गृहपृष्ठ ट्रिप्परको ठक्करबाट दाजुभाइको ज्यान गयो
ट्रिप्परको ठक्करबाट दाजुभाइको ज्यान गयो
ट्रिप्परको ठक्करबाट धनुषामा दाजुभाइको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाधाम नगरपालिका–९, धारापानीमा बुधबार ट्रिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–४ निवासी दाजुभाइ २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राई रहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्व जाँदै गरेको ना. १ प ६१८९ नम्बरको ट्रिप्परले अगाडि जाँदै गरेको स. ५ प ९०४६ नम्बरको मोटरसाइकललाई तीव्र गतिमा पछ्याउँदै ओभरटेक गर्ने क्रममा किचेको प्रत्यक्षदर्शीले प्रहरीलाई जानकारी दिएका छन् । ट्रिप्पर र चालक प्रहरी नियन्त्रणमा छन् ।
अधिकांश ट्रिप्पर तीव्र गतिमा हुइँक्याउने भएकाले दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । ट्रिप्पर चालकको लापर्बाहीको सिकार साना सवारी हुने गरेका छन् । दुर्घटना बढेपछि काठमाडौं उपत्यकामा दिउँसोको समयमा ट्रिप्पर चलाउन निषेध गरिएको छ तर उपत्यकाबाहिर दिउँसो पनि ट्रिप्पर चल्ने गरेका छन् ।
प्रकाशित समय : २३:१७ बजे



















