गृहपृष्ठ नेविसंघ उदयपुरको विवाद सतहमा, नेतृत्वविरुद्ध आन्दोलनको चेतावनी
नेविसंघ उदयपुरको विवाद सतहमा, नेतृत्वविरुद्ध आन्दोलनको चेतावनी
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ उदयपुरभित्रको विवाद सतहमा आएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय विद्यार्थी नेताहरुले बुधबार विज्ञप्ति निकालेर नेतृत्व तहले विभिन्न समिति गठन गरेकोप्रति आपत्ती जनाउँदै निर्णय उल्ट्याउन माग गरेका छन् ।
नेविसंघ उदयपुरका अध्यक्ष सन्तोष कोइरालाले हालैमात्र केन्द्रीय कार्यसमितिको निर्देशन भन्दै गाउँ/नगरका क्याम्पस तथा विद्यालय एकाई समिति गठन गरी प्रतिवेदन बुझाउन आठै स्थानीय तहका प्रतिनिधिहरु तोकेका छन् । बेलका नगरपालिका, चौदण्डी नगरपालिका, त्रियुगा नगरपालिका, कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका, रौतामाइ गाउँपालिका, सुनकोशी गाउँपालिका र ताप्लि गाउँपालिकाका ६२ जना प्रतिनिधिलाई उनले जिम्मेवारी दिएका हुन् । सोही विषयलाई लिएर विवाद छताछुल्ला भएको हो ।

असन्तुष्ट विद्यार्थी नेताहरुले महाधिवेशन नभएकाले उदयपुरको नेविसंघ नेतृत्व दुई वर्ष अघि नै अवैधानिक बनिसकेको भन्दै ‘अवैध नेतृत्व’को निर्णय मान्य नहुने चेतावनी दिएका छन् । ‘उदयपुर नेविसंघ दुई वर्ष अगाडि नै वैधानिक व्यवस्था अनुसार स्वतः विघटन भए पनि विघटित कार्य समितिले हचुवाको भरमा गाउँ, नगर कार्यपालिकाका क्याम्पस तथा विद्यालय स्तरीय संगठन विस्तार गर्न समिति गठन गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेको कुराले नेविसंघमा लामो समय गुजारी योगदान गरेका हामी विद्यार्थी साथीहरुलाई हतोत्साही तुल्याएको छ । ५६ भन्दा बढी विद्यार्थी नेताको हस्ताक्षर भएको विज्ञप्तिमा भनिएको छ ।
विघटित समितिले गरेका पछिल्ला निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी पनि असन्तुष्ट पक्षले दिएको छ । नेविसंघ उदयपुरलाई चलायमान बनाई निरन्तर समाज र पार्टीप्रति बफादार बनाउन जिल्ला कार्य समितिले गरेका निर्णयहरु (अधिवेशनका लागि ३ महिने अल्टीमेटम, विवाद समाधान कार्यदल र पटक–पटक छलफल र सहमतिको प्रयास) हामीलाई आँखामा छारो हाल्ने कार्य शिवाय केही हुन सकेन,’ विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ स्वतहः विघटित कार्य समितिले गरेको यो अवैधानिक कार्य तत्काल नरोके चरणबद्धरुपमा संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने कुरा जानकारी गराउँदछौँ ।’
नेविसंघको उदयपुर अध्यक्षका प्रत्यासी सुशील राई, नरेन्द्र थापालगायतले विज्ञप्ति निकालेका हुन् । विज्ञप्तिमा सन्तोष कोइरालाले प्रतिनिधि तोकेका विद्यार्थी नेताहरुको पनि हस्ताक्षर छ ।
‘विधिवत रुपमा गठन गर्नुपर्नेमा आफूखुसी अवैधानिक तरिकाले गरिएका सबै समितिहरु खारेज हुनुपर्छ,’ असन्तुष्ट पक्षका एक विद्यार्थी नेताले भने, ‘हामी स्कूल पढ्दादेखि नै नेविसंघमा योगदान गरेकाहरुको कुनै भूमिका छैन ?’
झण्डै नौ वर्षदेखि नेविसंघको महाधिवेशन नहुँदा केन्द्रदेखि तल्लो तहसम्म विवाद चुलिएको छ ।
प्रकाशित समय : ०३:३९ बजे





















