गृहपृष्ठ कैदीका प्रश्न- हाम्रा रचना पुस्तकमा समावेश गर्न मिल्छ ?
कैदीका प्रश्न- हाम्रा रचना पुस्तकमा समावेश गर्न मिल्छ ?
‘मलाई जसले फसायो, त्यसलाई झन् डबल सजाय पाउने गरी फसाइदिन्छु । कति दिन म मनमा यही कुरा खेलाएरै अनिँदो बसेँ । तर, कारागारमा आएपछि पुस्तकले मेरो सोच बदलेको छ । केही पुराना किताब थिए । कारागारलाई किताब अभियानले नयाँ पुस्तकालय स्थापना गरेपछि मेरो मनभित्र सकारात्मक सोच पैदा भएको छ ।’
उनी हुन् कैदी निरबहादुर खत्री । शनिबार कारागार कार्यालय सुर्खेतमा कारागारलाई किताब अभियानअन्तर्गत पुस्तकालय स्थापना कार्यक्रममा उनले आफ्नो सोच पुस्तकले बदलेको बताए । लेखकसँग कैदीहरुको अन्तक्र्रिया कार्यक्रममा उनले भने, ‘पुस्तकले मेरो सोच बदलेको छ । अब म बदलाको भावनाले अगाडि बढ्ने होइन कि समाजको अगाडि नमुना बनेर देखाउँछु । त्यो ज्ञान मलाई पुस्तकले दिनेछ ।’
कारागारमा समय बिताउनका लागि मात्रै नभएर पुस्तकालय जीवन बदल्ने माध्यम भएको भन्दै उनले लेखकहरुसँग प्रश्न गरे, ‘कैदीका रचना पुस्तकमा समावेश हुन्छन् ?’ उनी आफूले रचना गरेका लेखहरु पुस्तकमा समावेश गर्ने रुचि देखाउँदै थिए । त्यस्तै, शेरबहादुुर पालले किताबको महत्व नबुझेर धेरैले नपढ्ने गरेको बताए । उनले हरेक व्यक्तिका लागि पुस्तक महत्वपूर्ण भएको विचार राखे ।
कारागारलाई किताब अभियान समितिले मंसिरदेखि सुरु गरेको अभियानअन्तर्गत शनिबार प्रदेशका १० वटै जिल्ला कारागारमा पुस्तकालय स्थापना भएका छन् । करिब ८ हजारभन्दा बढी पुस्तक अभियानबाट संकलन भई पुस्तकालयहरु स्थापना भएका हुन् ।
कारागार कार्यालय सुर्खेतमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विधिवत् रुपमा रिबन काटेर पुस्तकालयको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले समाजमा गरिबीका कारण अपराधका घटना बढेको बताए । उनले भने, ‘कारागारलाई किताब अभियान समाज रुपान्तरणको नयाँ अभियान भएकाले यसले कारागारलाई सुधारगृहको रुपमा स्थापित गर्न मद्दत गर्छ,’ उनले भने ।
कार्यक्रममा सामाजिक विकासमन्त्री दल रावलले कारागारलाई किताब अभियान अत्यन्तै रचनात्मक भएको बताए । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा कारागारलाई किताब अभियानका संयोजक महेशविक्रम शाहले कैदीबाटै नयाँ किताब पढ्ने चाहना व्यक्त भएपछि सुरु गरिएको यो अभियान देशभर सञ्चालन गर्नका लागि प्रयास गरिने प्रतिबद्धता जनाए । कार्यक्रममा वरिष्ठ कथाकार सनत रेग्मी, आख्यानकार नयनराज पाण्डे र कवि नवराज पराजुलीको समेत उपस्थिति थियो ।
प्रकाशित समय : ०३:०४ बजे




















