‘वाइड बडी खरिद पक्रियालाई गम्भीरतापूर्वक लिइएको छ’
वि.सं.२०७५ मंसिर २० बिहीवार ००:२९
shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरिदका सम्बन्धमा उठेका प्रश्नप्रति सरकार र मन्त्रालय गम्भीर रहेको बताएका छन् ।
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले समग्रतामा सबै विधि र प्रक्रिया पूरा गरेर जहाज खरिद गरेको देखिए पनि कुन कुरा ठीक थियो, कुन कमजोरी रह्यो भन्नेबारेमा छानविन र अध्ययन भइरहेको जानकारी दिए ।
‘कहीँ कुनै अनियमिता, कमजोरी भएको छ भने सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएर कारवाही गर्नेछ,’ मन्त्री अधिकारीले भने, ‘अध्ययन र छानविन भइरहेको छ, आवश्यकता परेमा उच्चस्तरीय छानविन समिति गठन गरिनेछ, निगमलाई राम्रो गराउने सन्दर्भमा कुन बाटो हिँड्दा उपयुक्त हुन्छ सरकार समितिसग परामर्श गरेर अघि बढ्न तयार छ ।’
पछिल्लो समय तोक आदेशमा निगमका जहाजको टिकट किनबेच हुने प्रवृत्ति हटाइएको, बजार व्यवस्थानमा सुधार ल्याउन कोशिस भइरहेको र समयमा जहाज उडाउने कुरामा निकै ध्यान दिइएको मन्त्री अधिकारीले बताए । ‘नयाँ ल्याइएको वाइड बडी जहाजले जति उडान भर्नु पर्दथ्यो त्यसको आधा समयमात्र उडेको छ, पूरा समय उडेको छैन,’ उनले भने ।
हवाई उडान सम्बन्धमा ३९ देशसँग सम्झौता भए तापनि युरोपियन युनियनले नेपालको जहाज उडानमा कालो सूचीमा राखेका कारण कतिपय मुलुकमा उडान प्रभावित हुँदै आएको उनले बताए । मन्त्री अधिकारीले भने, ‘युरोपियन युनियनलगायतको प्रतिबन्ध हटाउन कूटनीतिकलगायतका माध्यमबाट प्रयास भइरहेकाले मलाई आशा छ, आगामी चैत वैशाखसम्ममा हट्ने छ ।’
आम नागरिकले निकै आशा र भरोसा गरेका व्यक्ति मन्त्री अधिकारीबाट निराशा झल्कने जवाफ आउन हुन्न भन्दै सांसदहरुले पैसा नकमाउने भए निगमले खरीद गरेको जहाजको कुनै औचित्य नरहने तर्क गरे । निगमको वाइड बडी जहाज खरीदमा भएको अनियमिताका सम्बन्धमा हालसम्म गरेको अध्ययनबाट ३८ वटा प्रश्न उब्जेको बैठकमा जानकारी दिइयो ।






















