गृहपृष्ठ आजको मौसम : तराईका केही भागमा मध्यम वर्षाको सम्भावना
आजको मौसम : तराईका केही भागमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण देशका विभिन्न भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहेको छ भने बाँकी हिमाल, पहाड र तराईका अधिकांश भू-भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा गर्मीको प्रभाव रहने तथा तातो दिन हुन सक्ने जनाइएको छ।
रातिको समयमा देशका हिमाली तथा पहाडी भू-भागसँगै कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने सम्भावना छ। कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ। बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन, चट्याङ, वर्षा तथा गर्मीको प्रभावलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन र विभागका पछिल्ला मौसम सम्बन्धी सूचनामा अद्यावधिक रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।
प्रकाशित समय : ०६:२५ बजे


















