प्रदेश ३ राजधानी विवाद : मतदान विकल्प
वि.सं.२०७५ मंसिर १८ मंगलवार १४:१४
shares

प्रदेशसभाको आगामी बैठकले प्रदेश नं ३ को स्थायी राजधानीबारे टुंगो लगाउने भएको छ । सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा सोमबार बसेको सर्वदलीय बैठकले संसदीय प्रक्रियाबाटै राजधानीबारे टुंगोमा पुग्ने निर्णय गरेको हो ।
उपसभामुख राधिका तामाङले सहमतिमै राजधानीको विषय टुङ्ग्याउन प्रयास गरिने बताइकी छन् । उनले भनिन् ‘सहमतिबाटै टुङ्ग्याउँदा पनि संसदीय प्रक्रियामा जानैपर्यो ।’ यद्यपि बैठकको मिति भने तय भएको छैन । मङ्सिर २७ गतेअघि सम्भव नभए पुस ७ गतेपछि बैठक बोलाउने तयारी छ ।
उपसभामुख तामाङका अनुसार यस अवधिमा कांग्रेस महासमिति बैठक र नेवारी समुदायको चाड परेकाले बैठक बस्ने सम्भावना न्यून छ । प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले मकवानपुरको हेटौँडासहित, काभ्रे, भक्तपुर, नुवाकोट र चितवनलाई विकल्पका रुपमा छनोट गरिसकेको छ ।
प्रदेशसभामा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई तिहाइ छ । तर हेटौँडालाई स्थायी राजधानी बनाउन नेकपाकै अधिकांश सांसदहरु विपक्षमा छन् ।
























