गृहपृष्ठ सरकार आर्थिक मुद्दामा असफल भइसक्यो : डा. भट्टराई
सरकार आर्थिक मुद्दामा असफल भइसक्यो : डा. भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले साना दलहरुबीच विषयगत मुद्दामा एकता हुने बताएका छन् । दुईवटा ठूला पार्टीहरु एमाले र एमाओवादी मिलेर ‘जे गरे पनि हुन्छ’ भन्ने भ्रम रहेको भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस विषयलाई चिर्नका लागि पनि विषयगत मुद्दामा साना दलहरु एकताबद्ध हुने स्पष्ट पारे । ‘मुद्दा उठान र कार्यान्वयनमा साना दलहरुबीच सहकार्य हुने भए पनि तत्काल पार्टी एकताको सम्भावना भने छैन,’ उनले भने ।
बुटवलमा आयोजित दुईवटा कार्यक्रममा सहभागी हुन आएका नयाँ शक्ति पार्टी नेपालका संयोजक भट्टराईले सरकार आर्थिक क्षेत्रमा पूर्णरुपमा असफल भएको दाबी गरे । उनले भने, ‘सरकार आर्थिक क्षेत्रमा असफल नै भइसक्यो, यो मैले भनेको होइन, उहाँहरुको कार्यसम्पादन प्रगति प्रतिवेदनले देखाउँछ ।’
प्रधानमन्त्री ओली संघीयताको पक्षमा नभएको भन्दै डा. भट्टराईले ओलीसँगै कांग्रेसका केही नेताले आफूसँग भएको भेटमा संघीयता नमानेको खुलासा गरे । पहिलो संविधानसभामा कांग्रेस र एमाले पहिचानका आधारमा १० प्रदेश बनाउने सहमतिबाट पछि हटेको स्मरण गर्दै उनले पहिचानका आधारमा प्रदेशको सीमांकनका लागि सशक्त आन्दोलनको आवश्यकता औंल्याए । तत्कालीन कांग्रेस र एमालेसँगै माओवादीले पनि मगर, थारु र गुरुङहरुको पहिचान मेटाउने गरी प्रदेशहरुको सीमांकनमा सहमति जनाएपछि आफूलाई माओवादीप्रति वितृष्णा जागेको उनले बताए ।
आदिवासी जनजाति, दलित, महिलाका अधिकार र भ्रष्टाचारविरुद्ध फेरि एकपटक सशक्त आन्दोलन उठ्ने भट्टराईको आंकलन छ । ‘हामी विप्लवजीहरु जस्तो बन्दुकै उठाउने र देश अस्तव्यस्त बनाउने गरी होइन, पहिचान, अधिकार र भ्रष्टाचारको मुद्दालाई गम्भीर रुपमा उठाउँछौं,’ डा. भट्टराईले भने, ‘वाइडबडी भ्रष्टाचार, बूढीगण्डकी भ्रष्टाचार, अन्य मन्त्रालयका अधिकार प्रधानमन्त्री कार्यालयमा केन्द्रित गर्ने, सेना परिचालन सुरक्षा परिषदको बैठकबिनै गर्ने, ठूला परियोजना सिधै प्रधानमन्त्री कार्यालयमार्फत लैजाने जस्ता कुराले हामीलाई गम्भीर बनाएको छ ।’
प्रकाशित समय : ०३:३६ बजे



















