मुख्यमन्त्री राउत आफैं जुटे सरसफाईमा
वि.सं.२०७५ मंसिर १९ बुधवार २१:२४
shares

राम-जानकी विवाह महोत्सव नजिकिँदै गएकाले जनकपुरमा सरसफाईलाई तिव्रता दिएको छ । आउँदो शुक्रबारदेखि राम-जानकी विवाह महोत्सव औपचारिक रुपमा सुरु हुने भएकाले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनललगायतले बुधवार जनकपुरमा सरसफाई गरेका छन ।
जनकपुरको जनकचौकदेखि राममन्दिर, राजदेवी मन्दिर वरिपरी र गुठी संस्थानको प्राङ्गणलाई मुख्यमन्त्री राउत नेतृत्वको टोलीले सफाइ गरेको छ । मुख्यमन्त्रीको टोलीमा जनकपुर उपमहानगरपालिकाका उपमेयर रिता झा, प्रदेश सांसद परमेश्वर साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कंडेल, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियालगायत जनपथ प्रहरी, नगरपालिकाका सरसफाइ कर्मचारीको साथै विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागी थिए ।

मुख्यमन्त्री राउत हातमा झाडु लिएर तत्कालका लागि विवाह पञ्चमी महोत्सवलाई लक्षित गरेर नै सरसफाइ भइरहे पनि अभियानकै रुपमा अगाडि बढाउनु पर्ने बताए । उनले भने ‘सरसफाई हामी आफ्नो लागि पनि र जनकपुरमा आउनु हुने लाखौं लाख आन्तरिक तथा बाह्य श्रद्धालुहरुको स्वागत गर्न पनि सरसफाई अनिवार्य भएकाले सरसफाईमा प्रदेश सरकार अति नै गम्भीर छ ।’
उनले प्रदेश सरकार विवाहपञ्चमी महोत्सवलाई शान्तिपूर्ण र भब्यताका साथ सम्पन्न गर्न आर्थिकदेखि अन्य प्रशासनिक सहयोग गरिरहेको बताए ।

जनकपुरको पिडारीचोकदेखि रामानन्दचोकसम्म सशस्त्र प्रहरी गण मुजेलियाबाट आएका सशस्त्र प्रहरीले सफाइ गरेका छन । एसपी राजु पाण्डेको नेतृत्वमा शसस्त्र प्रहरीले सफाइ गरेको हो । त्यस्तै पिडारीचोकदेखि बाह्र विघास्थित संकटमोचन मन्दिर र मिल्स एरिया क्षेत्रमा नेपाली सेनाले सरसफाई गरेको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरीबाट आएको नेपाली सेनाको टोलीले सफाइ गरेको हो ।

























