काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुदूरपश्चिममा समस्या : तेल ढुवानीमा १३ व्यवसायीको सिन्डिकेट

10.67K
shares

सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको अभाव हुन थालेको वर्षौं बितिसक्यो । तर, आयल निमगले सहज आपूर्ति र वितरणको व्यवस्था मिलाउन सकेको छैन । जसले गर्दा सुदूरपश्चिमबासीको बढीभन्दा बढी समय तेलको लाइन बसेरै बित्ने गरेको छ ।

ट्याङ्करको कमीले पर्याप्त तेल ढुवानी हुन नसकेको भए ट्याङ्कर थप गर्ने विकल्प निगमसँग छ । यो विकल्पप्रति पनि निगम उदाशिन देखिएको छ । पेट्रोलियम पदार्थको अभावप्रति निगमले आँखा चिम्लनुलाई कतिपय उपभोक्ताले शंकाको नजरले हेर्न थालेका छन् । केही व्यवसायीको प्रभावमा परी निगमले समस्याप्रति आँखा चिम्लिएको आमनागरिकको बुझाइ छ ।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका अनुसार हाल १३ जना व्यवसायीका ६७ ट्याङ्करबाट तेल ढुवानी गर्ने गरिएको छ । ‘यी ट्याङ्करले ल्याएको तेलले पुग्न छाडेको कुरा निमगलाई राम्रोसँग थाहा छ,’ सार्वजनिक सवारी साधनका चालकहरु भन्छन्, ‘तर पनि निमग अरु ट्याङ्कर थप्न आवश्यक ठान्दैन । त्यसैले यहाँ निगमकै सहयोगमा व्यवसायीहरुको सिन्डिकेट कायम छ ।’

ट्याङकर थपेरमात्रै पेट्रोलियम पदार्थ अभावको स्थायी समाधान गर्न नसकिने कुरा सत्य हो । यसका लागि भण्डारण क्षमता बढाउनुपर्छ । तर, तत्कालका समस्यालाई समाधान गर्दै स्थायी समाधान खोज्ने विषयमा चासो नदिइनु चाहिँ बिडम्बना भएको सुदूरपश्चिम प्रदेशका नागरिक अगुवाहरु बताउँछन् ।

पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ६७ ट्याङ्करमध्ये केही अन्त्यन्तै पुराना र काम नलाग्ने भइसकेका छन् । त्यसैले हाल ३०–३५ वटा ट्याङ्करमात्रै ढुवानीमा प्रयोग हुँदै आएका छन् ।

यी ट्याङ्करले भारतको बन्थरा डिपोबाट ईन्धन आयात गर्छन् र सुदूरपश्चिमका सबै जिल्लामा पुर्याउनुपर्ने अवस्था छ । पहाडी जिल्लामा गएका ट्याङकर त दुई–तीन दिनसम्म फिर्ता हुँदैनन् ।

काम नलाग्ने स्थितिमा रहेका ट्याङ्करको ठाउँमा नयाँ ट्याङ्कर थप्दामात्रै पनि केही हदसम्म समस्या समाधान हुन्छ । तर, नयाँ ट्याङकर आउन पनि नदिने र आफू पनि नथप्ने पुराना ट्याङ्कर व्यवसायीको प्रवृत्तिले उपभोक्ता मारमा परेका छन् ।

आयल निगम धनगढीले भने ट्याङ्कर थप्ने तयारी भइरहेको बताएको छ । ‘नयाँ ट्याङ्कर थप्ने विषयमा हामी पहल गरिरहेका छौं,’ आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शर्पराम शर्माले भने, ‘यो समस्यालाई लम्बिन दिने पक्षमा हामी छैनौँ ।’

सुदूरपश्चिमको इन्धन अभाव टार्न नेपालगञ्जलेबाट इन्धन आपूर्ति गर्ने गरिएको छ । ‘हामीलाई पनि थाहा छ कि यो दिर्घकालीन समाधान हैन,’ आयल निगम धनगढीका एक कर्मचारीले भने, ‘३० वटा ट्याङ्कर थप्न हामीले केन्द्रलाई एक वर्ष अघिदेखि पटक–पटक पत्राचार गर्दै आएका छौं तर केन्द्रको मौनताले नै यहाँ सिन्डिकेटको स्थिति पैदा भएको छ ।’

ती कर्मचारीको भनाइलाई आधार मान्दा केन्द्रकै कमजोरीले व्यवसायीले सिन्डिकेट लाद्न पाएका हुन् । १३ जना व्यवसायीको सिन्डिकेटका कारण सुदूरपश्चिम प्रदेशका तमाम उपभोक्ताले दुख पाएका छन् । यद्यपि, केन्द्रलाई दोष लगाएर आयल निगम धनगढी कार्यालय निरीह बनेर बस्नु दुखद पक्ष भएको उपभोक्ताहरुको गुनासो छ ।

एक बर्षअघि ३० वटा ट्याङ्कर आवश्यक थियो । तर, अहिले विभिन्न स्थानीय तहहरुले विकास निर्माणको कामलाई तीव्रता दिएकाले करिब ५० ट्याङ्कर आवश्यक हुने जानकारहरु बताउँछन् ।

ट्याङ्कर व्यवसायी भने पेट्रोलियम पदार्थको अभाव हुनुमा आफूहरुको कुनै दोष नरहेको दाबी गर्छन् । ‘यो समस्या समाधानमा केन्द्र अग्रसर हुनुपर्ने हो,’ ट्याङ्कर व्यवसायी संघका अध्यक्ष मणिराज पाण्डेयले भने, ‘क्षेत्रीय कार्यालयले ट्याङ्कर थप्न माग गर्दा केन्द्रले खै रेस्पोन्स गरेको ?’

सुदूरपश्चिम प्रदेशमा दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल आवश्यक पर्छ । तर, नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीसँग पेट्रोल ७० हजार लिटर र डिजेल एक लाख लिटर भण्डारण गर्ने क्षमता छ ।

यसबारे प्रश्न गर्यो भने धनगढी कार्यालयका पदाधिकारी र कर्मचारी बोल्नै मान्दैनन् । उनीहरुको यो मौनताले ट्याङ्कर व्यवसायीलाई बढी फाइदा पुगेको छ भने सबैभन्दा बढी मार उपभोक्ताले खेप्नु परेको छ ।