महोत्तरीमा डकैती, सात लाख लुटपाट, लुटेराको आक्रमणबाट पाँच जना घाइते
वि.सं.२०७५ मंसिर ३ सोमवार १५:५०
shares

महोत्तरीको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ ।
डकैतीमा सात लाख रुपैयाँ बराबरको धनमाल लुटिएको छ भने पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक खड्काका अनुसार सशस्त्र डाँकाले गएराति सोनमा गापा–३ खखनाका ललिन यादवको घरको मूल ढोका फोडेर घरभित्र प्रवेश गरी घरका सदस्यलाई नियन्त्रणमा लिएर दुई लाख रुपैयाँ नगद, पाँच तोला सुन, तीन वटा मोबाइल, १० थान साडी र अन्य गर गहनासहित सात लाख मूल्य बराबरको धनमाल लुटेर लगेका छन् ।
१२–१४ जनाको समूहमा आएका सशस्त्र लुटेराले ललिन यादवका साथै स्थानीय सत्यनारायण राय यादव र चन्द्र राय यादवसहितको घरमा कुटपिट गरी पाँच जनालाई घाइते बनाएका छन् । घरेलु हतियार प्रहारबाट ललिन यादव, सुरेन्द्र यादव, सञ्जिव यादव, सत्यनारायण यादव र चन्द्र राय यादवलाई टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ।
यता जिल्ला प्रहरी कार्यालयबाट डाँकाहरुको व्यापक खोजतलाश भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।(रासस)

























