गृहपृष्ठ चितवनमा मल अभाव, किसान चिन्तित
चितवनमा मल अभाव, किसान चिन्तित
चितवनमा अनुदानित युरिया मलको अभावले किसान चिन्तित भएका छन् । धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा दुई सातादेखि युरिया मल नपाउँदा किसान मारमा परेका हुन् । अनुदानित मल अभाव भएपछि किसानले निजीस्तरबाट आएको मल चर्को मूल्य तिरेर खरीद गर्न बाध्य भएका छन् । चितवनमा भदौ महिनामा एक हजार ५०० मेट्रिक टन मल खपत हुने कृषि सामग्री कम्पनी लिमिटेड चितवनका प्रमुख रवीन्द्र गौतमले बताए ।
तर साउनदेखि नै अनुदानित मल अभाव हुँदा किसानले दोब्बर पैसा तिरेर एमोनियम सल्फेट (चिनी मल) खरीद गर्न बाध्य भएका प्रमुख गौतमको भनाइ छ । जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनीले मलको आपूर्ति गर्ने गरेका छन् । तर, दुबै संस्थामा मल सकिएपछि किसान समस्यामा परेका हुन् । जसका कारण मलको कालोबजारी हुनसक्ने आशङ्का बढेको छ ।
अनुदानित युरिया मलको मूल्य प्रतिबोरा ७ सय ६५ रुपैयाँ छ । तर, गैरअनुदानित चिनीमल एक हजार तीन सय रुपैयाँ माथि छ । मल अभाव भएपछि किसानलाई सहजताका लागि प्रतिबोरा २५ रुपैयाँ घटाएर एक हजार ३ सय ३५ रुपैयाँमा एमोनियम सल्फेट बिक्री गरिरहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड चितवनका प्रमुख वुद्धिविनोद दाहालले जानकारी दिए । चितवनमा साउन १५ सम्म मात्रै मल बिक्री भएको र त्यसपछि नआएको दाहाल बताउँछन् । विगतको स्टक मल सकिएको र नयाँ मल ल्याउने प्रक्रिया चलिरहेकाले यहाँ मल आउन अझै समय लाग्ने उनले बताए । कृषि सामग्री कम्पनी लिमिटेड चितवनले भने ३/४ दिनमा नै मल आपूर्ति सहज हुने दाबी गरेको छ ।
प्रकाशित समय : १७:४६ बजे



















