रामेछाप नगरपालिकाको कामप्रति स्थानीयमा तीव्र असन्तुष्टि
वि.सं.२०७५ पुस ५ बिहीवार २२:२८
shares

नयाँ संवैधानिक व्यवस्थाअनुसार स्थानीय सरकार गठन भएयता केही ठाउँमा विकास निर्माण र जनसरोकारका धेरै काम भएका छन् । जनतामाझ गरेका बाचा पूरा गर्न केही जनप्रतिनिधि अहोरात्र खटेका छन् । केही यस्ता जनप्रतिनिधि पनि छन्, जसलाई आफूले के गर्ने भन्ने राम्रो हेक्कासमेत छैन । उनीहरु कानुनी अवरोध, कर्मचारी अभावलगायतका कारण विकास गर्न नसकिएको बताउँदै आएका छन् ।
कतिपय नगर तथा गाउँपालिकाका जनप्रतिनिधि स्थानीयलाई साथ लिएर काम गरिरहेका छन् । जनप्रतिनिधिले आफ्ना चासो र सरोकारमा ध्यान दिएपछि तत्काल नतिजा नदेखिएका जनता असन्तुष्ट बनेका छैनन् । उनीहरु केही समय पर्खिने र नजिता हेर्ने मनस्थितिमा छन् । तर, केही ठाउँमा भने जनता निकै असन्तुष्ट देखिएका छन् । रामेछाप नगरपालिकाको अवस्था यस्तै छ ।
नगर प्रमुख नरबहादुर थापामगरले चुनावअघि र पछि पनि रामेछाप नगरपालिकामा एक रुपैयाँ भ्रष्टाचार हुन नदिने बताइरहेका छन् । तर, स्थानीय बासिन्दा भने नगरका धेरै क्षेत्रमा अनियमितता भइरहेको भन्दै असन्तुष्ट देखिएका छन् । उनीहरुले जनप्रतिनिधिकै मिलेमतोमा विकास निर्माणका कार्यमा अनियमितता भइरहेको आरोप लगाएका छन् । सबैभन्दा बढी अनियमितता नगर प्रमुख थापामगरकै वडामा भइरहेको हिमगंगाबासी बताउँछन् ।
हिमगंगामा नगर प्रमुख थापामागरकै आडमा नेपाली कांग्रेसका कार्यकर्ताको स्वेच्छाचारिता बढेको स्थानीयको आरोप छ । चुनावअघि ठूला सपना बाँडेका मेयरले चुनावपछि विकासका काम गर्न आग्रह गर्दा उल्टै धम्क्याएको हामबहादुर नेवारले बताए । ‘नरबहादुर थापामगर गणतन्त्रको मेयर त हुनुहुन्छ तर उहाँको व्यवहार पञ्चायत प्रमुखको जस्तो रहेछ,’ आक्रोशित हुँदै उनले भने । नगर प्रमुख पूर्वपञ्च हुन् ।
नगरपालिका र ४ नम्बर वडा कार्यालयले मोटर बाटो निर्माणमा राम्रै बजेट विनियोजन गरेका थिए । तर, वडाअध्यक्ष टुपेन्द्रबहादुर तामाङले नगर प्रमुखको आडमा उपभोक्ता समितिमा समेत आफ्नै कार्यकर्ता राखेर विकासमा अनियमितता गरिरहेको स्थानीयको आरोप छ । कमेरो पानी–स्याउला गाउँ सडक पहिले नै खनेको भए पनि बडा कार्यालयले पछि बजेट विनियोजन तथा निकासा गरेको स्थानीय बताउँछन् । २०७० सालको संसद विकास कोषको पैसाबाट खनेको स्कुल डाँडा– बरबोट गनाउने खोला सडकमा पनि पुनः बजेटिङ गरी आधा काम पनि नभई रकम निकासा गरेको उनीहरुको आरोप छ । गोलढुंगा– छिपिटोल सडक र देउराली– हिमगंगा– तिलबारी सडकमा पनि अनियमितता भएको स्थानीय बताउँछन् ।
नगरपालिकाभित्र शिक्षा क्षेत्रमा पनि भ्रष्टाचार भइरहेको स्थानीयको आरोप छ । वडाका विद्यालयहरुमा भ्रष्टाचार गर्दिन भन्नेहरुबाटै बढी भ्रष्टाचार र अनियमितता भइरहेको स्थानीय सञ्जीव श्रेष्ठले बताए ।
स्वास्थ्यमा पनि अवस्था उस्तै छ । नगर प्रमुखको वडामा दुईवटा स्वास्थ्य संस्था छन् । एउटा नगर प्रमुखकै टोलमा छ भने एउटा अर्को पाटेमा छ । बजेट फ्रिज हुनुभन्दा २० दिनअघि कार्यक्रम सम्झौता गरेर र आफ्ना कार्यकर्तालाई निर्माण समितिमा राखेर जनप्रतिनिधिले अनियमितता गरेको स्वास्थ्य चौकीको भवनका लागि निःशुल्क जग्गादान गरेका हामबहादुर नेवारले बताए । ठेकेदारले इस्टिमेटअनुसारको निर्माण सामग्री प्रयोग नगरी भवन निर्माण गरेको भए पनि रकम निकासा दिएको भन्दै धारापानी स्वास्थ्य इकाइको अध्यक्ष रत्नबहादुर नेवारले विरोध गरेका छन् । स्थानीय युवा अनिल श्रेष्ठले पनि नगर प्रमुख र वडाध्यक्षले सबै कुरा बुझेर पनि नबुझेजस्तो गरी धारापानी स्वास्थ्य इकाइमा राजनीति गरेको आरोप लगाए ।
जनप्रतिनिधिहरुले वर्षौंपहिले देखि विभिन्न संघसंस्थाले सञ्चालन गरेको खानेपानी योजनामा बजेट विनियोजन गरेर सरकारी ढुकुटीबाट कार्यकर्ता पाल्ने काम गरेको भन्दै स्थानीय असन्तुष्ट देखिएका छन् । सात वर्षअघि नै एनजीओले सुरु गरेको धाराखोला खानेपानी योजनालगायतमा कार्यकर्तालाई समितिमा राख्ने र रातारात काम नगरी योजना सम्पन्न गरेको डकुमेन्ट बनाएर रकम निकासा लिएको युवाहरुले बताएका छन् ।
हिमगंगाका युवाहरुले नगर प्र्रमुख थामगरलाई चर्का भाषण गर्नभन्दा काम गरेर देखाउन आग्रह गरेका छन् । नगरक्षेत्रमा स्वेच्छाचारी र अनियमितता हुन नदिन उनीहरुले खबरदारी पनि गरेका छन् । ‘सुन्दा त राम्रो सुनिने कुरा हो– भ्रष्टाचार गर्न दिन्न भन्नु,’ हीरा श्रेष्ठले भने, ‘तर यो व्यवहारमा देखाउनुपर्यो, नत्र मिडियामा मात्र बोल्नुको कुनै तुक छैन ।’
आफ्नो वडामा भइरहेको अनियमिताप्रति कुनै चासो नराखेको र मिडियामा चाहिँ एक रुपैयाँ भ्रष्टाचार गर्दिन भन्नु हास्यासपद भएको स्थानीय सूर्यबहादुर श्रेष्ठले बताए । ‘आफ्ना कार्यकर्ताले गरेको मनपरी रोकेर नगरको विकासमा लाग्न मेयरज्यूलाई हामी सबैको अनुरोध छ,’ उनले भने ।
नगर प्रमुख थापा के भन्छन् ?
नगर प्रमुख थापाले भने नगरका काम कारबाही विधिसम्मत नै भइरहेको जिकिर गरे । ‘मुख्यतः नगर प्रमुखको काम विकास निर्माणतर्फ बजेट विनियोजन गर्ने र नगर सभा बोलाउनेमात्र हो,’ न्युज कारोबारसँग थापाले भने, ‘त्यसबाहेकका काम सम्बन्धित निकायले नै हेर्छ ।’ नगरपालिकाले धेरै काम गरिरहेकाले केही असन्तुष्टि आउनु स्वाभाविक भएको हुनले बताए ।
विकास निर्माणको काम गर्नका लागि अनुगमन समिति बन्ने र प्राविधिकसहितको सोही समितिले काम गरिरहेको हुने उनले जानकारी गराए । ‘त्यसैले कसले के भन्छ, मलाई केही पनि थाहा हुन्न,’ प्रमुख थापाले भने, ‘अनियमितता भएको भन्ने अहिलेसम्म मेरो कार्यालयमा रिपोर्ट आएको छैन, आएको खण्डमा छानबिन गरी कारबाही गर्छु ।’






















