गृहपृष्ठ सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा नेपाली सेनाले प्रदान गर्ने राष्ट्रिय सेवा दल (एनसीसी)जुनियर डिभिजन तालिम सुरुआत भएको छ ।
सुदूरपश्चिमबाट तालिमका लागि छनोट भएका यहाँका सामुदायिक र निजी गरी बीस विद्यालयमा सोमबारदेखि सेवा दल तालिम सुरु भएको सेनाको सुदूरपश्चिम पृतनाले जनाएको छ ।
विद्यार्थीलाई विपद् व्यवस्थापन, ट्राफिक सचेतना, राष्ट्रिय एकताको भावनाको विकास, आत्मसुरक्षा, समूहमा मिलेर काम गर्ने बानीको विकास लगायत देश र राष्ट्रप्रति अनुशासित भएर काम गर्ने बानीको विकास गर्ने उद्देश्यले सेनाले हरेक वर्ष उक्त तालिम सञ्चालन गर्दै आएको छ ।
सुदूरपश्चिम पृतनाका अनुसार यहाँ कैलालीमा छ वटा विद्यालय, कञ्चनपुरमा पाँच, अछाम र बैतडीमा दुई÷दुई बाँकी डोटी, डडेल्धुरा, बाजुरा, बझाङ र दार्चुलामा एक÷एक विद्यालयमा तालिम सुरु भएको हो । बराहदल गुल्म भगतपुर ब्यारेकका गुल्मपति सेनानी अशोक शाहीले कञ्चनपुरमा पनि सोमबार पाँच वटा विद्यालयमा सि।स। ५२ एनसीसी ब्याच राष्ट्रिय सेवा दल जुनियर तालिम सुरु गरिएको जानकारी दिए। “१०० दिनको तालिममा छनोट भएका विद्यार्थीलाई ८९ दिन जिल्लामै राखिने र २१ दिन जिल्ला बाहिर लगेर प्रक्षिण दिइने छ”, उनले भने “विद्यार्थीलाई अनुशासन, राष्ट्रप्रेम, नेतृत्व विकास, जफादेहिता, इमान्दारिता र बफादारिताका बारेमा प्रशिक्षित गरिन्छ ।”
त्यसका साथै विद्यार्थीलाई तालिम अवधिमा ड्रिल, खुकुरी ड्रिल, टेक्वान्दो एरोविक्स र फिल्ड क्राप्टलगायतका विषयमा समेत प्रशिक्षण दिइने सेनाले जनाएको छ । कञ्चनपुरको दक्षिण क्षेत्रका तीन वटा विद्यालयको गुल्मपति सेनानी अशोक शाहीले तालिम उद्घाटन गरे । महेन्द्रनगर बजार क्षेत्रका दुई वटा विद्यालयको तालिम उद्घाटन श्री नंं २५ बाहिनी अड्डाका सैनिक अधिकारीले गरेका थिए ।
सुदूरपश्चिमका बीस विद्यालयका ६०० विद्यार्थी प्रशिक्षणमा सहभागी रहेको सेनाको सुदूरपश्चिम पृतनाले जनाएको छ । तालिममा प्रथम भएको विद्यालयका विद्यार्थीलाई विभिन्न मुलुक पठाउने गरिएको छ ।
प्रकाशित समय : ०९:४२ बजे



















