निर्मलाको हत्या भएको ५१ दिन बित्यो, हत्यारा को हो ?
वि.सं.२०७५ भदौ २९ शुक्रवार १५:१३
shares

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५१ दिन बित्यो । तर, अहिलेसम्म वास्तविक हत्यारा पत्ता लाग्न सकेको छैन । हत्याका प्रमाणहरु एकपछि अर्को नष्ट गरिएकाले पनि अनुसन्धान प्रक्रिया लम्बिएको छ ।
कञ्चनपुरमा न्याय नपाएपछि निर्मलाका बुबा यज्ञ पन्त र आमा दुर्गादेवी पन्त काठमाडौंमा छन् । राष्ट्रपति, प्रधानमन्त्री, गहृमन्त्री लगायतलाई भेटेर न्याय माग्न उनीहरु काठमाडौं आएका हुन् ।
तर, उनीहरुले अहिलेसम्म कसैलाई भेट गर्न पाएका छैनन् । राष्ट्रपति प्रधानमन्त्रीबाट समय नपाएको उनीहरुको गुनासो छ । उनीहरुले आज (शुक्रबार) राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने तयारी गरेका छन् ।
कतिबेला भेट्ने भन्ने समयको टुंगो नभएको अधिकारकर्मी महिला माया नेगीले बातइन् । ‘आज राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने तायारी छ, तर, उहाँहरुले समय दिनुभएको छैन, खबर आएपछि भेट्न जान्छौ,’ अधिकारकर्मी नेगीले भनिन् ।
‘कञ्चनपरमा त न्यायको सट्टा गोली चलाइयो, काठमाडौंमा न्याय पाइएलाकी भनेर आएको यहाँ पनि न्याय पाउने आशा कम भएको छ’ निर्मलाका बुबा यज्ञले भने । छोरीले न्याय नपाएसम्म कञ्चनपुर नफिर्किने उनले बताए ।
एसपी डिल्लीराज विष्ट सहितको डीएनए परीक्षण
निर्मला पन्त हत्या प्रकरणका कारण निलम्बनमा परेका एसपी डिल्लीराज विष्ट, उनका छोरा र भीमदत्त नगरपालिकाका मेयरका भतिजाको डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको छ । उनीहरुको घटनामा संलग्न रहेको आशंकमा डीएनए परिक्षण गर्न लागिएको हो । यसअघि पक्राउ परेको दिलिप विष्टलाई पक्राउ गरेको थियो ।
उनको डिएनए परिक्षण गर्दा निर्दाष देखिएपछि छुटेका छन् । त्यस्तै घटनाको आरोप लागेका बम दिदीबहिनी पनि रिहा भएका छन् । उनीहरु रिहा भएपछि एसपी विष्ट सहितको डीएनए परिक्षण गर्न लागिएको हो ।
गृहमन्त्रीले सदनलाई जानकारी गराउने
हत्यारा पक्राउको माग राख्दै सदनदेखि सडकसम्म आन्दोलन भइरहेका छन् । तर, घटनाका विषयमा सत्य तथ्य बाहिर आएको छैन । दोषीलाई कारबाहीको माग गर्दै प्रतिपक्ष दल कांग्रेसले बिहिबार सदन समेत अवरोध ग¥यो ।
सरकारले घटनाका विषयमा सदनलाई जनाकारी गराउने बताएको छ । शुक्रबारको संसद बैठकमा गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्या प्रकरणका विषयमा जानकारी गराउने तयारी गरेका छन् ।

























