global ime bank Long Banner Ad

गृहपृष्ठ एड्भा भाग २

एड्भा भाग २

एड्भा भाग २

‘५ हन्ड्रेड सेकेल विदाउट अपार्टमेन्ट ।’ बहुप्रतिक्षीत उत्तर मिल्यो । मभन्दा त्यो बियर बढी उत्पट्याङ थियो । म प्रश्न र जिज्ञासा रोक्न खोज्छु ऊ धकेलिरहन्छ । आखिर बियर आफैँले खोजेर तयार गर्यो आजको सितन ।

मोरो केशव, फसाइहाल्यो नि ! आवरको होइन, नाइट क्वीनले त पूरा रातको कुरा गरी । के गरौँ ? नखाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छा बाउको अनुहार । केटाहरुलाई छाडेर जाउँ भने भोलिदेखि मलाई गाली गर्नेबाहेक यिनीहरुले अरु कामै पाउँदैनन् । नजाउँ भने, बियरले सितन मागेर हैरान छ ।

‘प्लीज लेट मि थीङ्क ।’ एड्भालाई जवाफ दिएर म केटाहरुतिर गएँ । पुल हाउसनजिकै पुगेको थिएँ, मलाई कसैले बोलाएजस्तो लाग्यो । टक्क रोकिएँ, ध्यान दिएर सुनेँ । ‘एक्स्क्युज मी, क्यान यू सो यर पासपोर्ट प्लीज’ कसैले मसँग पासपोर्ट मागिरहेको थियो । मैले कुनै प्रतिक्रिया जनाइनँ । म अघि बढी नै रहेँ । अचानक कसैले मेरो कुममा हात राखेर हल्लायो र फेरि बोलायो, ‘हेल्लो सर ।’ म झस्किएँ । प्रहरी रहेछ । हतार–हतार झोलाबाट पासपोर्ट निकालेर देखाएँ । ‘थ्यांक यू एण्ड सरी फर डिस्टर्ब’ उनीहरु हिँडे ।

म पुल हाउसतिर लम्किन खोज्दै थिएँ, अगाडि केहीमा ठोक्किएँ । नियालेर हेरेँ, गाडीको सिट रहेछ । ओ गड ! म त बसमा यात्रारत रहेछु । साथीहरु, बियर, पुल, एड्भा सबै सपना थियो ? कति आनन्ददायी सपना देखिरहेको थिएँ । म हैरान भएँ । प्रहरीलाई पनि यतिबेलै मुन्टिनुपर्ने ? मनमनै मुरमुरिएँ ।

अघिल्लो दिन झापाकी प्रिया सुवेदी भन्ने साथीको बर्थ डे थियो । राति अबेरसम्म नाचगान गरियो । अर्कोतिर पढाइ र कामको थकानले म कतिबेला निदाएँ पत्तै पाइनँ । जे होस्, मेरो लागि त्यो सपना विशेष थियो ।

मेरो छेउमा जर्मन साथी फ्रेडरिच बसेको थियो । मभित्रको उकुसमुकुस सायद उसले महशुस गर्यो । ‘के भयो ?’ उसले सोध्यो । ‘केही होइन’ मैले जवाफ दिएँ । ‘तिमिलाई म अन्कम्फर्ट देखिरहेको छु, के भयो भन मन हल्का हुन्छ,’ उसले कहर गर्यो । मैले सपनाबारे भनेँ । ‘सपना देख्यौ, अब भुलिदेऊ, त्यसलाई सम्झेर उत्साहित हुनु वा निराश हुनुको कुनै औचित्य हुँदैन,’ उसले सान्त्वना दियो । ‘फ्रेडरिच, मलाई सपनाले कुतकुत्याएको बिलकुल होइन,’ मैले भनेँ, ‘मलाई त त्यो नामले चलाइरहेको छ, जुन नामसँग मेरो गहिरो नाता छ ।’ यस्तो उत्तर पाएपछि ऊ चुप लागेर बस्नेवाला थिएन । सोधिहाल्यो, ‘तेलअभिव आउन अझै ४० किलोमिटर छ, कृपया मलाई त्यो नामसँगको नाताबारे प्रष्ट्याउ ।’ भन्दिनँ भने पनि उसले अब मलाई धर दिँदैन ।

अमनुमस्थित मिरियम शोहम इजरायलको एउटा चर्चित थोक उत्पादक कम्पनी हो । उक्त कम्पनीमा म नेपाली विद्यार्थीहरुको सुपरभाइजर थिएँ । त्यही कम्पनीमा अरबीहरुको सुपरभाइजरका रुपमा कार्यरत थिइन्, डच गर्ल एड्भा सुफानी । पहिलो दिन उनले नै मलाई आँप प्याकिङ गर्न सिकाएकी थिइन् । कलेजको फी तिर्नका लागि हामी त्यहाँ काम गथ्र्यौँ । सुरुमा अलि ढंग नपुग्दा एड्भाले मलाई सिकाउँथिन् र मैले अरुलाई ।

निकै सुन्दर थिइन् एड्भा । हाइटमा धेरै अग्ली नभए पनि उनको शारीरिक बनोट निक्कै आकर्षक थियो, टपक्क मिलेको सबैतिर । उनको पहिरन पनि शरीरमा मिल्ने र सुहाउँदो हुन्थ्यो । गाजलले पोतिएका ठूला–ठूला आँखा, हल्का लिप्स्टीक पोतिएको गुलाबी ओठ । नाक हल्का चुच्चो चुच्चो थियो । कान, कन्सिरीका छेउ र गालामा हल्का कैलो कैलो रौँ, हाम्रोतिरका बाहुनीजस्तो । गोरी थिइन् उनी । निधारमा सानो आकारको कालो टिका लगाउने गर्थिन् । गोरो चेहेरामा त्यो टिकाले उनलाई स्वर्गकी अप्सराजस्तै देखाउँथ्यो ।

बोल्दा उनी सभ्यताको विशेष हेक्का राख्थिन् । कसैलाई बिजाएर भनेको मैले कहिले सुनिनँ । बरु कसैले बिजाएर भनिहाल्यो भने चुप लागेर हिँड्ने गर्थिन् । सायद घरमा गएर रुन्थिन् कि ! नभए पनि किन मैले प्रतिवाद गरिनँ भनेर पक्कै धिक्कार चाहिँ मान्थिन् । मलाई काम सिकाए पनि उनीसँग मेरो विशेष हिमचिम भने थिएन ।

हामी बोल्न थालेको त्यही दिनबाट हो जुन दिन मैले उनको पोसाक र सुन्दरताको एउटै शब्दमा तारिफ गरिदिएँ दिल खोलेर । साथीहरु घर गइसकेका थिए । रिपोर्ट बुझाउनुपर्ने भएकाले ६ बजे साँझसम्म म कम्पनीमै थिएँ । मलाई थाइहरुको सुपरभाइजरले पुर्याइदिनेवाला थियो । मबाट पास भएर उनी अफिसतिर जाँदै थिइन् । हुन त मैले उनलाई दिउँसो नै देखिसकेको थिएँ । तर, नजिक आएपछि चुप लागेर बस्नै सकिनँ । हुन पनि गोरी मान्छे कालो पेन्ट र त्यस्तै टिसर्टमा सार्है क्युट देखिएकी थिइन् । ‘वाह !’ उनले मतिर हेरेका बेला मैले प्रतिक्रिया दिएँ । उनी मन्द मुस्कुराइन्, टक्क रोकिइन् । ‘के भयो’ सायद आफ्नो प्रशंसा अझै गरिदेओस् भन्ने चाहाना उनमा थियो । ‘तिमि साँच्चै राम्री छौँ’ मैले उनको चाहानाअनुसार थपिदिएँ प्रशंसाका शब्द । ‘धन्यवाद’ हल्का लजाएकी उनी अघि बढिन् । उनी अघि बढ्दा मैले उनको ब्याक हेरेँ । वाह ! साँच्चै कमाल । त्यो दिन हामी आ–आफ्नो अपार्टतिर लाग्यौँ ।

अपार्ट पुगेपछि मैले उनको याद गरेँ । कति सुन्दर, सभ्य केटी । म मज्जासँग लोभिएको थिएँ उनको रुप र व्यवहारबाट । म उनलाई मन पराउन थालेको थिएँ । शनिबार बिदा बस्दा पनि उनकै झझल्को आइरहन्थ्यो । मलाई कुनै पनि सुन्दर केटीको रुपले त्यति तान्न सकेको थिएन जति एड्भाले तानेकी थिइन् । उनको अगाडि मलाई कुनै अरु युवती आँखा लाग्न छाडेको थियो ।
तर, उनलाई प्रेमजालमा पार्न त्यति सजिलो कहाँ थियो र ! एड्भासँग चिनजान भएको केही दिनपछि क्यान्टिमा सहकर्मीबीच ख्यालठट्टा भइरहेको थियो । मित्र मनोजले केटी पट्याउन निकै चुनौतीपूर्ण रहेको बताए । ‘केटी कागज हो र पट्याउन ?’ अर्की साथी निर्मलाले च्यालेन्ज गरी ‘सोझी साझी देखेपछि जसले पनि पट्याउँछ, अलि क्युट र बाठी केटी पट्याउने पो स्मार्ट हो ।’ उसले मतिर हेरेर यो कुरा भनेकी थिई । किनकी, केही समय अगाडि उसले फेसबुकमा फोटो देखाउँदै प्रेममा पार्न असम्भव भनेकी केटी मेरो पूर्व प्रेमिका भएको कुरा थाहा पाएकी थिई । ‘दिमाग र लक भयो भने गार्हो छैन’ मैले भनेँ । त्यही समय एड्भा हाम्रैसामु क्यान्टिनबाट बाहिर निस्कँदै थिइन् । औँलाले एड्भालाई देखाउँदै निर्मलाले भनी, ‘ल सक्छौ भने एड्भालाई पट्याएर देखाउ त !’ त्यतिमात्रै हो र ? उसले एड्भालाई बोलाएर पनि यो कुरा सुनाइदिई । अब एड्भालाई मैले मन पराउँछु भने पनि उनले पत्याउनेवाला थिईनन् ।

त्यो धेरै अगाडिको कुरा थियो । अब म बद्लिएको छु, यो कुरा एड्भालाई भन्नु थियो । तर, कसरी ? कुनै उपाय लगाए पनि उनमा संशय रहन्थ्यो नै ।
एकदिन क्यान्टिनको फस्ट फ्लोरमा कफी पिउँदै एक्लै बसेकी थिई । ‘आज बादल लागेको छ, तर पानी चाहिँ पर्दैन होला ।’ बोल्ने बाहानासहित म उनको छेउमा गएर बसेँ । ‘पानी त पर्छ, पर्नै लागिसक्यो,’ उनले मेरो कुरामा असहमति जनाइन् । ‘होइन, कालोमैलो भएको निकै बेर भयो, पर्ने भए अघि पथ्र्यो पानी अब पर्दैन, हेर्दै जाउ एकछिनमा घाम लाग्छ ।’ लजिकल नभए पनि मैले फोरकास्ट अनुमान गरेँ ।

उनले मेरो अनुमान पूरा नहुने दाबी गरिन् । मैले च्यालेन्ज गरेँ । उनले स्वीकार गरिन् । ‘जित्यौ भने तिमिले जे भन्छौ, म त्यही मान्छु, मैले जितेँ भने मैले जे भन्छु त्यो मान्नुपर्छ ?’ मेरो च्यालेन्ज । ‘डन’ उनले स्वीकारिन् । संयोग मान्नुपर्छ, त्यसको केही समयपछि टन्टलापुर घाम लाग्यो । तर, उनी त्यतिबेला घर गइसकेकी थिइन् ।

बेटिङ जिते पनि मैले उनीसामू आफ्ना कुनै चाहाना प्रकट गरिनँ । केही दिनपछि बरु उनले नै भनिन्, ‘तिमिले बेटिङ जितेका थियौ, के भन्छौ ?’ मैले भुलेजस्तो भावमा भनेँ, ‘ओ हो ! म भोलि भन्छु ।’

भोलिपल्ट उनी अरुबेलाभन्दा अझै राम्री भएर आएकी थिइन् । सायद फेस गर्ने विचारमा । मैले उनीसामु गएर भनेँ ‘म तिमिसँग बाहिर गएर एक कफ कफी खान चाहान्छु ।’ ‘हा हा कफी खान किन बाहिर जानुपर्यो, यही खाउँ न क्यान्टिनमा, के भन्छौ ? हाँस्दै उनले सोधिन् । म चुप लागेँ । पछि उनले स्वीकार गरिन् र बाहिर एउटा क्याफेमा गएर हामीले कफी माग्यौँ । उनीसँग कम्पनीबाहिर वान एन्ड वान बसेको पहिलो दिन थियो त्यो । हामीबीच धेरै कुरा भएन । किनकि, उनी लजालु स्वाभावकी थिइन्, मैले जति बोले पनि उनले मुन्टो हल्लाउनेभन्दा अरु प्रतिक्रिया जनाइरहेकी थिइनन् । मेघ गर्जनको आवाज आयो । तर, घाम लागिरहेको थियो । ‘पानी पर्ने भो, हामी उठौँ ।’ मैले भनेँ । ‘घाम लागिरहेको छ, कसरी पर्छ पानी ?’ उनले प्रश्न गरिन् ।
‘हेर्दै जाउ’ मैले भने, ‘कि बेटिङ राख्ने हो ?’ मैले हाँस्दै सोधेँ । ‘तिमि चाहन्छौ भने राख्ने’ उनले जवाफ दिइन् ।

‘ल पानी पर्यो भने तिमिलाई म लामो दूरीको यात्रामा डेट लैजान्छु । परेन भने तिमिले जे भन्छौ त्यही मान्छु ।’ यसअघिको शर्तलाई थोरै सशोधन गरेँ । उनले हुन्छ भनिन् । हामी तल झर्दाझर्दै घाम लुकिसकेको थियो भने आकाशमा कालो बादल मडारिँदै थियो । त्यो हेरेर एड्भा मुस्कुराउँदै मलाई हेर्दै थिइन् । हामी कम्पनी पुग्दा नपुग्दै पानी पर्यो । म हासेँ, उनी लजाइन् हल्का ।
बाजीबारे बहस गर्न अब हामी भेट गरिरहनुपर्ने थिएन । मैले उनको मोबाइल नम्बर जो मागिसकेको थिएँ । ‘तिम्रो नम्बर कति हो मलाई देउ त, म तिमिलाई २ बजे राति फोन गर्छु ।’ कफी खाँदै मैले यसोभन्दा उनी आश्चर्यचकित भइन् र सोधिहालिन्, ‘ओ गड २ बजे राति नै किन ?’ मैले मजाक गरेको जवाफ दिएँ । अब सायद उनले मलाई नम्बर दिएको कुरा भुल्ने छैनन्, म दंगिएँ ।
त्यो दिनदेखि हामी राति पनि कुरा गर्न थाल्यौँ । म टाढा डेट जान शर्तमा विजयी भइसकेको थिएँ । केही समयपछि हामी डेट गयौँ । हामीबीचको सम्बन्ध झाँगिदै गयो । एड्भा मेरो जीवनको पहिलो युवती बन्न पुगिन् जसलाई म हृदयदेखि नै चाहान्थे र आफूलाई भन्दा बढी माया गर्थेँ ।

उनी काममा नआउँदा म निराश हुन्थेँ । उनको एकदिन कल नआउँदा हतास हुन्थेँ । म यति अघि बढिसकेको थिएँ कि मैले भूगोल, संस्कृति र परिस्थितिलाई भुलिसकेको थिएँ । म पहिलो पटक कुनै केटीसँग यति खुसी छु । यो मेरो जीवनको अविष्मरणीय सम्बन्ध हो ।

सामान्य कुरामा एक दिन एड्भासँम मेरो झगडा पर्यो । हामी एकहप्तासम्म बोलेनौँ । एक हप्तापछि उनले नै बोलाइन् । केही समयपछि फेरि त्यस्तै ठ्याकठुक पर्यो । म बोल्न छाडेँ । यो पटक पनि उनले नै बोलाइन् । सायद म अलि बढी पुलपुलिएको थिएँ ।

एकदिन उनले मसँग सोधिन्, ‘तिमि किन यस्तो छौ, आफैँ झगडा गर्छौ अनि आफैँ बोल्दैनौँ ?’ मैले जवाफ दिएँ, ‘मेरो सेल्फ रेस्पेक्टका कारण’ सायद दिन नहुने उत्तर दिएँ मैले । ‘ए भनेपछि मेरो चाहिँ कुनै सेल्फ रेस्पेक्ट छैन,’ उनले प्रतिवाद गरिन् ‘म त्यस्तो चिपजस्तो लाग्छ ।’ उनी त्यहाँबाट हिँडिन् ।

करिब एक महिना हाम्रो बोलचाल बन्द भयो । हामी इमोका कारण बोल्न बाध्य हुन्थ्यौँ । जे भए पनि माया गरेको मान्छे, लास्ट सीन त चेक गरिन्छ नै । प्राय इमोमार्फत कुराकानी हुन्थ्यो । याद आउँदा पहिले भएका कुराकानी हेरिन्थ्यो । फेरि इमोमा जता दाबीए पनि कल गइहाल्ने । कहिले उनी झुक्किने कहिले म । यसरी हामी नजिकिन्थ्यौँ ।

एकदिन मैले उनीसँग जिस्कँदै विवाहको प्रस्ताव गरेँ । ‘के तिमी मसँग विवाह गर्छौ ?’ मैले सोधेँ । ‘पागल भयौ ? अहिले विवाह ?’ उनको यस्तो जवाफ आएपछि उनको कुरा बुझ्न थप बोलेँ, ‘समस्या के छ, तिमी आँट अरु म पुर्याउँछु ।’ उनले आफू अलग समुदाय, भूगोलको भएकाले विवाह गर्न नसक्ने जवाफ दिइन् । तर जीवनभरी माया गरिरहने बाचा गरिन् ।

मैले उनको कुरा बुझिनँ । विवाह नगरौँ भन्दा मन कता कता दुख्यो । जिन्दगीमा पहिलो प्रेम त्यो पनि अधुरो । म घरतिर लागेँ । त्यो दिन साँझ कुराकानी भएन । न उनले गरिन् न मैले । भोलिपल्ट उनले इमो आफ्नो मोबाइलबाट डिलिट गरिछन् । मैले इमोमा कल गर्दा नलागेपछि मोबाइलमा गरेर यसबारे सोधेको थिएँ । उनले मोबाइलमा स्टोरेज फुल भएकाले डिलिट गरेको कुरा सुनाइन् । हामीलाई क्लोज बनाउने इमो नै डिलिट गरेपछि चाहिँ साँच्चै मन दुख्यो । मानौँ, मेरो प्रेम चाहिँ त्यो इमोसँग थियो । त्यसपछि मैले उनीसँग कुरा गर्न छाडिदिएँ । केही समय उनले मसँग कुरा गर्ने प्रयास गरिन् । तर, मेरो इगो नसक्नुकै छ । त्यस्तो माया गरेकी एड्भालाई मैले मनबाट निकाल्न नसके पनि दबाएर राखेँ । तर, मेरो मनमा उनीप्रतिको माया अपरम्पार नै छ । सधैँ माया गर्छु म उनलाई । सायदै त्यसैले सपनामा पनि उनको नाम आइरहन्छ मलाई झस्काउन । यति भन्दै गर्दा मेरा आँखा आँसुले टिल्पिलाइसके छन् ।

‘अनि अहिले एड्भा कहाँ छिन् त ?’ फ्रेडरिचले प्रश्न गर्यो । ‘तेलअभिव मै छिन्, हामी बस्ने अपार्ट नजिकै’ मैले जवाफ दिएँ । ‘के उसले विवाह गरी’ फेरि उसले प्रश्न गर्यो । मैले भनेँ, ‘छैन’ । ‘कुनै बाइफ्रेन्ड ?’ अर्को प्रश्न गर्यो । ‘सायद तर म कन्फर्म छैन ।’ मैले जवाफ दिएँ ।

‘मलाई एकपटक भेट गराऊ’ फ्रेडरिचले कठिन माग राख्यो,’ आखिर हामी त्यहीँ जाँदैछौँ, मलाई एकपटक भेटेर कुरा गर्ने मौका मिलाउदेऊ, कृपया’ मैले आफू जान नचाहने कुरा जाहेर गरेँ । सायद उसले कुनै फिल्म कल्पना गर्यो र हिरो हिरोइनलाई मिलाउने प्रण पनि । ‘हेर फ्रेडरिच, म यहाँ स्टेज कार्यक्रमको होस्टका रुपमा आएको हुँ, कुनै रोमियोको रुपमा होइन, म जान सक्दिनँ ।’ उसले जबरजस्ती गरेपछि मैले आफू नजाने तर एड्भाको अपार्ट देखाइदिने बाचा गरेँ । अब ऊ जाँदै थियो एड्भालाई भेट्न सायद मेरो खबर सुनाउन र हामीलाई मिलाउन ।

अब के हुन्छ ? बाँकी अंश अर्को शनिबार

एड्भाको भाग १ पढ्न यहाँ क्लीक गर्नुस् :

 

प्रकाशित समय : १४:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु