गृहपृष्ठ पोखरामा फेरि अर्की किशोरीको शव भेटियो
पोखरामा फेरि अर्की किशोरीको शव भेटियो
पोखरा महानगरपालिका १७ स्थित छोरेपाटन माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १७ बर्षिया सुस्मिता लामिछाने मृत अवस्थामा फेला परेकी छन् । फेवातालमा डुबेको अवस्थामा उनको शव भेटिएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका २२ कोदीमा स्थायी घर भएकी लामिछाने आइतबार घरबाट करिब ५ बजे तिर निस्केकी थिइन् । राति अबेरसम्म घर नआएपछि उनका आफन्तसहित प्रहरीले उनको खोजी गरिरहेका थिए ।
सोमबार ड्यामसाईडस्थित फेवाताल किनारको पार्कमा उनको झोला र मोवाईल भेटिएलगत्तै त्यहिँ छेउाको उनको शव फेला परेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले बताए । ‘थानीबासीले पार्कनजिकै झोला देखेर प्रहरीलाई खबर गरे,’ प्रनाउ गुरुङले भने, ‘झोलामा भएको मोबाईलबाटै मृतकका आफन्तलाई सम्पर्क गरी तालमा खोजी कार्य गर्दा झोला भएको स्थानभन्दा करिब १० मिटर दुरीमा शव भेटिएको र शव पोष्टमाटमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।’
घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गुरुङले बताए । आफ्नी नातिनी के कारणले गर्दा घर छाडेर हिँडिन त्यसबारे आफूहरु अनभिज्ञ भएको सुस्मिताका हजुर बुबा हिमाल लामिछानेले बताए । यसअघि केही दिनअघि एक छात्राको पनि फेवातालमा शव भेटिएको थियो ।
प्रकाशित समय : १७:३० बजे



















