नक्कली नागरिकता र लाइसेन्स बनाउनेको बिगबिगी
वि.सं.२०७५ मंसिर २९ शनिवार १३:३४
shares

प्रदेश २ मा नक्कली सरकारी कागजात बनाउनेको बिगबिगी बढेको छ । प्रदेश २ का विभिन्न जिल्लामा नक्कली नागरिकता, पैसा खुवाएर सवारी चालक इजाजत पत्र (लाइसेन्स)लगायत कागजात बनाउनेको बिगबिगी बढेको हो ।
बिहीबारमात्रै जिल्ला प्रहरी कार्यालय धनुषाले नक्कली नागरिकता बनाउने चार जनालार्इ सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाको नाममा विगतमा टोलीमार्फत दिइएको नागरिकताको सक्कली फाइल, खाली नागरिकताको पेपर, नागरिकता टोलीको छापसहित दर्जनौं जनाको नाममा जारी गरिएको नेपाली नागरिकता र डेढ लाख रुपैयाँसहित प्रहरीले उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय धनुषाका कार्यालय सहयोगी महावीर मण्डल, जनकपुर उपमहानगरपालिका २० स्थायी घर भएका ३१ वर्षीय रोशनकुमार चौधरी, धनुषाको औरही गाउँपालिका–५ का ४९ वर्षीय गंगा साह र रौतहटको दुर्गा भगवती गाउँपालिका–४ का हेमन्तकुमार पाण्डे रहेका छन् ।
नक्कली नागरिकता दिने गरेको सुराकीका आधारमा रोशनकुमार चौधरीको जनकपुरस्थित डेरामा प्रहरीले छापा मार्दा नागरिकता बनाउन प्रयोग गर्दै आएका सामग्रीसहित उनीहरू पक्राउ परेको प्रहरीको दाबी छ । प्रहरीले उनीहरूको कोठाबाट दर्जनौं नक्कली नेपाली नागरिकता, विवाह दर्ता प्रमाणपत्र, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्र, बसाइँसराइको प्रमाणपत्रसहितका ठेली, सादा नाम नभरेका नेपाली नागरिकता र नेपाली नागरिकतामा टाँसिने हेलोग्राम स्टिकर बरामद गरेको छ ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालयको छाप, प्रशासकीय अधिकृतको छाप, स्थानीय पञ्जिकाधिकारीको छाप, टोली प्रमुखको छाप, नगरपालिकाको छाप, वडाध्यक्षको छाप, मोबाइल एक थान र एक लाख ५३ हजार रुपैयाँ नगदसमेत बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी प्रदिप कँडेलको समेत उपस्थिति थियो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नागरिकतामात्र नभएर अन्य प्रदेशमा लाइसेन्स बनाउन खोज्नेहरू ट्रायलमै फेल भएपछि प्रदेश २ गएर यस्तै गिरोहलार्इ पैसा खुवाएर लाइसेन्स बनाउने गरेका छन् । दलालमार्फत पैसा खुवाएर हेवी सवारी साधनको लाइसेन्स बनाउने गरिएको हो । न्युज कारोबारलार्इ प्राप्त जानकारीअनुसार हेवी सवारी साधनको लाइसेन्स बनाउन दलालले २५ हजारदेखि ५० हजार रूपैयासम्म लिने गरेका छन् ।

























