हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जानकी मन्दिर
वि.सं.२०७५ असोज ३१ बुधवार १३:४८
shares

हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जानकी मन्दिर, प्रदेश नम्बर २ को धनुषा जिल्लाको जनकपुरधाममा पर्दछ । जानकीचौकमा अवस्थित जानकी मन्दिरलाई नौलखा मन्दिरको नामले समेत चिनिन्छ । जनकपुरको जानकी मन्दिर नेपालीको आस्थाको केन्द्र मात्रै हैन, छिमेकी राष्ट्र भारतका हिन्दु धर्मावलम्बीको समेत आस्थाको केन्द्र हो ।
जानकी मन्दिर बनाउन भारतकी महरानी वृषभानु कुमारीले सन् १९११ फेब्रुअरीमा सुरु गरेकी हुन् । जनकपुरको मुटुमा रहेको जानकी मन्दिर दुई भागमा निर्माण गरिएको छ । चारैतिर निकै आकर्षक घेरा बनाएर बीच भागमा मुख्य मन्दिर निर्माण गरिएको छ । ४ हजार ८ सय ६० वर्गफिटमा निर्माण गरिएको जानकी मन्दिर ५० फिट अग्लो रहेको छ । मन्दिरको मुख्यद्वार पूर्वतर्फ र सहायकद्वार उत्तरतर्फ रहेको जानकी मन्दिर बनाउन तत्कालिन समयमा ९ लाख खर्च भएकाले नौलखा मन्दिर पनि भनिन्छ ।
जानकी मंदिर जस्तै अन्य मन्दिर निर्माण गर्न खोजिए पनि बनाउन सकिएको छैन । जानकी मन्दिरको गरिमा र सौन्दर्यता कायम राख्नका लागि मन्दिर वरिपरि अग्लो घर बनाउन दिइएको छैन । चुन, खरी, ढुङगाले बनाइएको जानकी मन्दिर बनाउन एक दशकभन्दा लामो समय लागेको जानकारहरु बतउँछन् ।
पौराणिक मान्यता अनुसार जानकी मन्दिर रहेको स्थानमा तत्कालिन राजा जनकको राजदरवार रहेको जनविश्वास पाइन्छ । घनघोर जंगलको रुपमा रहेको जानकी मन्दिर स्थलमा १७ औं शताब्दीका अन्त्यमा मध्य भारतको लोहागढको सिताराम मन्दिरका पुजारी श्री शुरकिशोर दासले मिथिलाको राजधानी जनकपुर खोज्दै आधुनिक जनकपुरधाम रहेको जानकी मन्दिरको स्थानमा आएर यस स्थानलाई पौराणिक मिथिलाका राजा जनकको दरवार रहेको स्थलको रुपमा चिनाएका थिए ।
घनघोर जंगलको रुपमा रहेको जानकी मन्दिर स्थलमा शुरकिशोर दासले झोपडी बनाउँदै राजा जनकलाई भाइ र माता सीतालाई छोरीको रुपमा पुज्ने गर्दथे । घना जंगलमा पुजापाठ गर्न थालेपछि विभिन्न अवसरहरुमा स्थानियहरु पूजापाठका लागि आउन थालेपछि यस स्थानको ख्याती बढदै गएको बताइन्छ । शुरकिशोर दासपछि यहाँका महन्थको रुपमा प्रयागदास भएको बताइन्छ ।
आकर्षक रुपमा सजाइएर बनाइएको यो मन्दिरमा रहेको धार्मिक आस्था र विश्वासले यसको महत्व देश विदेशमा समेत रहेको पाइन्छ । प्रत्येक वर्ष रामजानकी विवाह महोत्सवको अवसरमा जानकी मन्दिरमा स्वदेशी तथा विदेशी भक्तजनको घुइचो लाग्ने गरेको छ । दैनिक हजारौं स्वदेशी तथा विदेशी भक्तजन आउने गरेको जानकी मन्दिरमा भारतका प्रधानमन्त्रि नरेन्द्र मोदीले समेत दर्शन गरेका थिए । भक्तजनहरु जानकी मन्दिरको आकर्षक कला देखेर खुसी भएर जाने गरेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बताए ।
जानकी मन्दिरमा शुरकिशोर दासदेखि लिएर हाल रामतपेश्वर दास गरि १४ जना महन्थ भएका छन । जानकी मन्दिरलार्ई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनका लागि विश्वसम्पदाको सूचिमा राख्ने प्रयास भइरहेको छ । मन्दिरलाई रातको समयमा समेत झिलिमिली र आकर्षक देखिनको लागि आधुनिक विद्युतिकरण गर्ने सरकारको योजना रहेको छ ।
अन्डर ग्राउण्ड समेत रहेको मन्दिरभित्र एक सय भन्दा बढी कोठा छ । मन्दिरमा आकर्षक रुपमा आनुधिक म्युजियम समेत बनाइएको छ । म्युजियममा मन्दिरबारे पौराणिक जानकारीको साथै माता सीताको परिचय खुल्ने गरि विभिन्न सामाग्रीहरु समेत प्रदर्शनीमा राखिएको छ । जानकी प्राङ्गणमा मंदिर, रामजानकी विवाह मण्डप र उत्तर कुनामा पवित्र सरोवर रहेको छ ।

























