गृहपृष्ठ साफ च्याम्पियनसिप : नेपाल सेमिफाइलनमै रोकियो
साफ च्याम्पियनसिप : नेपाल सेमिफाइलनमै रोकियो
बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा जारी साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमै रोकिएको छ ।
आज भएको पहिलो सेमिफाइलनमा नेपाल माल्दिभ्ससँग ३–० गोल अन्तरले पराजीत भएको हो । पहिलो हाफको खेल सकिँदासम्म १–० गोलले पछाडि परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खायो ।
नवौं मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घातीले पेनाल्टी बक्सको केही बाहिर पाएको फ्री किकलाई गोलमा परिणत गरेर माल्दिभ्सलाई अग्रता दिलाएका थिए ।
त्यसैगरी इब्राहिम हसनले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै नेपालको उपाधि सम्भावना समाप्त पारे । ८४औं मिनेटमा पहिलो गोल गरेका उनले ८६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै माल्दिभ्सलाई प्रतियोगिताको फाइनल पुर्याए ।
वर्षाले प्रभावित भएको खेलमा नेपालले आफ्नो स्वाभाविक खेल प्रदर्शन गर्न सकेन । २८औं मिनेटको खेल सकिँदा हावाहुरी र भीषण वर्षा भएपछि खेला ३० मिनेट रोकिएर पुनः शुरु भएको थियो ।
हारसँगै साफ च्याम्पियनसिप जित्ने नेपालको सपना समाप्त भएको छ । २५ वर्षे साफको इतिहासमा नेपाल सेमिफाइलनभन्दा माथि पुग्न सकेको छैन ।
माल्दिभ्स भने भाग्यमानी टोली साबित भएको छ । समूह चरणमा एक गोल पनि गर्न नसेकेको र एक खेल पनि जित्न नसेकेको माल्दिभ्सले बुधबार उत्कृष्ट खेल प्रदर्शन गर्यो । समूह चरणमा भारतसँग पराजित भएको माल्दिभ्स श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएपछि गोलाप्रथाद्वारा सेमिफाइनल पुगेको थियो ।
प्रकाशित समय : ००:४५ बजे



















