजस्ता विवध विकल्प (धितोपत्र) प्रयोग गरी सर्वसाधारणबाट पुँजी संकलन गरिरहेका हुन्छन् । नेपाल बैंकले थप निष्कासनलाई विकल्पको रुपमा लिएको छ । जुनसुकै विकल्प प्रयोग गरेर पुँजी संकलन गरे पनि कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बिक्री प्रबन्धकमार्फत मात्र धितोपत्र जारी गर्न सक्छ । यस्ता बिक्री प्रबन्धकलाई कम्पनीको धितोपत्र निष्कासनका सल्लाहकार वा एजेन्ट पनि भनिन्छ । यिनीहरुलाई यो क्षेत्रको विज्ञको रुपमा लिइन्छ । कम्पनीको निष्कासनको लागत कम गर्न सहयोग गर्नु, सही समय, रकम, मूल्य र लगानीकर्ताको मनोविज्ञान बुझेर कम्पनीलाई सल्लाह दिनु बिक्री प्रबन्धकको कर्तव्य हुन्छ ।

सही समय र मूल्य हुन सकेन भने व्यापारीको सामान बिक्छ नै भन्ने छैन । नेपाल बैंकको निष्कासनमा पनि यस्तै भएको छ । यसमा कम्पनी व्यवस्थापनको भन्दा पनि सेयर निष्कासनका लागि नियुक्त सिद्धार्थ क्यापिटलको व्यावसायिक कमजोरी देखिन्छ । सेयर निष्कासनको उपयुक्त समय र मूल्यमा विवेक पुर्याएर कम लागतमा सम्पूर्ण धितोपत्र बिक्री गरेर पुँजी संकलन गर्न कम्पनीले पैसा तिरेर बिक्री प्रबन्धक नियुक्त गरेका हुन्छन् ।

तर, पछिल्लो समयमा बिक्री प्रबन्धकहरु कम्पनीको हितभन्दा पनि कमिसन र कसले बढी सेयर निष्कासन गर्ने भन्ने होडबाजीमा लागेको पाइन्छ । जसका कारण कम कमिसन वा व्यवस्थापन शुल्कमा काम गर्ने नाममा कम्पनीले सोचेभन्दा बढी लागत थोपरिरहेका छन् । नेपाल बैंकमा पनि त्यस्तै भएको छ । बुटवल पावर, एनएमबी बैंक हुँदै नेपाल बैंकको एफपीओ सबैमा यस्तै अवस्था छ ।

ठूलो रकमको सेयर सामान्यतः दोस्रो बजार बढ्दो अवस्थामा निष्कासन गरिन्छ, घट्दो बजारमा थाँती राखिन्छ । रोचक कुरा, दोस्रो बजारमा बियरिस ट्रेन्ड हावी भएका बेला लगानीकर्ताले बिहेसमेत पछि सारेका हुन्छन् । महत्वपूर्ण वित्तीय क्रियाकलाप तथा लगानी स्थगित गरिएको हुन्छ ।

नेपाल बैंकको सम्पूर्ण सेयर यही समयमा पनि बिक्न सक्थ्यो, जसका लागि बारम्बार समय थप गरेर भएभरका मिडियामा खर्च गर्न आवश्यक पनि थिएन । अहिलेको मूल्य पनि सही मूल्य हुन सक्थ्यो, यदि सही समय अर्थात् दोस्रो बजार बढ्दो ट्रेन्डमा भएको भए । अर्कोतर्फ, अहिलेको समय पनि सही हुन सक्थ्यो, यदि सही मूल्य निर्धारण गर्न सकेको भए अर्थात् एफपीओको मूल्य र दोस्रो बजारमा कायम मूल्यको ग्याप व्यवस्थित गर्न सकेको भए । यी दुवैमा यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल चुकेको छ । जसका कारण कम्पनीको सेयर निष्कासनको लागतमात्र बढेको छैन, इज्जतमा समेत धक्का लागेको छ ।

बिक्री प्रबन्धकले सही सल्लाह दिन नसक्दा लामो समय व्यवस्थापकीय कमजोरीसँगै घाटा व्यहोरेर लाभांश नबाँडेको नेपाल बैंकको सर्वसाधारणमा थप नकारात्मक सन्देश गएको छ । हरेक दिनजसो मिडियामा ‘नेपाल बैंकको सेयर नबिकेन समय थप’ भएका समाचारले कम्पनी र यसको व्यवस्थापनमा ठूलै कमजोरी भएको र बैंक अझ पनि सुध्रिन नसकेको संकेत गइरहेको छ । यस्ता निष्कासन नबिक्दा त्यसको सोझो मानसिक असर दोस्रो बजारमा पनि परिरहेको हुन्छ । प्राथमिक बजारमै सेयर बिक्री भइरहेको छैन, दोस्रो बजार के बढ्ला र ! भन्ने मानसिकता लगानीकर्तामा हावी हुनजान्छ । जसले दोस्रो बजारलाई थप शिथिल बनाइदिन्छ, जुन अहिले देखिइरहेको छ ।

बिक्री प्रबन्धकले सही सल्लाह दिन नसक्दा लामो समय व्यवस्थापकीय कमजोरीसँगै घाटा व्यहोरेर लाभांश नबाँडेको नेपाल बैंकको सर्वसाधारणमा थप नकारात्मक सन्देश गएको छ ।

सेयर निष्कासनमा बिक्री प्रबन्धकले कति लापर्वाही गर्छन् भन्ने यो मात्र एउटा उदाहरण भने होइन । माथिल्लो तामाकोशीको स्थानीयबासीको सेयर निष्कासनमा पनि बिक्री प्रबन्धक नागरिक लगानी कोषले विवेक नपुर्याउँदा त्यस्तै अवस्था आएको छ । स्थानीयबासीको मनोविज्ञान बुझेर कम्पनीलाई सही सल्लाह दिन नसक्दा तीन वर्षअघि निष्कासन हुनुपर्ने सेयर बल्ल हुन लागेको छ । जसका कारण सर्वसाधारणलाई खुलाउनुपर्ने सेयरको समय सरेको छ । त्योभन्दा महत्वपूर्ण दोस्रो बजारमा यसको सूचीकरण भएर कारोबार हुने समय पछाडि धकेलिरहेको छ ।

बिक्री प्रबन्धकले कम्पनीलाई सही सल्लाह दिएको भए भूकम्पलगत्तै तामाकोशको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भइसक्ने थियो, जसले दोस्रो बजारमा अलग्गै तरंग उत्पन्न गराउन सक्थ्यो । तर, दुर्भाग्यवस हुन सकेन । नागरिक लगानी कोषले हाल स्थानीयबासीका लागि जारी गरेको सेयरको समय पनि गलत छ । पहिलो त किसान खेतबारीमा मानो रोपेर मुरी फलाउन व्यस्त हुने समय छ, जसका कारण सबैको पहुँचमा सेयर नपुग्न सक्छ । दोस्रो, सेयर बजार घट्दो अवस्थामा रहेर न्यूनतम विन्दुमा आउँदा जारी गरिएकाले लगानीकर्तामा उत्साह नहुन सक्छ । यस्तो हुँदा राम्रो अवसरमा पनि गलत समयका कारण मनोवैज्ञानिक रुपमा पीडित हुँदा भविष्यको राम्रो प्रतिफल स्थानीयले गुमाउनुपर्छ ।

कृषक काममा व्यस्त हुने समयमा सेयर निष्कासन गरेर बिक्री प्रबन्धकले उनीहरुको लगानी गर्न पाउने अधिकार कुण्ठितमात्र गरेको छैन, कम्पनीप्रति नकारात्मक मनोविज्ञान पनि सिर्जना गरेको छ । यो निष्कासनमा पनि बिक्री प्रबन्धकले कम्पनीलाई सही सल्लाह दिन सकेको देखिँदैन ।

सर्वसाधारणले सेयर निष्कासनको सबै कमजोरी कम्पनीले गरेको देख्छन् र सामाजिक सञ्जाललगायतका माध्यमबाट कम्पनीलाई गाली बर्साउँछन् तर यसको महत्वपूर्ण भूमिकामा रहेका सल्लाहकार भनौंदा बिक्री प्रबन्धक भने बाहिर देखिएका हुँदैनन् । यिनले आफू बचेर कम्पनीलाई ढाल बनाइरहेका हुन्छन् । कम्पनीको बेइज्जत गरिरहेका हुन्छन् ।

भट्टराई सेयर बजार विश्लेषक हुन् ।

प्रकाशित समय : १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु