कावासोती दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो
वि.सं.२०७५ कात्तिक ४ आइतवार १७:४५
shares

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस आइतबार बिहान दुर्घटनामा परेको थियो । बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक रमेश थापाले बताए ।
मृत्यु हुनेमा मोरङ जिल्लास्थित सुन्दरहरैचा–१२ बस्ने ११ वर्षीय सुहन कार्की, भोजपुर हतुवागढी–६ बस्ने २७ वर्षीय रामजीत राई, सुनसरी घर भई जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पश्चिममा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी, भारत विहार बस्ने विद्यानन्द यादव रहेका छन् । मृत्यु हुने अर्का एक पुरुषको नाम, ठेगाना खुल्न बाँकी रहेको छ । त्यस्तै गुल्मी हस्तचौर गाउँपालिका–२ का ३५ वर्षीय तिलक विष्टको पनि मृत्यु भएको छ ।
दुर्घटनामा परी घटनास्थलमै पाँच जना र उपचारका क्रममा थप एकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका ३७ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भई स्थानीय मेडिकलमा उपचाररत छ जना उपचारपछि घर फर्किएका छन् ।

























