गृहपृष्ठ मुक्तिनाथ अब केबलकारमा
मुक्तिनाथ अब केबलकारमा
हिमालपारिको जिल्ला मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ जान केबलकार बन्ने भएको छ । कास्कीको वीरेठाँडीदेखि मुस्ताङसम्म केबलकार निर्माण हुने भएको हो । केबलकार निर्माणसँगै मुस्ताङको मुक्तिनाथ दर्शन सहज हुने भएको छ ।
केबलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ केबलकार दर्शन प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका अध्यक्ष अरुणकुमार सुवेदीले बुधबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
८३.६५ किलोमिटर लामो केबलकारका ६ वटा स्टेसन रहनेछन् । पहिलो स्टेसन वीरेठाँटीमा बन्नेछ भने त्यसपछि घोरेपानी, तातोपानी, लेते, मार्फा, कागबेनी र मुक्तिनाथमा स्टेसन बन्नेछन् ।
आयोजनाको कुल लागत करिब ३५ अर्ब रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए । वैशाख १५ गते बसेको बोर्ड बैठकले केवलकार निर्माणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो । बोर्डले मुक्तिनाथ दर्शन प्रालिलाई आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको थियो ।
निर्माण कम्पनीले अबको १८ महिनाभित्र आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारी बोर्डमा पेस गर्नुपर्नेछ । निजी क्षेत्रबाट केबलकार निर्माण सुरु भई सञ्चालनमा आएको करिब डेढ दशकपछि सार्वजनिक–निजी साझेदारी अवधारणामा हालसम्मकै लामो केबलकार निर्माण गर्न लागिएको हो ।
नेपालमा केवलकार निर्माणका लागि स्थानीय तहले पनि पहल गर्दै आएको छ । मनकामना केबलकार र चन्द्रागिरिमा केबलकार निजी क्षेत्रबाट निर्माण भई सञ्चालनमा आइसकेका छन् । यस्तै, दोलखाको कालिञ्चोकमा पनि केबलकार निर्माण भइरहेको छ । हाल देशभर दुई दर्जनभन्दा बढी स्थानमा केबलकार निर्माणका लागि प्रस्ताव अघि बढेको छ ।
प्रकाशित समय : १४:३० बजे



















