मोरङको गोकुलम रिसोर्टमा अब जहाज म्युजियम
वि.सं.२०७५ भदौ २९ शुक्रवार २०:५१
shares

मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको पर्यटकीय स्थल गोकुलमले जहाज म्युजियम बनाउने भएको छ । एक निजी कम्पनीको ग्राउन्डेड जहाज रिसोर्टमा म्युजियमका लागि भित्र्याएको सञ्चालक गिरिस दंगालले जानकारी दिए । काठमाडौंबाट ल्याइएको सो ग्राउन्डेड जहाज रिसोर्टपरिसरमा राखिएको छ ।
रिसोर्टको एक महत्वपूर्ण भागको रूपमा विकास गर्ने उद्देश्यबमोजिम जहाज ल्याइएको सञ्चालकले बताएका छन् । गोकुलममा थुप्रै आकर्षण रहेकोमा अबको थप आकर्षण जहाज म्युजियम हुने सञ्चालक दंगालले बताए ।
यसअघि, धनगढीमा पाइलट वेद उप्रेतीले जहाज म्युजिम बनाएका थिए । बिग्रिएको सो जहाजलाई आकर्षक म्युजियमको रूपमा विकास गरेपछि नेपालभरबाट पर्यटक धनगढी पुुग्ने गरेका छन् । काठमाडौंको सिनामंगलमा पनि जहाज म्युजियम सञ्चालनमा छ । झापाको सुरुंगास्थित ह्याप्पी ल्यान्ड फनपार्कले पनि जहाज म्युजियम निर्माण गरिरहेको छ । रिसोर्टले दसैंअघि नै जहाज म्युजियम सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
गोकुलम रिसोर्टमा सञ्चालनमा आएका फन पार्कदेखि, धरहरा, ताजमहल, मन्दिरलगायत बालबालिकादेखि वृद्धसम्मलाई समेट्ने गरी निर्माण गरिएका संरचनाका कारण सो रिसोर्टका दैनिक १ हजारभन्दा बढी पर्यटक भित्रिने गरेका छन् ।
२०७२ सालमा गएको विनासकारी भूकम्पले काठमाडौंमा रहेको नौ तले धरहरा ढलेपछि अहिलेसम्म उठ्न सकेको छैन । काठमाडौको धरहरा ढले पनि गोकुलम रिसोर्टमा धरहरा ठ्डयाइएको छ । धरहरा निर्माणपछि गोकुलम आउने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो बढेको छ । बालबालिकाका लागि फनपार्कमात्र नभएर रिसोर्टमा वृद्धवृद्धाका लागि मन्दिरसमेत निर्माण गरिएको छ । रिसोर्टमा घोडचढीको पनि व्यवस्था छ । नेपालमा नपाइने उँटसमेत आकर्षणका रुपमा रिसोर्टमा भित्र्याइएको छ ।

























