काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

निर्मला हत्या प्रकरण : तालिम प्राप्त कुकुर हुँदा पनि प्रयोग गरिएन

11.71K
shares

अपराध अनुसन्धानका लागि ७ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत कुकुर शाखाको स्थापना गरिएको छ । वि.सं. २०७४ फागुन १७ गते ७ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तरगत कुकुर शाखाको स्थापना गरिएको हो । तर, मुलुकभर तरंग ल्याएको कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले अपराधी पहिचान गर्न तालिमप्राप्त कुकर भए पनि प्रयोग गरेन । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषी पत्ता लगाउन उपलब्ध भएर पनि तालिम प्राप्त कुकरको सहयोग लिइएन ।

प्रदेश प्रहरी धनगढीमा रहेको कुकुर शाखामा ४ वटा तालिम प्राप्त कुकुरहरु छन् । प्रदेश ७ का प्रदेश प्रहरी प्रमुख डिआइजी सुरज केसीले घटना अनुसन्धानमा प्रदेश प्रहरीले एसएसपी बिक्रम चन्दलाई हेर्ने जिम्मा दिएको बताए । डिआइजी केसीले कुकुर शाखामा रहेका कुकुरहरु प्रयोग भए नभएको कुरा एसएसपी चन्दलाई थाहा हुने बताए ।

एसएसपी चन्दले घटनामा कुकुरको प्रयोग नगरिएको बताए । ‘घटनाको सुरुमा हो कुकुरको प्रयोग गरिने,’ उनले भने, ‘घटना स्थलमा पानी भएकाले कुकुर प्रयोगको लागि माग नभएको हुन सक्छ ।’ सुरुमा किन कुकुर प्रयोग गर्नु भएन त ? भन्ने प्रश्नमा उनले पानी भएको ठाउँ भएकाले होला भनेर पन्छिन खोजे ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कठायतले घटनामा आवश्यकता अनुसार कुकुर प्रयोग गर्न सकिने बताए । उनले भने, ‘अहिले कुकुर प्रयोग गर्ने बेला छैन ।’ बालिका पन्त हत्या घटनामा पछिल्लो पटक तोकिएका अनुसन्धान अधिकृत डिएसपी कृष्ण ओझाले घटनाको सुरुमा कुकुरको प्रयोग गर्न सकिने बताए । उनले भने, ‘अहिले आवश्यकता परेको छैन ।’

तालिम प्राप्त कुकुर भएर पनि त्यसको प्रयोग नगरिनुलाई पनि स्थानीयहरुले अनुसन्धानमा गरिएको लापर्वाहीको रुपमा लिएका छन् ।