गृहपृष्ठ नगरकोट जाने पर्यटकलाई दोहोरो पर्यटन शुल्क
नगरकोट जाने पर्यटकलाई दोहोरो पर्यटन शुल्क
भक्तपुर र काभ्रेको सिमानामा पर्ने अन्तर्राष्ट्रिय पर्यटकीयस्थल नगरकोट जाने बाह्य देशका पर्यटकले अब दोहोरो कर तिर्नुपर्ने भएको छ । भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय नहुँदा दुवै नगरपालिकाले आ–आफ्नो नगरका तर्फबाट पर्यटन शुल्क उठाउने भएपछि दोहोरो कर तिर्नुपर्ने भएको हो ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाले आव २०७४/७५ मा ५१ लाख रूपैयाँमा नगरकोट जाने पयर्टकसँग प्रवेश शुल्क उठाउन ठेक्कामा दिएपछि दुई नगरपालिकाबीच पर्यटन शुल्कका विषयमा विवाद हुँदै आएको थियो । चाँगुनारायण नगरपालिकाले आव २०७५/७६ को लागि तीन करोड २५ लाखमा ठेक्का दिएपछि चाँगुनारायण नगरपालिका-६, तेलकोट र वडा नम्बर ८ को कलमसीमा बसेर पर्यटकसँग शुल्क लिँदै आएका छन् । जसमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर जानेबाटोमा समेत ठेकेदारले शुल्क उठाइरहेका छन् ।
यसबारेमा चाँगुनारायणका नगरप्रमुख सोम मिश्रले नगरकोटको विकासमा दुई नगरपालिकाबीच समन्वय गरेर अघि बढ्ने बताउँदै पर्यटकलाई दोहोरो करको मारमा नपार्ने व्यवस्थाका लागि छलफल गरिने बताए ।
यता, काभ्रेको मण्डन देउपुर नगरपालिकाले पनि चालू आवबाट नगरकोट जाने पर्यटकसँग प्रवेश शुल्क लिने सूचना जारी गरेको छ । नगरपालिकाले २०७५/७६ का लागि नगरपालिकाअन्तर्गत नगरकोट क्षेत्रभित्रका काभ्रेचोक, भ्युटावर चोक र कात्तिके क्षेत्रमा आउने विदेशी पर्यटकसँग प्रवेश शुल्क उठाउने ठेक्का आह्वान गरेको छ ।
उक्त सूचनामा बोलपत्र स्वीकृत भएका फर्म वा कम्पनीले सार्क राष्ट्रबाहेकका विदेशी पर्यटकसँग प्रति तीन सय र सार्क राष्ट्रभित्रका दुर्इ सय (करबाहेक) प्रतिपर्यटक प्रवेश सेवा शुल्क उठाउन पाउनेछन् । चाँगुनारायण नगरपालिकाले ठेक्का दिएको ठेकेदारले पनि सोही दरमा शुल्क उठाइरहेका छन् ।
काभ्रेको मण्डन देउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइबाले भूगोलको हिसाबले नगरकोट आउने ८० प्रतिशत पर्यटक काभ्रे मण्डन देउपुर प्रवेश गर्ने बताउँदै नगरकोटमा बसपार्क निर्माण, सार्वजनिक शौचालय निर्माण र अन्य पूर्वाधार विकासका लागि दुवै नगरपालिकाले लगानी गर्नभन्दा चाँगुनारायणले नमानेको बताए ।
उनले भने, ‘गत वर्ष दुवै नगरपालिकाको एकीकृत कर उठाउनेभन्दा एक्लै शुल्क उठाए, यस वर्ष पनि छलफल गर्न खोज्दा चाँगुनारायणले एक्लै ठेक्का लगायो, त्यसपछि होटल व्यवसायीकै सल्लाहमा हामीले पनि ठेक्का लगायौं ।’ मण्डन देउपुर नगरपालिकाले भने एक करोड ३० लाखमा ठेक्का लगाएको उनले जानकारी दिए ।
तत्कालीन बालुवापाटी देउपुर गाविस अध्यक्ष एवं पर्यटन व्यवसायी राधाकृष्ण बस्ताकोटीले दोहोरो कर लगाउँदा नगरकोटको भविष्य नै अन्योल हुने बताउँदै दुवै नगरपालिकाबीच समन्वय गरेर एकीकृत कर लगाएर नगरकोटको भौतिक विकासको लागि लगानी गर्नुपर्ने बताए ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव धनबहादुर लामाले नगरकोट जाने मुख्य सडकका रुपमा रहेको कमलविनायक नगरकोट सडकको अवस्था निकै कष्टकर रहेको बताउँदै दोहोरो पर्यटन शुल्कले पर्यटन व्यवसायीलाई मार पार्ने बताए ।
यहाँका व्यवसायीले राज्यलाई कर तिरेपछि सुविधा नपाएको गुनासो गर्दै उनले नगरकोटमा फोहर व्यवस्थापनसमेत चुनौती बन्दै गएको अवस्थामा सूर्योदय, सूर्यास्त र हिमाल हेर्नमात्र आउने पर्यटकको बसाइ लम्ब्याउने र विकास गर्ने मामिलामा दुवै नगरपालिका मौन रहेको बताए ।
(रासस)
प्रकाशित समय : १६:४६ बजे



















