गृहपृष्ठ रघुगङ्गा जलविद्युत् आयोजना निर्माण शुरु
रघुगङ्गा जलविद्युत् आयोजना निर्माण शुरु
चालिस मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम शुरु भएको छ ।
आयोजना निर्माणका लागि छ अर्ब रूपैयाँमा गत वर्ष ठेक्का सम्झौता गरेको भारतीय निर्माण कम्पनी जेपी एशोसियट्शले प्रारम्भिक चरणको काम शुरु गरेको हो । ठेकेदार कम्पनीले नक्साङ्कन सकेर बाँध, सुरुङसम्म पुग्ने सडक निर्माण र व्यवस्थापकीय काम शुरु गरेको रघुगङ्गा हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले बताउनुभयो । पाण्डेका अनुसार मनसुन सकिएलगत्तै बाँध, सुरुङ र विद्युत्गृहको काम एकैसाथ अघि बढाउने कार्ययोजना बनाएको ठेकेदारले पूर्वतयारीको कामलाई तीव्रता दिएको छ ।
प्रवेशबिन्दु घुमाउनेतालदेखि पिप्लेतर्फ ६०० मिटर सडकको ट्याक खुलेको छ । आवासगृह भवन निर्माण र विद्युत्गृह क्षेत्रमा काम गर्नका लागि झाडी, रुख हटाउने र उपकरण जुटाएर तयारी अवस्थामा राखेको छ ।
ठेक्का सम्झौताको स्वीकृतिका लागि ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकले छ महिना लगाउँदा ठेकेदार परिचालनमा ढिलाइ भएको हो । सिभिल निर्माणको काम ३९ महिनामा सम्पन्न गर्ने सम्झौता भएको छ । पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियाबाट अघि बढाइएको आयोजनामा ढिलाइको प्रवृत्ति नदोहोरियोस् भन्ने सरोकारवालाको अपेक्षा छ ।
यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पुर्याइएको हो ।
प्रकाशित समय : १४:५५ बजे



















