global ime bank Long Banner Ad

गृहपृष्ठ बुटवलमा ‘ट्रान्सपोर्ट भिजेल’ : कामभन्दा कुरा धेरै, निर्माण अधुरै

बुटवलमा ‘ट्रान्सपोर्ट भिजेल’ : कामभन्दा कुरा धेरै, निर्माण अधुरै

बुटवलमा ‘ट्रान्सपोर्ट भिजेल’ : कामभन्दा कुरा धेरै, निर्माण अधुरै

 

रुपन्देहीको ढुवानी व्यवसायलाई व्यवस्थित गर्नेगरी अघि बढाइएको ‘ट्रान्सपोर्ट भिलेज’ निर्माणमा ढिलाइ भएको छ । ढुवानी व्यवसायी संघ रुपन्देहीको पहलमा बुटवल उपमहानगरपालिका–१२, आरम्भ रिर्साटनजिकै रहेको ८ बिघा जग्गामा ‘ट्रान्सपोर्ट भिलेज’ बनाउन बुटवल उपमहानगरपालिकाले स्वीकृति दिइसक्दा पनि निर्माणमा ढिलाइ भएको हो ।
एक महिनाअघि बुटवल उपमहानगरको स्वामित्वमा रहेको आठ बिघा जग्गामा उपमहानगरकै स्वामित्वमा ट्रान्सपोर्ट नगरी बनाउने योजना अगाडि सारिएको थियो । रुपन्देहीका सडक र बजार क्षेत्रमा छरिएर रहेका मालसामान ढुवानी गर्ने व्यवसायीलाई एकत्रित गरी ढुवानी सेवा सञ्चालन गर्न ‘ट्रान्सपोर्ट भिलेज’ को अवधारणा अघि सारिएको ढुवानी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कमल घिमिरे बताउँछन् । तर, स्थानीय बासिन्दाको विरोधका कारण ‘ट्रान्सपोर्ट भिलेज’ निर्माण अघि बढ्न नसकेको उनले जानकारी दिए ।
उपमहानगर कार्यालयले यस विषयमा छिटोभन्दा छिटो निर्णय गरी निर्माण कार्य अघि बढाउनुपर्ने व्यवसायीको माग छ । पश्चिमाञ्चल यातायात व्यवसायी समिति (ट्रक) का अध्यक्ष टिकाराम गौतम ‘ट्रान्सपोर्ट भिलेज’ निर्माण गर्ने हो भने ट्रक व्यवसायीसमेत लाभान्वित हुने बताउँछन् । ‘एकै स्थानमा सामान लोड–अनलोड हुने भएकाले अन्य स्थानमा झन्झट नहुने र व्यवस्थित हुने देखिन्छ,’ उनले भने, ‘निर्माण प्रक्रियाले गति लिनुपर्छ ।’ समितिअन्तर्गत हाल करिब २२ सय ट्रक छन् ।
ढुवानी व्यवसायलाई व्यवस्थित बनाउन व्यवसायी आफैं पनि जुटिरहेका छन् । लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद खरेलले लुम्बिनी ट्रक यातायात व्यवसायी संघ र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले संयुक्त रुपमा पडसरीको जग्गा भाडामा लिएर पार्किङ निर्माण अगाडि बढाइरहेको बताए । २०६७ साउनमा ५५ वटा ट्रकसहित स्थापना भएको यो समितिमा हाल ७ सय ४२ वटा ट्रक छन् । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भने ‘ट्रान्सपोर्ट भिलेज’ निर्माण कार्य अगाडि बढेको जानकारी दिए । बुटवलमा ३६ भन्दा बढी ट्रान्सपोर्ट व्यवसाय सञ्चालनमा छन् ।

प्रकाशित समय : ००:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु