गृहपृष्ठ अदालतको निर्णयमा सुकीको प्रतिरक्षा
अदालतको निर्णयमा सुकीको प्रतिरक्षा
नोबेल शान्ति पुरस्कार विजयी तथा म्यान्मारकी राज्य सल्लाहकार आङ सान सुकीले बेलायती समाचार समिति रोयटर्ससँग आबद्ध दुई पत्रकार जेल परेको विषयमा बिहीबार आफ्नो प्रतिरक्षा गरेकी छन् ।
विश्वभरीबाट व्यापक आलोचना भइरहेको समयमा उनले म्यान्मार स्वतन्त्र प्रेसको पक्षमा रहेको दावी गरिन् । नेतृ सुकीले अल्पसंख्यक मुसलमान समुदाय रोहिंग्यामाथि भएको सैनिक कारबाहीलाई अझ राम्रोसँग व्यवस्थापन गर्न सकिने निष्कर्षमा म्यान्मार पुगेको पनि बताइन् ।
उनले पक्राउ परेका पत्रकारद्वयमाथि पूर्वाग्रह र नियोजित कारबाही नगरिएको दावी गरिन् । नेतृ सुकीले भनिन्, ‘पत्रकार भएकै कारण उनीहरु जेलमा परेका होइनन्, उनीहरुले सरकारी गोपनीयता ऐनलाई भंग गरेका कारण अदालतले दोषी ठह¥याएको हो ।’
रखाइन राज्यमा रोहिंग्या मुलमानविरुद्ध भएको सैनिक दमनको समाचार संकलन गर्दा सरकारी गोपनीयता कानुन उल्लंघन गरेको आरोपमा ३२ वर्षीय वा लोन र २८ वर्षीया क्या सोए ओेलाई गत हप्ता सात वर्षको जेल सजाय भएको थियो । यी पत्रकारहरुलाई दिइएको जेल सजायको विश्वभरी आलोचना भएको छ ।
तर संयुक्त राष्ट्रसंघलगायत विश्व समूदायले यसैलाई स्वतन्त्र पे्रसको अभिव्यक्तिमाथि हमला भएको संज्ञा दिएका छन् । पत्रकारलाई दिइएको यस सजायको विषयमा सुकीले अत्यन्त चलाखीपूर्वक बचाउ गरेकी छन् ।
रोयटर्सका यी दुई पत्रकारलाई दिइएको जेल सजायको युरोपियन युनियन र अमेरिकालगायत विश्वजगतले नै आलोचना गरिरहेको छ । साथै संयुक्त राष्ट्र संघलगायत विश्वका कैयौं मानव अधिकार संघसंस्थाले उनीहरुको रिहाइका लागि आग्रहसमेत गरेका छन् ।
म्यानमारको सैनिक सरकारले करिब दुई दशकसम्म घरमै नजरबन्दका राखेका प्रजातन्त्रवादी नेतृ आङ सान सुकी केही वर्षअघि मात्र स्वतन्त्र भई राज्य सल्लाहकारको रुपमा रहेकी छन् । पत्रकारहरुलाई जेल सजाय गरिएको विषयमा उनको मौनताको विषयमा विश्वभर आलोचना भएपछि उनको सो भनाइ आएको छ ।
प्रकाशित समय : २२:४८ बजे



















