गृहपृष्ठ चामल बुझ्दै राउटे मुखियाले भने– एक ठाउँमा बस्न सकिँदैन
चामल बुझ्दै राउटे मुखियाले भने– एक ठाउँमा बस्न सकिँदैन
नेपालीहरूको मुख्य चाड दसैं अाउनै लाग्दा जंगलका राजा राउटेले पनि चामल पाएका छन् । जंगलमा कन्दमूल खोजेर जीवन निर्वाह गर्ने राउटेले मिठो खाने, राम्रो लाउने चाड दसैंको मुखमा चालम पाएपछि दंग छन् । शुक्रबार राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान केन्द्रले राउटे बस्तीका लागि करिब साढे १२ क्विन्टल चामल वितरण गरेको हो ।
तुल्सीपुर उपमहानगरपालिका–५, दाङको सहयोगमा राउटे बस्तीमा चामल वितरण गरिएको प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्का (अधिकारी) ले जानकारी दिइन् । लेकबेंसी नगरपालिका–१०, चौरासेमा रहेका ४२ घरधुरी राउटेलाई चामल वितरण गरिएको हो ।

यसअघि, गुराँस गाउँपालिकाले असार ३१ गते ४२ घरधुरीका एक सय ४९ राउटेलाई स्थायी परिचयपत्र दिएको थियो । तर, तीन महिना नपुग्दै राउटेहरु गुराँस गाउँपालिका–८, दैलेख छाडेर चौरासे सरिसकेका छन् ।
राउटे बस्तीका लागि चामल बुझ्न आएका राउटे मुखिया दिलबहादुर शाहीले ‘राउटेको घर छैन, रोटीको टाउको छैन, आइमाईको जात छैन’ भन्दै एकै ठाउँमा घर बनाएर कुनै पनि हालतमा बस्न नसक्ने बताएका छन् । ‘पुर्खादेखि चलिआएको चलनलाई हामी छोड्दैनौं, त्यसैले दैलेखबाट सुर्खेत झरेका हौं,’ उनले भने ।
राउटेकी भान्जी भनेर चिनिएकी प्रतिष्ठानकी अध्यक्ष खड्का लामो समय राउटेसँगै काम गर्दै आएकाले उनीहरुले आफूलाई बढी विश्वास गर्ने बताइन् । ‘मैले २०६३ सालदेखि राउटेका हरेक सुखदुःखमा साथ दिएकी छु,’ उनले भनिन्, ‘पहिले त उनीहरु मलाई पनि विश्वास गर्दैनथे, लामो संघर्षपछि मलाई विश्वास गर्न थालेका छन् ।’
राउटेलाई सरकारले गाँस, बास र कपासको पूर्ण ग्यारेन्टी गर्न सक्छ भने स्थायी बास बसाल्न सक्ने दाबी खड्काले गरिन् । प्रतिष्ठानसँग पैसा नभए पनि राउटेका लागि विभिन्न निकायसँग हात थाप्दै उनीहरुको भोको पेट भर्दै आएको उनले बताइन् ।
प्रकाशित समय : १६:५८ बजे



















