कर्मचारी अभावले प्रदेश सरकारको काम प्रभावित
वि.सं.२०७५ भदौ २९ शुक्रवार २०:१६
shares

संघीय सरकारले पर्याप्त कर्मचारी नखटाएका कारण प्रदेश सरकारले गर्ने कार्य प्रभावित भएको छ । प्रदेश सरकारले मन्त्रालयहरुमा सचिवहरु नहुँदा दैनिक कामकाजमा समेत कठिनाई झेलिरहेको छ ।
प्रदेश नम्बर ७ मा मुख्यमन्त्रीसहित सात मन्त्रालय छन् । ७ मन्त्रालय रहेको प्रदेशका पाँच मन्त्रालय सचिवविहीन छन् । दुई सचिव कार्यक्रममा सहभागी हुन विदेश गएका छन् भने दुई जना सचिव कार्यक्रममा सहभागी हुन काठमाडौंमा छन् । संघीय सरकारले एक मन्त्रालयमा सचिव नै खटाएको छैन ।
भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयमा संघीय सरकारले सचिव नै खटाएको छैन । डेढ महिनाअघि सचिव हरीहर अधिकारी सरुवा भएर गएपछि उनको ठाउमा संघीय सरकारले अर्को सचिव पठाएको छैन । भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयमा सहसचिव पनि छैनन् ।
सचिव र सहसचिव नहुँदा उपसचिव यज्ञराज जोशीले निमित्त सचिव भएर मन्त्रालयको जिम्मेवारी सम्हालेको पनि झण्डै डेढ महिना भयो । जोशी जिल्ला कृषि विकास कार्यालयका प्रमुखसमेत हुन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव राजेश्वर ज्ञवाली केही दिनअघि कार्यक्रममा सहभागी हुन चीन गएपछि उक्त मन्त्रालय पनि सचिवविहीन छ । उनी धनगढी सरुवा भएर आउनुअघि नै चीनका लागि छानिएको बताईएको छ । उनीसँगै सरुवा भएर यातायात व्यवस्था कार्यालयका प्रमुखको जिम्मेवारी सम्हालेका उपसचिव बिसनसिंह थापा पनि चीन भ्रमणमा छन् ।
कार्यालयमा हाजिर भएलगत्तै थापा चीन जाँदा यातायातको लाईसेन्स दिने प्रकृया नै प्रभावित भएको छ । कार्यालय प्रमुख नभएका कारण गाडीको लाईसेन्सका लागि ट्रायल दिएकाहरुको नतिजा प्रकाशित हुन सकेको छैन ।
उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सुधीर कोइरालालाई संघीय सरकारले युरोप पठाएको छ । उनी फ्रान्स र इटालीमा हुने वन तथा वातावरण सम्बन्धी कार्यक्रममा सहभागी हुन संघीय सरकारले पठाएर युरोप गएको बताइएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय पनि सचिवविहीन छ । मन्त्रालयका सचिव इन्द्रदेव भट्ट केहीदिनदेखि काठमाडौंमा छन् । उनी संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयले बोलाएको बैठकमा सहभागी हुन काठमाडौं गएको स्रोतले बतायो ।
त्यस्तै सामाजिक विकास मन्त्रालय पनि सचिवविहीन छ । सचिव गोगनबहादुर हमाल पनि कार्यक्रममा सहभागी हुन काठमाडौं गएका हुन् ।
सचिवविहीन रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा दुई दिनअघि मात्र शंकर अर्याल हाजिर भएका छन् । उनी पनि मन्त्रालयको कामले काठमाडौं थिए । मुख्यमन्त्री सहित सात मन्त्रालयमध्ये पाँच मन्त्रालय सचिवविहीन छ ।
प्रदेश नम्बर ७ का प्रमुख सचिव नारायणप्रसाद बिडारीले कर्मचारीको अभाव झेलिरहेको प्रदेश सरकार र मातहतका मन्त्रालयका नियमित काम सचिवविहीन हुँदा प्रभावित भइरहेको बताए ।
प्रमुख सचिव बिडारीका अनुसार अधिकांश सचिव संघीय सरकारको निमन्त्रणामा काठमाडौंको कार्यक्रममा सहभागी हुन गएका छन् । दुई जना सचिव संघीय सरकारको सिफारिसमा विदेश गएका हुन् ।
























