आइएमई डिजिटल र सिभिल बैंकबीच सम्झौता
वि.सं.२०७५ मंसिर १९ बुधवार २०:३०
shares

आइएमई ग्रुपद्वारा प्रवर्धित ‘आइएमई डिजिटल’ र सिभिल बैंक बीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई डिजिटलका प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सोमबार हस्ताक्षर गरे ।
सम्झौताअनुसार सिभिल बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ साझेदार संस्था हुनेछ । बैंकका सेवाग्राहीले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिंक गर्नेलगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवा प्राप्त गर्न सक्नेछन् ।
साथै, सिभिल बैंकका सेवाग्राहीले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आरमार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् । ६ हजारभन्दा बढी एजेन्ट आउटलेट सञ्जाल भएको आइएमई पे, आइएमई समूहअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो ।
























