गृहपृष्ठ स्याङ्जाको भालु पहाडलार्इ खेल पर्यटनको केन्द्र बनाइँदै
स्याङ्जाको भालु पहाडलार्इ खेल पर्यटनको केन्द्र बनाइँदै
स्याङ्जाको फेदीखोला गाँउपालिका–२ मा रहेको भालु पहाडमा नयाँ पर्यटकीय गन्तव्य बनाइने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखराबाट करिब २८ किलोमिटर टाढा रहेको उक्त पहाडमा पर्यटकीय गतिविधिसहितको भौतिक संरचना निर्माण गरी नयाँ पर्यटकीय गन्तव्य बनाइन लागेको हो ।
फेदीखोला गाउँपालिकाले खेल पर्यटन केन्द्र बनाउने गरी बृहत गुरुयोजना अघि सारेको हो । सार्वजनिक निजी साझेदारी अवधारणमा करिब ४५ करोडको लागतमा उक्त योजना अघि सारिएको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । ‘भालु पहाडमा टुरिजम स्पोटर्सको रुपमा विकास हामीले यस्तो योजना अघि सारेका हौं, पहाडै पहाडको जिल्लाको रुपमा परिचित यस जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य अब हामीले भालु पहाडलाई बनाउँदै छौं,’ उनले भने ।
सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने उक्त क्षेत्रको होम स्टेसहितको पर्यटन प्रवर्धन गर्ने लक्ष्य राखिएको उनले जनाए । हाल दैनिक ५०/६० जना भालु पहाडमा जाने गरेकोमा उक्त योजनापश्चात कम्तीमा दैनिक २ हजार ५ सय पर्यटक जाने वातावरण सिर्जना गर्न लागिएको अध्यक्ष सुवेदीले जनाए । साढे तीन वर्षमा योजना सफल पार्ने गरी फेदीखोला गाउँपालिकाले लगानीकर्ता जुटाउन पहल थालेको छ ।
भालुपहाडमा अत्याधुनिक झोलुंगे पुल निमार्ण गर्ने, पार्क निर्माण गर्ने, वाटर फाउन्टेन, पहाडी भू–बनोट सुहाउँदो विशिष्ट टुरिजम स्पट निर्माण गर्ने, चमेना गृह, हिन्दू र बौद्ध धर्मावलम्बीलार्इ लक्षित गरी शिव र बुद्धको मूर्ति निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । त्यस्तै राजमार्गबाट सेतीखोला हुँदै स्पटसम्म पुग्न एकातर्फ २०० देखि २५० वटा मनमोहक सिढीहरु बनाइने भएको छ भने अर्कोतर्फ खोलामाथि १ सय ७५ मिटर लामो झोलुंगे पुल निर्माण गरिने, सेती खोला जान मनमोहक पदमार्ग निर्माण गरिनेछ ।
मुक्तिनाथ र लुम्बिनी घुम्न आउने हिन्दू र बौद्ध धर्मावलम्बीलाई लक्षित गरी टुरिजम स्पटमा २३ फिट अग्लो भगवान शिव र बुद्धको मुर्ति बनाइनेछ भने एउटा मूर्तिबाट अर्को मूर्तिलाई जोड्न १४ मिटर लामो र १० मिटर अग्लो मनमोहक काठको पुल बनाउने योजना अघि सारिएको अध्यक्ष सुवेदीले बताए ।
भालुपहाडको एकीकृत पर्यटन गुरुयोजना सार्वजनिक कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश सरकारले पर्यटनलाई आर्थिक विकासको आधार बनाएर अघि बढेको अवस्थामा उक्त पर्यटकीय गन्तव्यलार्इ पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
ठूल्ठूला मनोरम पहाड, पहाड घुमेर बगेको सेती नदी र पहाडबाट देखिने धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रेलगायतका एक दर्जन हिमशृंखलाले यो क्षेत्रलाई चलचित्र छायांकन स्थल, पिकनिक स्पोर्ट, पारिवारिक भ्रमण तथा बिदा मनाउने आकर्षक गन्तव्यको रुपमा चिनाउन पनि गाउँपालिकाले विभिन्न निकाय तथा निजी क्षेत्रसँगको सहकार्यमा अघि बढाउनेछ । ‘समृद्धि स्मार्ट भिलेज, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ निर्माण हुने उक्त योजनाले बालबालिकादेखि युवायुवती र वृद्धवृद्धालाई समेत आकर्षित गर्ने गाउँपालिकाको अपेक्षा छ ।
प्रकाशित समय : १२:०७ बजे



















