व्यापारसम्बन्धी अमेरिकी आरोप चीनद्वारा अस्वीकार
वि.सं.२०७५ मंसिर ७ शुक्रवार २१:४५
shares

चीनले व्यापारसम्बन्धी अमेरिकी आरोप अस्वीकार गरेको छ । गैरकानुनी गतिविधिबारे अमेरिकाले लगाएका आरोप चीनले कडा शब्दमा खण्डन गरेको हो । सञ्चारमाध्यमसँगको नियमित भेटघाटमा चीनको वाणिज्य मन्त्रालयले बिहीबार वासिङ्टनका आरोपहरु आधारहीन रहेको बताएको छ । योसँगै यी दुई मुलुकले एकअर्काविरुद्ध थप कडा कदम चाल्न सक्ने अड्कलबाजी हुन थालेको छ ।
‘वासिङ्टनले तथाकथित अपडेट रिपोर्टको नाममा चीनमाथि विल्कुलै आधारहीन र तथ्यरहित आरोपहरू लगाएको छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनीङले भने, ‘हामीलाई यो सह्य छैन ।’
चीनले रोबोटिक्स र नवीकरणीय उर्जा क्षेत्रमा विभिन्न गैरकानुनी उपायमार्फत नियन्त्रणमा राख्दै विश्व औद्योगिकिकरणमा प्रभाव जमाउन खोजेको दाबी अमेरिकी अधिकारीहरूले गरेका थिए । चीनले आफ्नो भूमिमा रहेका अमेरिकी कम्पनीहरूलाई दबाबमा पारेर अमेरिकी बौद्धिक सम्पत्तीको चोरी गरेको अधिकारीहरुको आरोप थियो ।
यसै बिषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीनबाट अमेरिका निर्यात गरिने दुई खर्ब ५० अर्ब अमेरिकी डलर चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गरेको थियो । बदलामा चीनले पनि अमेरिकाबाट चीन ल्याइने एक खर्ब अमेरिकी डलर बराबरको सामानमा करवृद्धि गरेको थियो ।
‘अमेरिका नै विवाद बढाउन उद्यत देखिन्छ’
अमेरिकाको आरोपलाई चीनले विवाद बढाउने बहानाका रुपमा बुझेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआले भने, ‘अमेरिकाले दुई पक्षीय आर्थिक र व्यापारिक सम्बन्धलाई खलल पुग्ने किसिमका गतिविधि र भनाइहरु रोकोस् भन्ने हाम्रो चाहाना छ । तर, त्यसको ठीक विपरितका गतिविधिले हामीलाई थप शशंकित बनाएको छ ।’ उनले द्धिपक्षीय सम्बन्धलाई पूरानो अवस्थामा ल्याउन रचनात्मक धारणाको अवलम्बन गर्न अमेरिकालाई आग्रह पनि गरे ।
‘चीन अविवेकी बन्यो’
चीनको व्यापारिक गतिविधिसम्बन्धी विगतका अनुसन्धानसमेतलाई आधार बनाउँदै वासिङ्टनले चीन गलत व्यापारिक गतिविधिमा संलग्न रहेको बताउँदै आएको छ । यसलाई सच्याउन चिनियाँ अधिकारीहरु उदाशीन बनेको अमेरिकाको आरोप छ । चीन केही महिनायता अझै अविवेकी कार्य गर्न उद्दत बनेको अमेरिकाले दाबी गरेको छ ।
केही दिनलगत्तै अमेरिकी र चिनियाँ नेतृत्वबीच छलफल हुँदैछ । अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नोभेम्बर अन्त्यमा अर्जेन्टिनामा हुने जी–ट्वेन्टी शिखर सम्मेलनका अवसरमा व्यापार विवादबारे छलफल गर्ने कार्यक्रम छ । विश्वका शक्तिशाली अर्थतन्त्र भएका दुई मुलुकका राष्ट्रप्रमुखबीच जी–ट्वान्टी सम्मेलनका अवसरमा महत्वपूर्ण भेटवार्ता हुने चर्चा चलिरहेका बेला चीनले अमेरिकी आरोपको खण्डन गर्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानको आयातमा भन्सार शुल्क बढाउने निर्णय गरेपछि दुई आर्थिक महाशक्तिबीचको व्यापार युद्ध चर्किएको थियो । त्यसअघि नै अमेरिका तथा चीनले एक अर्काका ५० अर्ब डलर बराबरका उत्पादनमा भन्सार शुल्क बढाएका थिए । अमेरिकाले ५० अर्ब डलर बराबरको चीनबाट आयात हुने सामानमा २५ प्रतिशत शुल्क लगाएपछि चीनले पनि त्यति नै मुल्य बराबरको अमेरिकी आयातमा भन्सार शुल्क बढाएको थियो ।
अमेरिकाको चीनसँग संसारकै सबैभन्दा ठूलो ३ सय ७५ अर्ब डलरको व्यापार घाटा छ । अमेरिकाले चीनसँग अघिल्लो वर्ष ५ सय ५ अर्ब डलरको सामान खरिद गरेको थियो भने १ सय ३० अर्बको मात्र सामान चीनमा निर्यात गरेको थियो ।
चीनले विदेशी कम्पनीलाई मिडिया, टेलिकम, अटोमा लगानी प्रतिबन्ध लगाउँदै आएको छ । चीनले विदेशी कम्पनीलाई आफ्ना स्थानीय कम्पनीसँग साझेदार गर्न र प्रविधि हस्तान्तरण गर्न बाध्य पार्दै आएको आरोप अमेरिकाको छ ।
चिनियाँ निर्यातका लागि अमेरिका सबैभन्दा ठूलो बजार हो भने अमेरिकी सामानका लागि चीन तेश्रो ठूलो बजार हो । अमेरिकाले चीनमाथि लगाएको कतिपय भन्सार शुल्कले अमेरिकी कम्पनीलाई मार परेको छ । एप्पल कम्पनीले चीनमा बन्ने कतिपय आफ्ना उत्पादन अमेरिकामा महंगो हुने ट्रम्प प्रशासनलाई चिठ्ठी लेखेको थियो ।






















