त्यो बेलामा छोरीले पढ्न पाउनु भाग्यको कुरा थियो
वि.सं.२०७५ मंसिर १८ मंगलवार १४:२०
shares

वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतकी भूमिसरा चपाई पेशाले शिक्षिका हुन् । उनीसँग करिब ३२ वर्ष शिक्षण गरेको अनुभव छ । रहरले शिक्षण पेशामा आएकी भूमिसराले यसैलार्इ अफ्नो कर्मथलो बनाइन् ।
वि.स. २०२५ साल जेठ २९ गते पञ्चपुरी १ फार्सेकाँडामा उनको जन्म भएको हो । बुवा खगलाल चपाई र आमा हरिकला चपाईकी राँईली(पाँचौ) छोरी भूमिसरा सानैदेखि अन्तरमुखी स्वभावकी थिइन् । ६ छोरी र दुर्इ छोरा गरी जम्मा अठ सन्ततीलार्इ उनका बाबुआमाले दुःख गरेर हुर्काए ।
छोरीहरुमा पढ्नपाउने भाग्यमानी छोरी भूमिसरा थिइन् । छोरीलाई पढाउनै पर्छ भन्ने संस्कार थिएन तर भूमिसराले पढ्न पाउनु संयोग थियो । हाल भूमिसरा चपाई श्री भैरब माध्यमिक विद्यालय भैरवस्थान ४ सुर्खेतमा माध्यामिक तहमा अध्यापन गराउँछिन् ।
भूमिसरा आफ्ना दिदीहरूले पढ्न नपाए पनि आफूले भने त्यो अवसर पाएको बताउँछिन् । ‘म घरकी राँइली छोरी म भन्दा माथीका दिदिहरुले त पढ्न पाउनुभएन । घरकी छोरीहरुमा पढ्न पाउने भाग्यमानी छोरी म नै भएँ ।’
‘छोरीहरुले पढ्न पाउनु भाग्यको कुरा थियो । मैले कक्षा १ देखी ७ कक्षा सम्म श्री सूर्यप्रकाश माध्यमिक विद्यालय पलैटेमा पढें,’ भूमिसरा विगत सम्झन्छिन्, ‘म कक्षाको एक्लो छात्रा थिएँ । सूर्यप्रकाश माध्यमिक विद्यालय सालकोटबाट पलैटेमा सर्दा घरको एकजना विद्यार्थी पठाउनै पर्ने नियम बनाएपछि मेरो घरबाट विद्यालय उमेरको म मात्रै भएकोले पढ्ने मौका पाएकी हुँ ।’ भूमिसराले आफूले पढ्न पाउनुको कारण खोल्दै भनिन् । ‘मैले छोरीलाई पढाउनै पर्छ भन्ने सोचले भन्दा पनि संयोगले पढ्न पाएकी हुँ ।’
भूमिसरासँग आफू अब्बल हुँदा हुँदै पनि पछि परेको अनुभव छ । ‘कक्षा ५, ६ मा प्रथम भएँ, कक्षा ७ मा पनि प्रथम भएको थिएँ तर छोरी भएकै कारण द्वीतीय बनाइयो,’ भूमिसरा भन्छिन्, ‘कक्षा ७ पास गरेपछि सूर्यप्रकाश माविबाट जनता माविमा पढन् जानुपर्ने भएकाले शिक्षकहरुले मेरो केही अंक घटाएर छात्रलाई प्रथम बनाए मलाई द्वीतीय । त्यो पनि छोरीमाथिको विभेद थियो ।
भूमिसराका अनुसार उनी २०४३ सालबाट शिक्षण कर्ममा लागिन् भने २०४५ सालमा स्थायी भइन् । उनी भन्छिन्, ‘मैले जुन विद्यालयबाट औपचारिक शिक्षाको शुरुवात गरेँ त्यही विद्यालयमा शिक्षिका भएर काम गर्ने अवसर पाएँ ।’
अन्य क्षेत्रमा जाने प्रशस्त सम्भावना हुँदा हुँदै पनि शिक्षण पेशा रोजेको उनको भनाइ छ । ‘वि.स २०४३ सालमा एसएलसी पास गरेकी हुँ । वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय आईकम पढें र कक्षा प्रथम पनि भएँ । त्यो मेरो जीवनको सबैभन्दा खुसीको क्षण थियो,’ भूमिसरा भन्छिन्, ‘निजामती जागीर खान सक्थें, पढेका महिलाहरु औंलामा गन्न मिल्थे । तर मैले पेशामा शिक्षिका नै रोजेँ त्यो मेरो रहर थियो । मलाई विद्यालयदेखि नै पढाउन पाए कस्तो हुदो हो झै लाग्थ्यो ।’
उनी शिक्षण पेशालार्इ मर्यादित र वौद्धिक पेशाको रूपमा हेर्छिन् । तर पछिल्लो समय पैसासँग शिक्षण पेशालाई जोडेर हेर्न थालिएकामा उनको चित्त दुःखाइ छ । ‘शिक्षक पेशा आम्दानीका दृष्टिले सम्वृद्ध छैन । विकसित देशमा शिक्षकलाई वौद्धिकतासँग जोडिन्छ । तर हाम्रो जस्तो गरिब देशमा पैसासँग,’ उनी भन्छिन्, ‘अनि कहाँबाट शिक्षकको समाजमा मर्यादा हुन्छ ? मैले शिक्षण पेशा अँगाल्नकै लागि व्यवस्थापन विषय छोडेर नेपाली र शिक्षा लिएर मास्टर गरेकी छु ।’
सुरूदेखिनै शिक्षण पेशाप्रति विशेष रूची राख्ने भूमिसरा २०४४ सालतिर शिक्षण विधिसम्बन्धी तालिम लिएपछि यो पेशाप्रतिको मोह झन् बढेको बताउँछिन् । उनको विवाह पनि शिक्षकसँगै भयो । ‘वि.स. २०५० मा डण्डीप्रसाद शर्मासँग विवाह गरेँ । उहाँ पनि पेशाले शिक्षक हुनुहुन्थ्यो,’ उनी भन्छिन्, ‘यो पेशामा दुःख मान्नुपर्ने खास केही छैन । म मेरो पेशाप्रती गौरब गर्छु ।’


























