गृहपृष्ठ नाबालकदेखि ७६ वर्षीय वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न

नाबालकदेखि ७६ वर्षीय वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न

नाबालकदेखि ७६ वर्षीय वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न

रोल्पामा ११ वर्षीय नाबालकदेखि ७६ वर्षीय वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न भएको पाइएको छ । यो प्रवृत्तिका कारण रोल्पामा २ देखि ५६ वर्षसम्मका महिला जबर्जस्ती करणी तथा करणी उद्योगको शिकार बनेको जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकले देखाउँछ ।

प्रहरी नायब उपरीक्षक (डिएसपी)ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार यसरी भएका जबर्जस्ती करणी तथा करणी उद्योगका घटनामा उमेर पुगेका भन्दा उमेर नपुगेका बालबालिका बढी संख्यामा शिकार भएका देखिएको छ । नाबालिका तथा बोल्न नसक्ने महिलामाथि जबर्जस्ती करणी तथा उद्योगका घटना घट्ने मात्र थुप्रै हुने गरेको छ ।

यीमध्ये धेरैजसो घटना घरबाहिर रहेको बेला, जंगलमा गोठाला गएको बेला र स्याउला सोत्तर ल्याउन गएका बेला हुने गरेको डिएसपी फुयाँलको भनाइ छ । प्रविधिको दुरुपयोग गर्दै गराउँदै अश्लील भिडियो तथा अन्य सामग्री हेर्ने÷हेराउने प्रवृत्तिले पनि यौन विकृत मानसिकताको विकास हुँदै गएको पाइएको डिएसपी फुयाँलले जानकारी दिए ।

मुद्दा फाँटका प्रहरी नायब निरीक्षक हेमन्त केसीका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा मात्र पाँच जबर्जस्ती करणी तथा तीन जबर्जस्ती करणी उद्योगका गरी जम्मा आठ वटा घटना दर्ता भएका छन् । यस्तै, आर्थिक वर्ष २०७३÷७४ मा आठ जबर्जस्ती करणी तथा तीन जबर्जस्ती करणीका गरी जम्मा ११ वटा घटना दर्ता भएका छन् ।

२०७४ फागुन २९ गते ६ वर्षीया बालिका जबर्जस्ती करणी गरेको अभियोगमा ११ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले नियन्त्रणमा लिएको थियो । सदरमुकामकै एक निजी विद्यालयमा एलकेजीमा अध्ययनरत बालिकालाई सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालकले जबर्जस्ती करणी गरेको अभियोगमा पीडितका आफन्तले प्रहरीमा उजुरी गरेका थिए ।

विद्यालयबाट फर्किएर साँझको समयमा घरबाहिर खेलिरहेकी बालिकालाई अँध्यारो हुने बेला ती बालकले ललाइफकाई जबर्जस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ । बालिकाका अभिभावकका अनुसार असह्य पीडा भएपछि बालिकाले घरमा गई आफ्नी हजुरआमासँग घटनाका बारेमा जानकारी गराएकी थिइन् ।

पीडित बालिकाकी हजुरआमाले यस विषयमा तत्काल प्रहरीमा गजुरी गरेसँगै जिल्ला प्रहरी कार्यालय रोल्पाको एक टोली घटनास्थल पुगी अनुसन्धान शुरु गरेको थियो र त्यहीँबाट अभियुक्त बालकलाई आफ्नो नियन्त्रणमा लिएको थियो । जिल्ला अदालत रोल्पाको २०७४ साल चैत १२ गतेको आदेशअनुसार ११ वर्षीय नाबालक भएको हुँदा धरौटी राख्न लगाई बालकलाई आमाको जिम्मा लगाइएको छ ।

यस्तै, २०७४ साल साउन २६ गते राति द्विखोली गाउँपालिकामा ७६ वर्षीय वृद्धबाट ३३ वर्षीया युवती आफ्नो घरमै बलात्कारको शिकार बनेको पीडितका अभिभावकबाट प्रहरीमा उजुरी प¥यो । बोल्न नसक्ने भएका कारण उनले ती वृद्धसँग प्रतिकार गर्न नसकेको पीडितका अभिभावकले बताएका छन् ।

घटना घटेको भोलिपल्टै इलाका प्रहरी कार्यालय रोल्पाले पक्राउ गरी अनुसन्धानका लागि ती वृद्धलाई आफ्नो नियन्त्रणमा लियो । यसरी प्रहरी नियन्त्रणमा रहेका अभियुक्तलाई जिल्ला अदालत रोल्पाको आदेशअनुसार २०७४ साल भदौ १९ गतेदेखि पुर्पक्षका लागि थुनामा राखिएको छ ।

यसरी अभिभावक सरहका मानिसबाट पशुवत् रुपमा जघन्य प्रकृतिका घटना हुनु दुःखद पक्ष रहेको महिला मानव अधिकारकर्मीहरुको भनाइ छ । स्थानीयवासी हुकुमा सुवेदीका अनुसार यसरी दिनदाहाडै घर, आँगन, पँधेरा, विद्यालय, बाटोघाटो जहाँसुकै छोरीचेली बलात्कारको शिकार बन्दै आएको हुँदा पनि कतिपय अभिभावकले छोरीभन्दा छोरालाई प्राथमिकतामा राखेको हुनसक्छ ।

सम्पूर्ण परिवारमा छोरी, चेली वा श्रीमतीलाई सम्मान गर्ने वातावरण तयार भएपछि मात्र यस किसिमका घटनामा कमी आउन सक्ने उनको धारणा छ ।

डिएसपी फुयाँलका अनुसार घटनाबारेको सूचना ढिलो गरी प्राप्त हुँदा प्रमाण संकलनमा समस्या हुने, भौगोलिक विकटताको कारण घटनास्थलमा पुग्न ढिलाइ हुने मात्र हैन पुनःस्थापना केन्द्र नहुनु, मानसिक विक्षिप्तता भएका पीडितको हेरचाह र उपचारको प्रभावकारी व्यवस्था नहुनु, पीडित अदालतमा आक्रामक रुपमा प्रस्तुत हुने, कतिपय उपस्थित नै नहुने प्रवृत्ति र अभियुक्त स्वयंले सही परिचय नदिनाले पहिचान र पक्राउमा समस्या हुने गरेको छ । यस्तै कतिपय घटनामा पीडितबाट सबै विवरण खुल्न नसक्ने अवस्था पनि देखिएको छ ।

अभियुक्त पत्ता नलागेसम्म पीडितलाई क्षतिपूर्तिको व्यवस्था नहुँदा राज्य जिम्मेवार हुनुपर्ने र सबै पीडितले पीडक चिन्न नसक्ने, साक्षीहरु विश्वसनीय नहुने र कतिपय अदालतमा आक्रामक बन्ने जस्ता समस्याहरु देखिएको उनको भनाइ छ ।

(कविता उपाध्याय/रासस)

प्रकाशित समय : २३:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु