global ime bank Long Banner Ad

गृहपृष्ठ एसियन च्याम्पियनसिप खेलेर फर्कियो टोली

एसियन च्याम्पियनसिप खेलेर फर्कियो टोली

एसियन च्याम्पियनसिप खेलेर फर्कियो टोली

भारतको आगरामा आयोजित एसियन यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली स्वदेश फर्किएको छ । प्रतियोगिताको ४६औं संस्करण सकिँदा पहिलोपटक सहभागी भएको नेपाली टोली आगराबाट नयाँ दिल्ली, बागडुगरा हुँदै पूर्वीनाका काँकडभिट्टाबाट आइतबार राति विराटनगर आइपुगेको हो ।

प्रतियोगिताका लागि २० खेलाडीसहित २८ सदस्यीय टोली असोज ४ गते भारत गएको थियो । प्रतियोगितामा नेपाल छैटौं बनेर फर्किएको छ । टोलीले सोमबार बिहान विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको अनुभव र उपलब्धिबारे जानकारी गराएको छ ।

नेपाली टोलीका व्यवस्थापक एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य रुपेश अधिकारीले उपाधि रक्षा गर्ने प्रबल सम्भावना हुँदाहुँदै नेपाली टोली पछि परेको बताए । ‘सम्भावनाका बीचबाट हामी छैटौं बनेर फर्किएका छौं,’ उनले भने, ‘पहिलोपटक सहभागी भएका कारण पनि यो पोजिसनलाई राम्रै उपलब्धिका रुपमा लिइएको छ ।’

नेपाली टोलीभन्दा अन्य मुलुकबाट सहभागी भएका टिम सबै हिसाबमा मजबुत रहेको उनले दाबी गरे । अधिकारीले आयोजकले रेफ्री छनोटमा ध्यान पुर्याउन नसक्दा नेपाल पछि पर्नुपरेको बताए । ‘हामी पनि एक हिसाबको तयारी गरेर गएका थियौं । अन्य टोली ठूलो तयारीका साथ आएका थिए,’ उनले भने, ‘तर आयोजकले फुटबललाई बुझ्दै नबुझेका रेफ्री छनौट गरिदिँदा उपाधिबाट वञ्चित हुनुप¥यो । यसलाई हामीले व्यवस्थापकीय कमजोरीका कारण पछि परेको रुपमा लिएका छौं ।’

अधिकारीले खेल खेलाउने क्रममा रेफ्रीले गर्ने निर्णयमाथि आपत्ति जनाउँदै आयोजकलाई प्रतियोगितामा सहभागी अन्य देशले पनि गुनासो पोखेको जानकारी दिए । ‘थाइल्यान्ड, इन्डोनेसिया, भारत, चीन जस्ता प्राविधिक रुपमा बलिया मुलुकविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ,’ उनले भने, ‘तर रेफ्रीको गलत निर्णयको सिकार बन्नु पर्यो ।’

रेफ्रीकै कारण सुरुवातदेखिकै खेल गुमाउँदै गएको उनको भनाइ छ । प्रतियोगिताका लागि अन्य देशले गरेको तयारी नेपालको भन्दा धेरै उत्कृष्ट रहेको भन्दै उनले नेपालका लागि भने तयारी यथेष्ट नभएको बताए । ‘सबै हिसावबाट उत्कृष्ट रहेका देशसँग खेलेर नेपालले सिक्ने अवसर पायो,’ अधिकारीले भने, ‘नेपालले त्यो स्थितिमा पुग्न धेरै मेहनत गर्नुपर्ने देखियो ।’

प्रतियोगितामा सहभागीमध्ये थाइल्यान्ड, इन्डोनेसिया र चीनसँग नेपालको मैत्रीपूर्ण खेल आयोजना गर्नका लागि वातावरण बनाउन तयारी थालिएको जानकारी उनले दिए । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले भने, ‘प्रतियोगिताका लागि आयोजकले प्रत्येक देशबाट फिफा रेफ्री मगाएको थियो । नेपालबाट मात्रै फिफा रेफ्री गएको पायौं । अरु देशबाट फिफा रेफ्री नै आएनछन् ।’

उनले आवश्यक परीक्षा लिएर उपयुक्त रेफ्री प्रतियोगिता खेलाउन छनौट गरिनुपर्नेमा आयोजक त्यसमा पनि चुकेको बताए । श्रेष्ठले परीक्षा लिँदा प्रायः सबै रेफ्री फेल हुने भएकाले परीक्षा नलिइकन सहभागी सबै रेफ्रीलाई खेल खेलाउने अवसर दिएको जवाफ आयोजकबाट आएको बताए । ‘थाइल्यान्ड र इन्डोनेसियासँगको खेल रेफ्रीकै गलत निर्णयका कारण गुमाउनुप¥यो,’ उनले भने, ‘रेफ्रीले एकपक्षीय खेल खेलाइदिँदा हामीलाई घाटा भयो ।’

उनका अनुसार नेपालले डिबक्सबाहिर फल गर्दा अरुलाई पेनाल्टीको अवसर दिइयो भने अरुले डिबक्सभित्र फल गर्दा नेपाललाई भने फ्रिकिकको मात्रै अवसर दिइएको थियो । श्रेष्ठले खेलभरि आफ्नो निर्णयमा रहन नसक्नु रेफ्रीको कमजोरी रहेको बताए । उनले भने, ‘रेफ्रीले सही निर्णय गरिदिन सकेको भए नेपालले फाइनल खेल्ने कुरामा कुनै दुई मत थिएन ।’

श्रेष्ठले विराटनगरमा एक महिनासम्म गरिएको बन्द प्रशिक्षण लाभदायक भएको पनि बताए । उनले विराटनगरको मौसम प्रतियोगिता आयोजना स्थलको मौसमसँग मिल्दोजुल्दो भएकाले खेलाडीलाई सहज भएको पनि बताए । आगामी दिनमा पनि कुनै प्रतियोगितामा सहभागिता जनाउन जानुअघि मौसम अनुकूलको बन्द प्रशिक्षण गर्न गराउन सकियो भने त्यसले फाइदा पुग्ने उनको भनाइ छ ।

नेपाली टोलीका कप्तान दिनेश हेन्जनले सोचेभन्दा राम्रो प्रदर्शन गरिएको बताए । ‘सबै टिमसागको खेल एकदम नै प्रतिस्पर्धात्मक भयो,’ उनले भने, ‘नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय खेलको अनुभव लिने मौका पनि मिल्यो ।’ हेन्जनले नेपाली टोलीले अपेक्षा गरेभन्दा उत्कृष्ट प्रदर्शन गरे पनि उपाधिबाट विमुख हुनुपर्दा भने दुःख लागेको बताए । आगामी दिनमा यसरी नै मौका दिँदा नेपाली खेलाडीले अरु मुलुकमा गएर सिक्ने र खेल कौशल बढाउने अवसर पाउने उनको भनाइ छ ।

प्रतियोगितामा थाइल्याण्ड, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, आयोजक राष्ट्र भारत, नेपाल, चीन, श्रीलंका, भुटान र अफगानिस्थान गरेर १० वटा देशको सहभागिता थियो । थाइल्यान्ड विजेता र इन्डोनेसिया उपविजेता बन्यो ।

प्रकाशित समय : १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु