सभापति देउवालाई नेविसंघका कार्यकर्ताले सानेपामै घेरे
वि.सं.२०७५ माघ १० बिहीवार २०:३६
shares

नेपाल विद्यार्थी संघका असन्तुष्ट नेता तथा कार्यकर्ताले पार्टी मुख्यालयमा सभापति शेरबहादुर देउवालाई घेरेका छन् । केन्द्रीय समिति बैठकमा भाग लिन पार्टी कार्यालय छिरेका सभापति देउवालाई असन्तुष्ट समूहका नेता दीपक भट्टराईसहितको टोलीले घेराबन्दीमा पारेको हो । उनीहरुले वर्तमान कार्यसमितिको म्याद नथप्न तथा तत्काल महाधिवेशन घोषणा गर्न माग गर्दै नाराबाजी गरे ।
नैनसिंह महर नेतृत्वको नेविसंघ केन्द्रीय कार्यसमितिको कार्यकाल सकिएपछि पुस १० अर्थात् आजसम्मको म्याद थपिएको थियो । पुनः म्याद थपिने आशंकामा रहेका असन्तुष्ट समूहले केन्द्रीय समिति सुरु हुनै लाग्दा सभापतिले घेरेर आफ्ना माग सुनाएका हुन् ।
विद्यार्थीहरुले घेराबन्दी गरी नाराबाजी गर्न थालेपछि देउवालाई बैठकस्थलसम्म पुग्न हम्मेहम्मे परेको थियो । नेविसंघ कार्यकर्ताको प्रदर्शनका कारण कांग्रेस कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

























