टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशकका यस्ता प्रतिबद्धता
वि.सं.२०७५ पुस २४ मंगलवार १२:४०
shares

नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले समयमा परियोजना अघि बढ्न नसक्नु टेलिकमको चुनौती भएको बताएका छन् । कम्पनीको केन्द्रीय कार्यालयमा सोमबार पदभार ग्रहण गर्दै प्रबन्ध निर्देशक अधिकारीले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा तथा समयमा परियोजना अघि बढ्न नसक्दा कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीको सामना गर्दैै अघि बढ्न कर्मचारीलाई आग्रह गरे ।
काममा ढिलासुस्ती, अधिकारको दुरुपयोग, भ्रष्टाचार तथा आर्थिक अनियमितता जस्ता कुरामा कसैसँग सम्झौता नगर्ने उनको प्रतिबद्धता छ । परिवर्तनशील प्रविधि र ग्राहकको माग तथा चाहनामा हुने परिवर्तनलाई समयानुकूल सम्बोधन गर्दै लैजाने, ब्याकबोन नेटवर्कलाई भरपर्दो र गुणस्तरीय बनाइने तथा फोरजी परियोजनालाई समयमा सम्पन्न गरिने अधिकारीले बताए ।
एक करोड लाइन क्षमताको टुजी र थ्रीजी परियोजनालाई यथाशीघ्र सम्पन्न गरिने, मोबाइल डाटाको प्रयोग बढाउनका लागि कार्यक्रम ल्याइने, एफटीटीएच सेवालाई मुख्य सहरहरु तथा पकेट क्षेत्रहरुमा विस्तार गरिने र कपर नेटवर्कलाई प्रतिस्थापन गरिने प्रबन्ध निर्देशक अधिकारीको प्रतिबद्धता छ । त्यसैगरी कर्पोरेट र इन्टरप्राइज बिजनेसलाई विशेष जोड दिइने, मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क तयार गर्ने कार्यमा शीघ्रता ल्याइने र मोबाइल फाइनान्सियल सेवा तथा आईपी टीभी सेवालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने पनि उनले जनाए ।
सरकारले पुस १९ गते अधिकारीलाई तीन वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको हो । अधिकारी यसअघि प्रबन्ध निर्देशकको कार्यालयमा प्रबन्धक पदमा कार्यरत थिए । उनी तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा २०५९ फागुन २२ गते टेलिकम इन्जिनियर पदबाट सेवा प्रवेश गरेका थिए । उनी २०६५ मा वरिष्ठ इन्जिनियर, २०७० मा उपप्रबन्धक र २०७५ वैशाख १६ देखि प्रबन्धक पदमा कार्यरत थिए ।
यसबीचमा उनी कम्पनीका विभिन्न निर्देशनालय र विभागमा कार्यरत थिए । उनमा एक्सेस नेटवर्क, ट्रान्समिसन नेटवर्क, वायरलेस ब्रोडब्यान्ड एक्सेस, अन्तर्राष्ट्रिय व्यापार, ब्याकबोन ट्रान्समिसन आदि क्षेत्रका साथै कम्पनीको सहप्रवक्ता र नोडल अधिकृतसमेतको कार्यानुभव छ ।
२०६२ सालमा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा विशिष्ट श्रेणीमा एमएस्सी गरेका अधिकारीले २०५८ मा पुल्चोक क्याम्पसबाटै इलेक्ट्रोनिक्स इन्जिनियरिङमा विशिष्ट श्रेणीमा बीई गरेका छन् ।

























